पहिलो भिआईपी महिला स्कटर: प्रधानमन्त्री गिरिजादेखि राष्ट्रपति विद्या भण्डारीसम्म (भिडियोसहित)

तस्बिरः बिएल

तपाईं हामीले सडकमा कहिलेकाँहि सेतो बाइकमा सेतो बर्दी लगाएर त्यसमा कालो घुडासम्मको बुट अनि कम्मरमा सानो पेस्तोल र रातो बत्ती पिलकपिलिक गर्दै साइरन बजाउँदै हिँडेका त देखेकै छौं।

उनीहरू भिआईपी स्कटीङमा मात्रै हिड्ने गर्छन्। त्यो सेतो मोटरसाइकल ७५० र २७० सिसिका हुन्छन्।

७५० सिसिको बाइक काठमाडौंको सडकमा कहिलेकाँहि १०० देखि १२० को स्पीडमा हुँइकिरहेका हुन्छन्। ७ सय ५० सिसिका मोटरसाइकल पुरूषसँगै महिलाहरु पनि लस्करै हाँकिरहेका हुन्छन्।

नेपालमा सम्पन्न बिमस्टेक सम्मेलन, सार्क सम्मलेन र प्रधानमन्त्री तथा राष्ट्रपतिको विशेष सवारीमा सर्वसाधारणलाई सडक बन्द गरेर यिनै सेता मोटरसाइकलको लस्कर हुन्छ।

भिआईपीको सवारीमा सेता मोटरसाइकलमा कुद्ने एक महिलसँग हामीले कुरा गरेका थियौं।

सुदूरपश्चिम कञ्चनपुरकी चेली कमला श्रेष्ठ नेपालको पहिलो भिआईपी महिला मोटरसाइकल सुरक्षाकर्मी हुन्।

छोरीहरू प्रहरीमा जानुहुन्न। बिग्रन्छन्, जागिर खान अफ्ठ्यारो हुन्छ भन्ने मान्यतालाई चिर्दै उनले २०५६ सालमा नेपाल प्रहरीमा भर्ना भइन्।

याे पनि पढ्नुहाेला।

नेपालका पहिलो ट्रक व्यवसायी सरदार, जो राजा महेन्द्रदेखि प्रचण्डसम्म निकट छन् (भिडियोसहित)

सेवा सुरू गरेको सात वर्षपछि २०६३ सालमा उनी नेपाल प्रहरी हेडक्वार्टरको सवारी महाशाखामा सरूवा भएर आइन्। यहाँ आउनु अगाडि नै कमलाले मोटरसाइकल चलाउन सिकिसकेकी थिइन्।

तर, सवारी महाशाखामा आएर सुरूमै ७५० सिसिको मोटरसाइकल समात्दा केही दिन डराइन्। तर बलियो आत्मविश्वासकी धनी उनले सवारी महाशाखामा आफ्ना गुरूहरूको सहयोगमा ४५ दिनको तालिम लिएर निर्धक्क मोटरसाइकल चलाउने भइन्।

श्रेष्ठले पहिलो पटक तत्कालिन् प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पालामा पछुवा भएर मोटरसाइकल चलाइन्। तीन सन्तानकी आमा श्रेष्ठ अहिले प्रहरीमा असई छिन्।

‘सेतो बर्दी, काँधमा दुई फुली, ७५० सिसिको मोटरसाइकल, कम्मरमा पेस्तोल, कालो बुट र साइरन बजाउँदै सेतै मोटरसाइकलमा सवार हुँदा थाहा छैन। कहाँबाट अझै आँट भरिएर आउँछ’, कमलाले लामो हाँसो छोडिन्।

यस्तो भारी मोटरसाइकल चलाउन नेपाल प्रहरीमा महिलाहरू खासै आँट गर्दैनन्। तालिम लिन्छन्। सकिँदैन कि, भनेर आफ्नै दरबन्दीमा जान्छन्। तर, श्रेष्ठ यही ठाँउमा रहेर काम गरेकै करिब १४ वर्ष भइसक्यो।

उनलाई देखेर पनि केही महिला प्रहरीहरू आएका छन्। कमलासहित चार जना महिला हवल्दारत्रय पुतली महर्जन, मिना बस्नेत र मोहन कुमारी कटुवाल मात्र छन्। जो भिआइपी सवारी हुँदा सेतो साइरनजडित मोटर साइकल चलाउने आँट गर्छन्।

कमला पछि दोस्रो भिआइपी स्कटर हुन् पुतली महर्जन्। एपेन्डीक साइटको अपरेशन पछि क्यान्सरबाट पीडित उनी अहिले नेपाल प्रहरी अस्पतालमा उपचारत छिन्।

बुटवलकी मिना बस्नेतका बुवा भारतीय आर्मी हुन्। घरपरिवारले आर्मी, पुलिसमा नजाउ भन्दा भन्दै पनि २०६३ सालमा उनले नेपाल प्रहरी भर्ना भइन्।

आँटिली मिनालाई सानैदेखि प्रहरीको बर्दी देख्ने बित्तिकै भित्रै मनदेखि आफू पनि यसमा जान पाए हुन्थ्यो भन्ने लाग्थ्यो।

मिना २०६९ सालमा हेडक्वार्टरको सवारी महाशाखामा आएकी हुन्। त्यही उनले भिआइपी स्कटिङको तालिम लिइन्। ‘पहिलो पटक तालिम लिँदा नाडीमा बल पुग्दैनथ्यो’, उनले सुनाइन्, ‘पछि गुरूहरुले पहिले आफ्नो सुरक्षा अनि  मात्र मोटरसाइकल लड्ने बित्तिकै कसरी उठाउने भन्ने सिकाउनु भएपछि अलिक ढुक्क भयो।’

मिनाले २०७२ सालमा नेपालको पहिलो राष्ट्रपति रामवरण यादवदेखि नेपालको पहिलो महिला राष्ट्रपति विद्या भण्डारीसम्मको सवारीमा मोटरसाइकल चलाइन्।

जब बस्नेत रातो बत्ती बाल्दै साइरनजडित सेतो मोटरसाइकलमा चढेर खुला सडकमा हुने भिआईपी सवारीमा जान्छिन् त्यस बेला उनलाई कुनै फिल्मको दृष्य भन्दा कम लाग्दैन।

अझै महिलाले भारी मोटरसाइकल कुदाएको विषयमा जिज्ञासा राख्दा उनी सधै मुस्कुराएर जवाफ दिन्छिन्, ‘रमाइलो लाग्छ। आत्मविश्वास, आँट र व्यालेन्स भएमा जसले पनि चलाउन सक्छ।’

नेपालको पहिलो भिआईपी सवारीमा जाने कमलाले पनि राष्ट्रपति रामवरणदेखि विद्या भण्डारीको सवारीमा सात सय ५० सिसिको मोटरसाइकल चलाइन्।

उनले १ वर्ष विद्या भण्डारीको सवारीको बेला सेतो मोटरसाइकल चलाइन्। ‘पहिले हामी जगेडामा सवारीमा जान्छौं।  बानी पर्दै गएपछि व्याक साइड (पछुवा), फ्रन्ट साइड र अफ साइडमा पठाइन्छ,’ उनले भनिन्।

कमला र मिनाको अनुभवमा फ्रन्ट साइडमा जति सान हुन्छ त्यतिनै खतरा पनि हुन्छ। यस्ता सवारी चलाउँदा बाहिरबाट हेर्नलाई जती रमाइलो देखिन्छ। त्यति खतरा पनि हुन्छ।

‘एक्कासी कुकुर आएर बाटो काटेमा दुर्घटना हुने प्रवल सम्भावना हुन्छ। यसरी स्कर्टिङ गर्दा मोटरसाइकल चलाउनुका साथै अरू कसैलाई आउन दिनुहुँदैन’, मिनाले भनिन्।

रातो बत्ती सहितका भिआइपी सवारीमा सेतो मोटरसाइकल राष्ट्रपतिकोमा ९ वटा तथा उपराष्ट्रपति र प्रधनमन्त्रीकोमा ७/७ वटा हुन्छन्।

Comments

नयाँ पत्रिका
काठमाडौं प्रेस
महेश क्षितिज
राजेन्द्र पराजुली