सौराहामा भेटिएका गाइड बम्जनको जीवन सफारी (भिडियोसहित)

यस पटकको नेपाल भ्रमणमा रहेको बेला २०३० सालमा स्थापना भएको पहिलो राष्ट्रिय निकुन्ज चितवन राष्ट्रिय निकुन्जमा जंगल सफारी गर्ने मौका मिल्यो।

परिवारसहितको जंगल सफारीका क्रममा बम्जन जेठाको नामले चिनिने बम्जन तामाङसँग भेट भयो। उनी हाम्रो सफारीका लागि खटाइएका गाइड थिए।

दुई घण्टासम्म उनले हामीलाई निकुन्जको विषयमा विभिन्न जानकारी गराउँदै गए। निकुन्जको इतिहासदेखि यहाँ पाईने सबै कुराको विषयमा हामीलाई बताउँदै गए।

सफारीका क्रममा मृग, गैडालगायत विभिन्न पशुपंक्षीहरु भेटिए।

सन् २००९ मा उनी वैदेशिक रोजगारीको शिलशिलामा साउदी गएका रहेछन्। पैसाको रूखै छ भनेर त्यहाँ पुगेका ३६ वर्षिय बम्जनले त्यहाँ मान्छे लडाउने घाम मात्र पाएको बताउँदै आफैंप्रति व्यग्य गरे।

‘सडकको चर्को घाममा उभिएर गर्ने काम पाएको मैले त्यहाँ जसोतसो एक वर्ष विताएँ,’ उनले भने,‘त्यस क्रममा मैले काम गर्दा गर्दै मान्छे लडेकोसमेत देखेँ। ६० डिग्रीको चर्को घाममा आफैं पनि ढलेको बिउझिएपछि थाहा पाईन्थ्यो।’

श्रम अनुसारको पैसा पनि नहुने त्यहाँ उनले मुश्किलले महिनाको ८ सय रियाल कमाउँदा रहेछन्। जसो तसो ऋण तिरिसकेपछि उनी त्यहाँबाट भागेर काम खोज्दै हिँडे।

नेपालबाट सम्झौता गरेको काम छोडर गैरकानुनी रूपमा काम खोज्नु सजिलो थिएन। केही समयपछि उनले होटेलमा काम पाए। केही राहत महसुस गरे।

गैरकानुनी रूपमा लुकेर ३ वर्षसम्म उनले साउदीमा काम गरे। पैसा नकमाए पनि ज्यान जोगाएर उनले होटलमा काम गरेका थिए।

गैरकानुनी भइसकेपछि नेपाल फर्किन चाहेर पनि सजिलो थिएन। सिधै जेलमा पुग्नुको विकल्प थिएन। केही समय उनी होमसिक नै भएछन्। तर, भाग्यबस साउदी सरकारले  भीड नियन्त्रण गर्न हरेक ७ देखि ८ वर्षको बिचमा घर फिर्तीको लागि गर्ने आव्हान यस पटक पनि सुनायो।

सौराहाको भ्यूप्वाइन्टबाट

साउदीलगायत केही देशले हरेक ७ देखि १० वर्षमा गैरकानूनी रूपमा बसेकालाई आफ्नो देश फर्कन आव्हान गर्छन्।

यो सुनेपछि उनी निकै खुशी भए। यति बेला उनले नेपाल फर्किने निधो गरे। उनीसँगै १ लाख नेपाली नेपाल फर्किएको उनले दाबी गरे।

नेपाल फर्किएका बम्जनले अव नेपालमै श्रम गर्ने अठोट गरे। त्यसो त उनलाई नेपाल फर्किएको दिनदेखि विदेशमा बस्ने साथीहरूले त्यता जान दबाब नदिएका होइनन्। तर, उनले त्यसो गरेनन्। उनले नेपालमै बसेर जिविकोपार्जन गर्ने निर्णय गरे।

काम खोज्दै जाँदा उनले सौराहमा गाइडको काम पाए। विदेश जानु अगाडि उनले यो काममा थोरै अनुभव लिएका रहेछन्।

अव यसै कामबाट गुजारा चलाउन उनले लाइसेन्सको तयारीमा लागे। ४ वर्ष साउदी बसेर फर्किएका उनले १५ दिनको १८ घण्टे पढाई र तीन वर्षसम्मको सहयोगी भूमिका पश्चात उनले एउटा गाइडको प्रमाणपत्र लिएर काम गर्न थाले।

साउदीबाट फर्केपछि उनले घरजम पनि गरे। एउटा छोराका बाबु भइसकेका उनको अहिले जीवनमा खुसी भरिएको बताए।

विशेष गरि वैदेशिक रोजगारीको शिलशिलामा गएकालाई उनको जीवन भोगाईको अनुभव धेरैलाई सन्देश दिने खालको छ। सन्तुष्टि हुनसक्नु जीवनको सबैभन्दा महत्पूर्ण पक्ष रहेछ।

आफ्नो आम्दानी अनुसारको खर्च गरे जिवन सहज र सुखमय हुने उनको अनुभव छ। महिनाको ३० देखि ४० हजार कमाउने उनले करोड कमाउने आफ्नै साथीको तुलनामा खुसी रहेको दाबी गर्छन्।

‘पैसा जति भए पनि पुग्दैन। पैसाकै पछि लागेर धेरै साथीहरू असन्तुष्ट छन्। विदेशको पीडा त छदैछ’, उनले भने,‘उनीहरूको घरमा समस्या छन् बरू यसको तुलनामा म नै खुसी छु जस्तो जाग्छ।’

जीवन कसरी जिउने त्यसले अर्थ राख्छ भन्दै उनले स्वदेशमै काम गर्दाको सन्तुष्टिलाई विदेशको पैसाले जित्न नसक्ने उनको भोगाइको निचोड छ।

उनले यो अनुभव सुनाउँदै आफ्नो गाइडको भूमिका पनि न्यायसंगत निभाइरहेका थिए। सफारीको क्रममा भेटिएका जंगली जनावरलाई हेर्न बेला बेला गाडी रोक्थे। उनीहरुबारे बताउँथे।

हामीलाई भ्यू टावरमा चढाएर फोटो खिचिदिन्थे। आधाउधी जंगल घुमिसकेपछि ब्रेकमा खाजा खाने ठाउमा पुर्‍याउँथे। अन्तिममा हात्तीमा चढ्ने हाम्रो मागलाई पुरा गरेर खुशी तुल्याए।

उनको व्यवस्थापकीय भूमिका देखेर हामी निकै लोभियौं। सफारीका क्रममा भेटिएका सवैकुरा हेर्दै उनको जीवन जिउने कलाको सन्देश लिँदै हामी पनि उनीबाट छुटियौं।

सफारीको क्रममा हामीले निकुन्जको नालीवेलीसहित अनुभव बताउने एउटा गाइडको कथामा सफर टुग्यायौं। एउटा गाइडको विओन्ड लाइफको विषयमा। निकुन्जको महत्व त आफैंमा छदैछ सदावहार। 

Comments

राजेन्द्र पराजुली