जात्रामा बाजा बजाउनेले के पाउँछन्? (भिडियोसहित)

काली बहादुर दमाई

जात्रामा देखिने दृश्यहरु प्राय अनौठा हुन्छन्। यस्ता दृश्यहरु कति रमाइला हुन्छन्। हेरिरहुँ लाग्ने।  कति अमिला हुन्छन्। भावुक बनाउने। उदेकलाग्दा।

जात्रामा मिठो धुनसहितको बाजा बजाउने फरकफरक उमेर समूहका मान्छेहरु छन्। 'नाना (साना) नाई (नाबी काटेको) झरेकादेखि ठूला दाँत झरेका सम्म’ भन्ने उखान जस्तै। उनीहरुको बीचमा लामो लामो सास तान्दै बाजा बजाइरहेको एक जना बुढो मान्छेले तानिरहेको थियो।

त्यसले उनको बारेमा बुझ्न उत्साहित बनायो। नाम थाहा भयो, काली बहादुर दमाई (६३)। सबैले उनलाई कालो दमाई भनेर चिन्छन्।

काली बहादुरलाई भेट्न बिहान सात बजे उनको आँगनमा पुगेको थिएँ। घर थाहा थिएन। सँगै भएका जात्रा समितिका सदस्य धनराज सुनारले उनको घरसम्म लगिदिएका थिए। उनी घरमा थिएनन्।

आँगनमा बुहारी थिइन्। घर भित्र छोरा रहेछन्। उनले बुबा बिहान निस्किएको बताए। 'कहाँ गए होलान बुढा?' मनले पश्न गरिरहेको थियो। धनराजले मेसो पाएका रहेछन्।

आर्मी क्याम्प मुनितिर जनता आवास कार्यक्रमबाट बनेको घरमा बसोबासको व्यवस्था भए पनि त्यो टोलमा धेरैको शौचालय बनाउने जग्गा छैन। त्यसैले उनी बिहानै शौच गर्न निस्किएछन्।

हामी कामीटोलको सार्वजनिक शौचालय रहेको स्थानतिर गयौं। त्यही  भेट भयो उनीसँग। हामीले उनलाई भेट्न चाहनुको कारण बतायौं। उनी बसिरहेको ठाउँनेर बस्न खोज्दा उनले भने 'साप! एक गिलास खाइल्या, रक्सिको गुन्ना मानौला, थोक्कै पुढ्डो (अलि पर) सर।’

उनले सुरुमै रक्सीको कथा सुनाए। आजभन्दा १४ वर्ष अघि उनले १४ वर्षकै उमेरमा भित्र्याएकी स्वास्नी वितिन्। उनी एक्ला भए। त्यो क्षण सम्झँदा उनी भावुक देखिन्थे 'आसौजी मरेपछि साह्रै निसेइलो (नरमाइलो) लाग्यो। जिन्दगी रंग उडेजस्तो पुड्यानो कपडा जस्तो भयो। चित्त बुझाउने केही भएन। रक्सी मेरो साथी भयो। त्यही बेलादेखि छकल्यै (बिहानै) रक्सी खान लाग्या हुँ।'

उनले  त्यसभन्दा पहिला उनका बा, बाजे, पराबाजे हरेक साल जात्रामा बाजा बजाउँदै आएका थिए।

उनको पुर्खा मुगु गमगडी नजिकैको ढुमबाट पाँच पुस्ता अघि जुम्ला आएको हो। उनले हातका औंला भाच्दै आफ्नो पुर्खाको नाम भन्न भ्याए। मुगुबाट आएका रंगबिरे दमाई, उनीबाट जन्मेका जंग बिरे, गुम्बिरे, लाल बिरेका छोरा कालो दमाईको नाति समेत गरेर सातैं पुष्ता लागेछ।

मनुस्मृतिमा ‘शूद्रहरुले ब्राह्मणहरुको सेवा गरेर पुगेन भने क्षत्रियहरुको सेवा गर्नू, त्यतिले पनि पुगेन भने धनी वैस्यहरुको सेवा गरेर गुजारा चलाउनू’, भनिएजस्तै उनको पुस्ता क्षेत्रीहरुको सेवा गर्दै ढुमबाट खलंगा पुगेको हो।

काली बहादुरको  पुर्खा जोसँग जुम्ला आए  ती आज पर्यन्त उनका लागिमानी (काम गराउने र त्यसबापत ज्याल नदिएर गुजारामुखी अन्नपत दिने  साहुँ) छन्।

लगिमानीका कपडा सिलाउने, घरको काम गर्दिने। त्यसबापत खलो-मुठो पाउने काम काली बहादुरको अघिल्लो पुस्ताबाट हस्तान्तरित उत्तराधिकार हो। त्यसका साथै हरेक वर्ष दशैमा लगिमानीले छुट्याएर राखिदिने खसीको पुच्छर पनि उनीहरुको भाग हो।

जुम्लामा जात्रा सुरु भएदेखि बाजा बजाउने नयाँ काम थपिएको थियो। त्यसैबेलादेखि नयाँ भाग पनि थपिएको थियो बजाए बपत। त्यसअघि देउताका थानमा, बिहेबारी हुँदा, चन्दननाथ मन्दिरका लिंगा तान्ने आदि समयमा बाजा बजाउँदै आएका उनीहरु जुम्लामा जात्राको चल्ना सुरु भएबाट जात्रामा पनि बाजा बजाउन थाले।

हरेक वर्ष जात्रामा सरकारी बाजा (खास नाम नभएको बाजालाई कतिले ब्याण्ड बाजा पनि भन्छन्। धेरैले सरकारी बाजा नै भन्छन्।) बजाए बापत बीस किलो गहुँ, एक भाग भैंसीको मासु र बाजा बजाएको दिन रक्सी पाउँथे। एक जोर नयाँ कपडा पनि।

सुरूसुरूमा जात्रा सकिएपछि भोज खाएर कट्टा हुन्थ्यो सबै। पछि अमौद्रिक ज्याला थाप्न थालेका हुन्।

त्यो चलन आज पर्यन्त कायम छ। काली बहादुरको भाग पनि सानैदेखि उही हो। पछि बजारका शिवराज श्रेष्ठले गहुँलाई बीस किलो चामलमा परिणत गराए। मासु, रक्सी यथातरव रह्यो। केही वर्ष यता त्यो बढ्यो। चामल तीस किलो भयो। एक भाग मासु एक किलोमा परिणत भयो।

काली बहादुरले यसपाली मालिका जाने सरकारी तिर्थालुलाई सरकारी बाजा घन्काएर पठाए। छायाँनाथ, ऋणमोक्ष जाने तिर्थालुलाई दमाह पिटेर पठाए। जनैपूर्णिमाको अघिल्लो रात, पूर्णिमाको दिन बेस्कन दमाहा पिटे। उनको दमाहाको लयम धामीहरू कलात्मक तरिकाले नाँचे।

यस्तो उग्र तालमा दमाह बजाए कि जसको धुनले उपस्थित सबैलाई धामीको तालमा नाचौंनाचौं बनायो।

त्यसैरी नै रोपाइँ जात्राको दिन उनले बाजा बजाएका थिए, सास तानितानि। त्यसरी बजाएका बाजाबाट निस्किएको धुनले आकर्षित गराएर नै बिहानको सूर्य डाँडासम्म पुग्नुअगाडि नै उनको घर पुगेको थिएँ। भेट हुने बित्तिकै देखाए दमाह ठटाएर हातमा बसेका ठेला।

यसबेला उनको अनुहार मलिन थियो। रंग उडेको पुरानो कपडाजस्तो।

जात्राका क्रममा बाजा बजाउँदै कालि। तस्बिरः महेश नेपाली

जात्रा चार दिन लगातार चल्छ। तीन दिन विराएपछि कृष्ण जन्म अष्टमीको रात र भोलिल्ट राम नवमी पर्छ। यी दुई दिन गरि करिब छ दिन जात्रामा बाजा बज्छन्। यसरी छ दिनको ज्याला स्वरुप आउँछ तीस किलो चामल, एक किलो मासु, बाजा बजाएको दिन थकाइ मेट्ने रक्सी। एक जोर एकैनासे कपडा। बुढो भएकाले काली बहादुरलाई त्यो कपडा लगाउन मन लागेन।

अर्थतन्त्रमा मुद्रास्फीति उकालो चढिरहेछ। बजारको महंगीले रकेटझैं तिब्र गतिमा आकास छुन खोजिरहेछ। जात्रामा बाजा बजाउनेको ज्याला वर्षौदेखि उही छ। यी सबै कुरामा काली बहादुरको ध्यान छैन। लगाव पनि छैन। कसैप्रति गुनासो पनि छैन।

उनी यसलाई पुस्तौंदेखिको रित मान्छन्। भन्छन् ‘बाबु बाजेले यही गरे। हामीले सिक्यौं। गोडा (दाल), मुठो (चामल) खेड्ना बाटो (खाना कमाउने माध्यम) यही छ। मुखौनो माड हाल्ने बाहाना यी हुन्। नत्र खायो(खानु) कहाँ छ त?’

त्यसैले चुपचाप बाजा ठटाउँदै आए जिन्दगीका पाँच दशक। यी पाँच दशकमा उनीसँगै बाजा बजाउने धेरै वितिसके, बुढो उमेरका एक उनी मात्रै एक हुन्। उनले अहिले भर्खरका केटाहरुलाई पनि बाजा बजाउन सिकाएका छन्। उनको मतमा अब उनीरहरु पनि बिस्तारै तीस कीलो चामल, एक किलो मासु, रक्सी र नयाँ कपडाका हकदार भएका छन्।

उनी आफ्नो लागि समयले नेटो काट्न लागेजस्तो मान्छन्। दिन ढल्के जस्तो मान्छन् ‘आफू त अर्को साल बाजा बजाउन सक्ने हुँ कि नाई। जीउ रहन्या हो कि नाई, ट्वाटकीले सिक्याछुन्। छोरोछोरीले सकलान त गरिखानन्। नसक्या ती भोका रन्याहुन्। आम्ना त दिन बाइगया। त्यही भए अैले साल सकि नसकि बाजा बजाउन्यौं। दिनको एक पटक उनार (अनुहार) देखाउन मात्रै भयापुनि जान्यौं,’ जीवनको उत्तरार्धको जस्तो बोली बोले।

Comments

राजेन्द्र पराजुली