फेसबुकको दुनियाँ

ममता मिश्र

काम-घर, घर-काम। कस्तो निराशलाग्दो जिन्दगी। जहिलेदेखि आमा बुवाको काख छोडेर आफ्नो खुट्टामा उभिन्छु भनेर लागियो, त्यो बेलादेखि जिन्दगी कुनै कौतुहलता या उत्सुकता नै नभए झैँ हुन थाल्यो।

हरदिन जीवन घडीको सुईसँग घुमिराखेको छ। बिहान झिसमिसेमा निन्द्राकै सुरमा घर छोडेर हिड्यो अनि बेलुका झिसमिसेमा निन्द्राले लट्ठ भएर घर छिर्‍यो।

घरको बिछ्यौना, बसको एक सिट, दुई बट्टा टेक अवे खानेकुरा र अफिसको कुर्चीबाहेक अरू त जिन्दगीमा केही चाहिँदा पनि नचाहिने जस्तो।

हरेक दिन एकै अनि हरेक छिन एकै। जिन्दगी नै एउटा रूटिनमा चलेको रोबोट जस्तो।

विगत १० वर्षदेखि हरेक दिन उही समयमा, उही बस, उही बस स्टप, उही जागिर अनि उही घर। बिहान एउटा बस छुट्यो भने सारा दिनको समय-तालिका नै डामाडोल हुने। छ्या कस्तो वाक्क लाग्दो जीवन!

लोग्ने विदेशमा बेपत्ता भएपछि बदलिएको कल्पनाको जिन्दगी (भिडियोसहित)

म यस्तै सोच्दै बसको झ्यालबाट बाहिर हेर्छु। आज वर्षौ पछि आधा दिन काम गरेर घर फर्कँदा एउटा रमाइलो अनुभूति भइराखेको छ। अनि भोलिदेखि १ हप्ता छुट्टि भनि सम्झदा एक वर्षै छुट्टी हुन लागेझैँ हजारौं योजना मनमा आउँछन्।

बसको झ्यालबाट बाहिर सबै नौलो लागिरहेछ। बिगत १० वर्षदेखि यात्रा गरिरहेको यो बाटोको दायाँ बायाँका बजार, घर, रूख बिरूवा आज घामको उजेलोमा हेर्दा, सबै अर्कै लागिरहेछ।

मनै फुरूङ भए जस्तो, कहीँ अर्कै दुनियाँमा पुगे जस्तो, मन हेरक चिज बस्तु हेरेर रमाउँछ। वास्तवमा जीवनलाई यतिसम्म ब्यस्त बनाउनुपर्ने आवश्यकता पनि त थिएन। छुट्टि पनि त नपाइएन होइन नि।

आफूले कानुनत पाउने छुट्टी र सुविधा लिन त कसैले रोक्न सक्दैन। त्यहि पनि आफूले नै आफूलाई आवश्यकता भन्दा बढी ब्यस्त बनाई कामलाई बढी प्राथमिकता र महत्व दिएपछि फेरि यो जीवनसँग के को गुनासो?

भारतीय सेनाबाट भागेर आएपछि ईखले चम्किएका दुर्गेश

म यस यान्त्रिक जीवनको दोषि आफैंलाई ठहराउँदै बाहिर हेरेर केही दिन छुट्टि थपी कतै घुम्न जानु पर्‍यो भन्दै मनमनै योजना बनाउँछु।

बाहिर जति हेर्‍यो उति मनोहर लाग्छ दृश्य। दुवै तिर हरिया रूखका लहरहरु बीच तेर्सिएको चिल्लो बाटो कहिले नसिद्धियोस् झैँ लाग्छ। एउटै बाटोमा चार पाँच लाइन लहरै गाडीहरू कमिलाका ताँती झैँ गुडेका। न गाडीको हर्नको आवाज न पेट्रोलका धुवाहरू। सफा गाडीहरु, सफा वातावरण आँखाहरु यसै रमाउँछन्।

एक किसिमको अदभूत अनुभूतिले हृदयमा अनौठो भाव फैलन्छ। बेला बेलामा यो रूटिन जिन्दगीलाई यसरि पनि ब्रेक दिनुपर्ने रहेछ, म मनमनै सोच्छु। आज आधा दिनमा घर फर्कदा कस्तो आनन्द महशुस भएको।

बस रोकिँदै गुड्दै गरिरहेछ अनि मानिसहरु चड्दै ओर्लदै गरिरहेका। बस भित्रका अधिकांश मानिसहरु आफ्नै फोनमा व्यस्त छन्। आजकाल त मानिसहरु फोनमा कुरा गर्न भन्दानी फोनमा सोसिअल मिडियामा तस्बिरहरु हेरेर बढी रमाउँछन्। म भने झ्यालबाट बाहिरै हेरेर रमाइरहेछु।

मेरो त सोसियल मिडियामा अकाउन्टसम्म पनि छैन। कहिले काँही त कसै कसैलाई मेरो फेसबुक या इन्स्टग्राम छैन भन्न पनि लाज लाज जस्तो लागेर आउने, म यस्तै सोच्छु।

बस खालि खाली जस्तै नै छ त्यै पनि कोही आएर मेरो छेउको खाली सिटमा बसे झैँ लाग्छ तर म फर्केर हेर्दिनँ। बस पुरै खाली छ र पनि यो मान्छेलाई के मेरो छेउमा आएर बस्न परेको होला भनि झनक्क रिस पनि उठ्छ। तर, केही भन्ने कुरा आएन।

सार्वजनिक साधनको प्रयोग गरेपछि सबैको अधिकार उत्तिकै हो। म रिसलाई पचाएर झ्यालबाट बाहिर नै हेरेर बस्छु।

'एई निना?'

फकल्यान्ड युद्वमा ५ पाउण्ड भत्ता दिन्छु भनेको बेलायतले १ पाउण्ड मात्र दियोः वार भेट्रान बुद्धिराज राई (भिडियोसहित)

म झसंग भएर हेर्छु, आइसा रै’छ। 'ओ माई गड! आइसा!!' म जिल्ल पर्छु, आइसालाई नदेखेको पनि जुग भैसकेको थियो। कस्तो अर्कै भै’छ। त्यो बोल्ने तरिका बाहेक अरु सबै फरक। उसको स्वरले नै उसलाई चिने मैले। यदि नबोलाएकि भए नचिन्ने। दस सेकेन्ड भित्र म सबै सोच्न भ्याउँछु।

'तिमीलाई मैले बस बाहिरबाट देखेरै चिनिसकेको थिएँ, तर तिमीले मलाई नदेखे जस्तो लायो। भित्र आएरसँगै बस्दा पनि फर्केर नहेरेको देख्दा त अभोइड गर्न खोजेको होकि जस्तो पनि लाग्यो। तर, जेसुकै होस् भनेर मैले बोलाएरै छोडेँ,' ऊ गलल्ल हाँस्छे।

'ठीक गर्‍यौ बोलाएर। मेरो एकदम एकोहोरे बानी छ। म त कहिलेकाही चिनेको मान्छेसँग आँखा जुध्दा पनि चिनेको छु भनेर यादै गर्दिनँ। मानिसहरू घमण्डी भनेर मसँग रिसौछ्न अनि मलाई बेवास्ता गर्छन्, जब कि मेरो इन्टेन्सन त्यस्तो हुँदैन। म एकछिन रोकिन्छु, 'कस्तो खुसी लाग्यो तिमीलाई भेट्दा। भन त कति भएको थियो हाम्रो भेट नभएको?,' म अलि उत्साहित भए झैँ गर्न खोज्छु। तर, आफ्नो बानी नै अलि अनौठो भएकोले आफ्नो बोली र हाउभाउमा धेरै उत्साह र उत्तेजना ल्याउनै सक्दिनँ।

जे होस म उसलाई भेटेकोमा खुसी भए झैँ अभिव्यक्त गर्न भरपुर कोशिश गर्छु। तर, ऊ भने कति सहजै उत्साहित हुन्छे र मलाई महसुस गराउँछे कि ऊ कति खुसी छ मलाई भेटेर।

पहिले नेपाली चेलिबेटी भारतमा मात्र बेचिन्थे, अहिले तेस्राे मुलुकमा बेचिने क्रम बढ्दाे

‘त्यै त म त तिमीलाई देख्ने बित्तिकै यस्तो खुसी भए कि यु कान्ट इम्याजिन्,' ऊ पुरा मुख च्यातेर हाँस्छे।

‘अनि तिम्रो बसाइ कता?,’ म सोध्छु।

'म अर्कै इस्टेटमा बस्छु आजकाल। होलिडे लिएर यसो घुम्न आएको। टुरिस्ट हुँ यहाँ,' ऊ फेरि गलल्ल हाँस्छे। 'तिम्रो के छ सुनाउन। ‘तिमी त यतै?’

'अँ म त यतै छु। त्यही पहिलेकै अपार्टमेन्ट, सबै उही छ, रूप र रंग मात्रै बदलिएको छ त्यत्ति हो,' म पनि हाँसीदिन्छु।

'हँसायौ तिमीले। बिहे त गरिसक्यौ होला नि?'

'छैन। एउटा गतिलो केटो भेट्नु छ। खै कोही मनै पर्दैन, के गर्ने? कोही तनका राम्रा मनका खत्तम्। कोही मनका राम्रै तनका खत्तम्। दुवै भएर मिलेको पाउनै मुस्किल। बिहे नै नगरी मरिन्छ जस्तो छ यार,' म पनि मजाले हाँसिदिन्छु अनि उसले पनि मलाई साथ दिन्छे। 'तिम्रो नि?' म सोध्छु उनलाई।

'म अहिले रिलेसनसिपमा छु,' उ भन्छे। 'दुई वर्ष जति भो सँगै बसेको। अब अर्को वर्ष तिर बिहे गर्नुपर्ला भन्ने सोचाइ छ।'

आज भन्दा ७/८ वर्ष अगाडिको सोझी, जतिखेर पनि ईज्जतको परवाह गर्ने मान्छे अहिले कति लापरवाह जस्ती भै’छ।

अनि जे गर्न पनि हिच्किचाउने, कोही नेपाली केटाकेटी रिलेसनसिपमा सँगै बसे भन्दा यत्रो आँखा पल्टाएर छक्क पर्ने आइसा मेरो मानसपटलमा झलक्क आउँछ। मानिस यसरी पुरै कसरी बदलिन सक्छन्? सोचाई, लवाई खवाई, बानी व्यहोरा जम्मैमा, आफूलाई बदल्न सक्नु पनि एउटा गजबको कुरा हो, म सोच्न बाध्य हुन्छु।

एकै छिनको भेटमा पनि हामीले निकै कुरा गर्‍यौं, विगतका वर्षहरूमा छुटेका एक अर्काको बारेमा धेरै कुरा जान्यौं। अनि छिन भरमै सम्बन्ध यस्तो घनिष्ठ भयो कि, उसले आफ्नो ब्यागबाट फोन निकालेर मलाई भनी, 'तिमी मेरो फोन नम्बर लिई राख न। अनि मलाई पनि तिम्रो नम्बर देउ है। अब त किप इन टच भई राख्नुपर्छ।’

उसको फोन देखेर मेरो टाउको सनन्न भयो। आफू भने सामसुङको पुरानो मोडेलको, त्यो पनि फोन नम्बर बाहेक केही नआउने फोन हल्लाएर हिँडीरहेछु, उसको भने आइ फोनको पनि लेटेस्ट मोडेल। फोन ब्यागबाट झिक्न लाज लागेर आयो। 'हत्त न पत्त आफ्नो नम्बर उसलाई दिए अनि उसको नम्बर चाइ नमागेर चुप लागेर बसेँ।

‘मेरो नम्बर लिन्नौ?’ उसले आफैं भनी।

अब बच्चा नजन्मिदै कि त कांग्रेस हुन्छन् कि नेकपा !

पछि लिउला भन्न पनि कस्तो गाह्रो, असिष्ठ ब्यवहार गरे जस्तो। ‘पख म मिसकल दिन्छु तिमीलाई’ भन्दै उनले मेरो नम्बर डाइल गरी। ‘चेक गर त तिम्रो फोनमा,’ ऊ भन्छे।

ब्यागमा हात हालेर फोने खोजे झैँ गर्छु अनि मन नलागी नलागी, लज्जित हुँदै मैले आफ्नो ‘खटारा’ मोबाइल झोलाबाट निकालेँ।

मेरो मोबाइल देखेर ऊ जिल्ल परेर मेरो अनुहारमा हेरी। तर, केही त्यस्तो ब्यवहार नदेखाई उसले 'मिस कल’ आएछ?' भनेर सोधी।

'अँ। आएछ,' यति भन्दै मैले हत्त न पत्त मोबाइल झोला भित्र हालेँ।

ऊ भने आफ्नो मोबाइलमा अरू के के चलाउँदै थिई अनि एकै छिनमा उसले मलाई भनि, ‘म यता तिर त्यति युज टु छैन। यो न्याभिगेटर नहुने हो भने त साह्रै मुस्किल पर्थ्यो। यो न्याभिगेटरले त एउटा गाइड कै काम गरेको छ। नौलो सिटीमा पनि केही प्रब्लम नै नपर्ने यो भए पछि।’ ऊ आफ्नो कुरासँग आफैं सहमति भएको संकेत गर्दै भन्छे, ‘खैरेहरूको दिमाखलाई त मान्नैपर्छ बुज्यौ, के के बानाका हुन् के के। कुनै चिजको कल्पना मात्र गर्नुपर्छ, उनीहरुले बजारमा उपलब्ध गराईसकेका हुने, हई?'

'त्यै त एकदम सही कुरा,' म समर्थन जनाउँछु। 'तर यो सहर त के नौलो हो र तिमीलाई? त्यत्रो वर्ष बसेकै हौ नि?' मैले भने।

'त्यो त हो, त्यै पनि सधै नबसेपछि देखेको ठाउँ पनि बिरानी झैँ लाग्ने के।'

'हो हई,' मैले सही थापेँ।

'साच्चै तिम्रो फेसबुक आइडी के हो?' उ सोद्छे, 'फेसबुक फ्रेन्ड भएपछि कुरा गर्न एकदम सजिलो। म तिमीलाई फ्रेन्ड रिक्वेस्ट पठाउँछु। '

यो केटी पनि कति बकबक गर्ने र अरूको चासो चाइने खालकी भै’छ, म मनमनै भन्छु, एकछिनको भेटमा सबै चाइएको छ। म हाँस्छु।

'किन? किन हाँसेको तिमी?' ऊ छक्क पर्छे?

'मेरो फेसबुक छैन।'

पोल्याण्डले पोलेको 'रत्नेदाइ'को सपना

'छ्या, होइन होला। फेसबुक नहुने नि कोइ हुन्छ?' उसले पत्याउँदिन। 'ए उसो भए तिमीचाहिँ इन्सटा तिर? त्यै त आजकाल मान्छे फेसबुकबाट इन्स्टा तिर लागेका छन्। तर म चाहिँ अझै पनि बढी फेसबुक नै चलाउँछु।

यो सोसिअल मिडिया भन्ने चिज पनि गजबको छ हई। बालकदेखि वृद्धसम्म सबैको अकाउन्ट हुन्छ सोसिअल मिडियामा। जवाना कहाँबाट कहाँ पुग्यो। कसरि दुनियाँलाई कनेक्ट गरेर राखेको छ यसले, इट्स अमेजिङ, ऊ भन्छे। ‘चिठी पत्र, टेलेक्स, टेलिग्राम भन्ने कुराहरु त कता पुगे कता। आजकाल त मेरो हजुरमा पनि आइसाले फोन नगरेकी धेरै भो, एकपटक फेसबुक लाइदेओन भन्नु हुन्छ रे’, ऊ हाँस्छे।

'हो हई’, म पनि हाँस्छु। ‘तर मेरो त्यस्तो केही छैन। म सोसियल मिडियामा जिरो,' म हाँस्छु।

'सिरेस्ली?! म बिश्वासै गर्दिनँ।’

'हो भनेको, यसमा ढाँट्नपर्ने कुरा के छ र?'

'अनबिलिभेबल। तिमी कुन युगमा छौ यार?' ऊ गलल्ल हाँस्छे। 'यो त भएन! सोसियल मिडियामै भएनौ भने त तिमी एन्टी-सोसियल भए जस्तै हुन्छ,’ ऊ भन्छे।

‘सोसिअल मिडिया जोइन गरेपछि अनि तिमी यसको महत्व बुझ्छौ। हरेक मानिसको जीवनको खुला किताब हो फेसबुक, उ गलल्ल हाँस्छे।

'हसाउँछौ तिमि पनि। त्यसैले त मेरो लागि कामको छैन यो। मेरो जीवन त त्यो लक् गर्न मिल्ने नोटबुक जस्तै हो, जो कोहिले पढ्न नमिल्ने,’ म उसलाई उडाए झैँ गर्छु।

तपस्वी कुकुर

‘हरे! त्यसरी नेगेटिभ्ली मात्रै नहेर न सोसियल मिडियालाई। खासै भन्ने हो भने सोसियल मिडिया भनेको 'वन स्टप सप' जस्तै हो के। के पाउँदैनौ तिमीले यहाँ? हरेक कुरा हुन्छ। तिमीले जोइन गर्नैपर्छ फेसबुक या इन्स्टामा, यू विल सी व्हाट डिफरेन्स इट मेक्स इन योर लाइफ।'

‘खै मलाई कहिले इन्ट्रेस्ट नै लागेन, त्यै भएर नखोलेको। मेरा अरू साथीहरु पनि त्यै भन्छन्। तर, खै मलाई चाँहि सोख नै छैन।’

'अहिलेको युगमा एउटा स्मार्ट फोन र एउटा सोसियल मिडिया अकान्ट चाँहि हुनैपर्छ। यो त अहिलेको समाजको नीड जस्तै हो। आइ कान्ट बिलिभ यु अर लिभिङ्ग विथाउट सोसिअल मिडिया। यु आर एब्सलुट्ली युनिक,' ऊ हाँस्छे।

छक्क पर्छु आइसाको कुरा सुनेर। कलेजमा मेरो र आइसाको कुनै जोड नै थिएन। ऊ सोझी, आत्मबल नभएकी, कमजोर केटीको रुपमा चिनिन्थी। केटाहरु उसलाई बोरिङ भनेर वास्ता गर्दैन थिए। केटीहरू घुसघुसे छ, के साथी बनाउनु भन्थे। म भने माया लागेर उसलाई साथ दिन्थेँ। आज उ आफू भन्दा कति गुणा बाठी देख्दा साह्रै लज्जित हुन्छु।

आफू साच्चिनै कुन सताब्दीको मान्छे रै’छु भने झैँ लाग्छ। फेरि एकपल्ट झलक्क झोलाको आफ्नो सामसुङ फोन आँखामा आउँछ। लाजले अनुहार रातो हुन्छ। अनि एसो सोच्छु, एउटा स्मार्ट फोन किन्न नसक्ने त म पनि थिइनँ नि, किन अहिलेसम्म नकिनेको होला मैले? म आफूलाई आफैं प्रश्न गर्छु।

'के भो? तिमी कता हरायौ?' उसका शब्दले मलाई बास्तविकतामा ल्याउँछ।

'ए होइन, तिमी फोनमा के खोजिराखेको जस्तो लागेर तिमीलाई डिस्टर्ब नगरेको,' म भन्छु।

'ए हेर न यता,' तिमीले सीमालाई चिनेकी छौ नि होइन?' उसले भनी।

'को सीमा?' म सम्झन खोज्छु। तर, झ्वाट्ट दिमाखमा को भनेर अनुहार आउँदैन।

'छ्या तिमी पनि, कस्तो बिर्सिएको?  त्यै के त एक चोटी मोडलिङ गर्छु भनेर हामीलाई सुनाउँथि नि।'

'ए, ए। सम्झे सम्झे। सीमा झा,'

'हो उही नै हो। रियलमा त्यस्तो जिउडाल र अनुहारलाई कसले मोडलिङ गर्न दिन्थ्यो? फेसबुक मोडेल चाई भैछ,' यति भन्दै हाँसेर उसले मलाई सीमाको फोटो देखाउँछे।

नेकपा एकताका सम्भावित काला बादलहरु

मनमा कस्तो कस्तो लाग्छ। कसरी खिल्ली उडाएकी सीमाको भने झैँ लाग्छ। ‘तिमि र सिमा खुब मिल्थ्यौ नि पहिला होइन?,' मैले सोधेँ।

'अहिले पनि राम्रो टर्म छ हाम्रो,' उसले भनी।

म फोटो हेर्छु, 'ओहो! मैले सीमालाई नदेखेको पनि जुग भैसकेको थियो। कस्तो चिन्नै नसकिने भईछ है। कतै देखेको भए त नचिन्ने रै’छु,' मैले भने।

'यस्तो नक्कल पारेर फेसबुकमा राखेको फोटो हेरे पछि अब झन रियलमा देख्दा चिन्दिनौ तिमीले,' ऊ खितखित गर्दै हाँस्छे अनि बसको झ्यालबाट यसो बाहिर हेर्दै उसले भनि,'ओहो, मेरो ओर्लने ठाउँ पनि आउन लाइसकेछ। म यता अर्को एक हप्ता बस्छु, भेटौं न एकपटक। कस्तो धित नै मरेन कुरा गरेको,' यति भन्दै उ सिटबाट उठ्छे।

'अँ हुन्छ, फोनमा प्लान गरौला नि,' मैले भने। यत्तिकैमा ऊ बसबाट ओर्लन्छे।  

ऊ त गई। तर, आफ्नो मनमा भने तुफान चलाएर गई। कस्तो कस्तो लाग्यो आफैंदेखि दुनियाँ कहाँ पुगिसकेछ म चाहिँ जहाँको त्यही रहेछु भने झैँ लाग्यो।

उसले 'स्मार्ट फोन र सोसियल मिडिया एकाउन्ट नहुने मान्छे त एन्टी-सोसिअल जस्तै हो,' भनेको मनमा घुमिरहन्छ अनि कता कता मनमा चसक्क बिज्छ। हुन पनि आफू त एन्टी सोसियल जस्तै छु। साथीको नाममा औंलामा गन्न सकिने दुई चार जना छन्। अनि बाँकी दुनियाँबाट टाढै छु। खल्लो लाग्यो आफ्नो पहिचान आफैंलाई। ‘एउटा स्मार्ट फोन चाहिँ मैले पनि किनेँ अब,' म दृढ निर्णय गर्छु।

घरमा पुगेर फ्रिजबाट हिजोको बाँकी खाना तताएर खाएँ। छुट्टीमा बाली घुम्न जानु पर्ला भनेर बालीको बारेमा जानकारी दिने साइटहरु कम्प्युटरमा खोज्दै थिएँ, फोन बज्न थाल्छ। येसो हेर्छु आइसा रै’छ। ‘हरे किन फोन गर्छे यो मलाई, अघि भर्खर भेटेको? फोन उठाउँ कि नउठाउँ गर्दै फोन उठाएँ।

 'निना,' उ भन्छे, 'घर पुग्यौ?'

'अँ पुगेँ,'

'म पनि तिम्रै घर भए तिर छु, एकछिन आउ है भनेर,'

म अकमक्क परेँ। नआउ कसरी भनौं? 'अँ हुन्छ, आउ न त,' मैले भने।

'ल म आधा घण्टा भित्रमा आउँछु है,' यति भन्दै उसले फोन राखी।

आफूलाई एक्लै बस्ने आदत लागेको, कोही आउँछु भन्दा जिउनै भारी भए झैँ हुन्छ। के अरूको घर चाहर्नुपर्ने मान्छे रै’छे भने जस्तो पनि लाग्छ।

यसो आफ्नो घर भित्र आँखा घुमाउँछु, सबै तिर भद्रगोल छ। हस्याङ फस्याङ गर्दै सबै मिलाएर कोठा सफा पारेर आइसाको प्रतिक्षामा बसेँ।

उसले आधा घण्टा भित्रमा आउँछु भनेकी एक घण्टा बढी भइसक्यो अत्तो पत्तो छैन। रिसले आँखा तिर्मिराउँछ, सोच्छु मेरो समय नै बर्बाद गरिदी! भोलिकै टिकट लिएर बाली हानिन्छु भन्ने विचार थियो सब चौपट पारिदिई।

एकछिन पछि हातमा दुई बट्टा बटर चिकेन र राइस बोकेर ऊ आईपुगी। ‘आज तिमीसँगै बसेर डिनर खानुपर्‍यो भनेर। यो त्यै इनडेन रेस्टुरेन्टबाट लेराएकि’, भन्दै उसले बट्टा राखेको झोला मलाई दिन्छे।

‘मेरो एक जना मिल्ने साथी थी यता, सर्प्राइज दिन्न्छु भनेर भन्दै नभनी आएको त आफैं सर्प्राइज भएँ। ऊ त होलिडेमा गएकि रै’छ,' आइसा टाउको हल्लाउँदै लज्जित हाँसो हाँस्छे।

‘राम्रै भयो नि त, झन् तिम्ले र मैले टाइम स्पेण्ड गर्न पायौं’, म पनि कुरोमा कुरो मिलाईदिन्छु।

‘त्यो त हो,’ उसले भन्छे।

धेरै फरासिली र खुला मिजासकी भै’छ आइसा, म मनमनै सोच्छु। 'तिमी त कस्तो चेन्ज भएछौ, पहिलेको आइसा नै होइन,' मैले हाँस्दै भने।

‘समय र परिस्थितिले मान्छेलाई बदल्छ भनेको यही हो नि। मानिसले त्यतिखेर म प्रति गर्ने व्यवहारले मलाई आजको म बन्नमा मद्धत गर्‍यो। कहिले काहीँ ‘थिङ्स ह्यापेन फर अ रिजन,’ भन्छन् नि, हो त्यो सही हो रै’छ। मानिसहरूले मलाई बोरिङ, एकलकाट्टे के के मात्रै भनेन र? तिमीलाई पनि थाहा छ नि?’ ऊ निहाउँरो मुख लाउदै भन्छे,‘हुन त म पनि एकदम त्यस्तै नै थिए त्यै पनि अरूले आफ्नो कमजोरीको खिल्ली उडाउँदाचाहिँ सारै दुःख लाग्दो रहेछ।’

'त्यो त हो। तर, तिमी एकदम अठोट पुरा गर्न सक्ने मानिस रहेछौं। मैले माने तिमीलाई।’

'थ्याङ्क्स', यति भन्दै ऊ एकछिन टोलाउँछे।

‘के भो? के सोच्यौ?,’ मैले सोधेँ।

'म यस्तरी कुन कारणले बदलिएँ थाहा छ तिमीलाई?,' उसले सोधी।

'अहँ,’ म आश्चर्य मान्दै सोध्छु।

‘अब तिमीलाई भन्न के लाज मान्नु, त्यसमाथि नि अब त लाज भन्ने कुरालाई नै मैले तिलाञ्जली दिइसकेँ,' उ हाँस्छे।

‘अँ भन न त कसरी यत्रो परिवर्तन आयो तिमीमा?'

उ एकछिन चुप लाग्छे। सायद बेक्कार मुख खोले झैँ लाग्यो जस्तो छ, ‘भइहाल्यो कुनै दिन फुर्सदमा भनौंला, निकै लामो कहानी छ,’ यति भन्दै उसले आफ्नो फोन हेर्छे र मरीमरी हाँस्न थाल्छे।

'के भो? के हेरेर हाँसेको त्यस्तो?' वाल्ल परेरे उसलाई हेर्छु।

'त्यै भएर तिमीलाई फेसबुक एकाउन्ट चाहिन्छ भनेको नि, धेरै रमाइला कुराहरु आउँछन के यहाँ। आज त तिमीलाई फेसबुकको एकाउन्ट म आफैं खोलाएरै छाड्छु,’ उसले भनि।

‘पहिला के भयो त्यस्तो हँसाउने, त्यो त भन मलाई।’

'छाडिदेउ यो त्यति इम्पोर्टेन्ट छैन।’ अनि फेरि के आएछ मनमा, ऊ भन्छे ‘यी हेर न यो मेरो साथी', ऊ एउटा राम्रा खुसी देखिने जोडीको फोटो देखाउँदै मलाई भन्छे, 'तिमी चिन्दिनौं यसलाई,' ऊ हाँस्छे फेरि, ‘यसको घरमा श्रीमानसँग सधैंको घमासान युद्व हुन्छ। कति त मान्छे कै अगाडि पनि मारामार गरेका छन् यिनीहरूले। अनि यहाँ फोटो र फोटोको क्याप्सन पढ न,' यति भन्दै ऊ मलाई फोन दिन्छे र हाँस्न थाल्छे। ‘यस्ता बनावटी मान्छेको कमेन्ट पढ्न खुब रमाइलो हुन्छ बुझ्यौं। तिम्रो पनि फेसबुक भएपछि अनि अझै रमाइलो हुन्छ। दुई जना मिलेर खुब ब्याक बाइटिङ गर्न मिल्छ यस्ता मान्छेको।’

'के फाइदा अर्काको कुरा गरेर?' म भन्छु।

'सधै फाइदा र बेफाइदाको मात्रै कुरा नगर न। यो त इन्टरटेनमेन्ट हो के। तिमी हामी जस्तो अरू इन्टरटेनमेन्ट गर्न नजान्नेले यस्तै हेरेर इन्टरटेन गर्नुपर्छ,' ऊ फेरि हाँस्छे र मेरो मोबाइल फोन माग्छे, ‘जस्ट लेट मी ओपन अकाउन्ट फर यू।’

'मेरो स्मार्ट फोन छैन,' म भन्छु।

'हरे यो मान्छे पनि। केही छैन, स्मार्ट फोन किन्दै गर। फेसबुक अकाउन्ट कम्पुटरबाट पनि त खोल्न मिल्छ नि,' यति भन्दै उसले मलाई कम्प्युटर खोल्न लगाउँछे र एकैछिनमा फेसबुक अकाउन्ट पनि खोलिदिन्छे, जथाभावीसँग झुठा जानकारीहरु दिएर। ‘ल हेर, २ मिनेट नि लागेन,’ ऊ भन्छे, ‘युज गर्ने गर नि फेरि। अलि अलि गर्दै तिमीलाई पनि यसको नसा लाग्छ अनि तिमि भन्ठान्छौ तिमीले अहिलेसम्म के मिस गरिराखेको रहेछौ भनेर।'

म चुप लाग्छु।

आइसाले मेरो फेसबुक अकाउन्ट खोलेपछि उसले मलाई एकदम अनाडीलाई झैँ गरेर फेसबुक सम्बन्धि धेरै कुरा बताई। म पनि केही नबुझेको अनाडी झैँ गरेर उसले सिकाएका कुराहरू ध्यान दिएर मनन गरे झैँ गरेँ। अनि उसले एकदम अनौठोको नाम बताएर यो चाहिँ मेरो फेसबुक आइडी। मैले तिमीलाई फ्रेन्ड रिक्वेस्ट पठाएको छु। एक्सेप्ट गर नि फेरि,' भनेर ऊ मलाई हेर्छे।

म अलमल्ल पर्छु। ‘किन आफ्नो नाम नराखेको त?’ मैले सोधेँ। ‘छ। आफ्नो नामको पनि अकाउन्ट छ। यो चाहिँ साथीभाईको लागि, त्यो चाहिँ फेमेलीको लागि,' ऊ हाँस्छे।

'बाब्बा, तिमी पनि बुझी नसक्नुको भएछौ,' म हाँसेँ।

'यस्तै हो यार। तिमी मान या नमान। तर, यो दुनियाँमा सोझा साझा र असल मानिसको काम छैन। आफूले त सोझो भएर पनि हेरियो अनि बाङ्गो भएर पनि। तर, बाङ्गो भएर बाच्नुमा जुन सन्तुष्टि मिल्दो रै’छ त्यो म जस्तोले मात्रै बुझ्छ। त्यसैले जस्ट इन्जोए योर लाइफ एण्ड डु व्हाटेभर मेक्स यू ह्यापी।’

‘तिमीलाई एसले खुसी बनाउँछ, यो सोसियल मिडियाले?'

'अफकोर्स। यु विल गेट टु मिट भेराइटी अफ पिपल इन सोसिअल मिडिया,’ उसले भनि, ‘यस्तो एक्लो र व्यस्त जीवनमा इट गिभ्स यु अ ब्रेक के। सोसिअल मिडियाको मजै अर्को छ।’ उसले मलाई हेरी, ‘ट्रस्ट मि, यु विल इन्जोय टु।’ 

उसको कुरा खुब चित्त बुझ्छ। खास गरि म जस्तो एक्लो मान्छेलाई त वास्तवमा राम्रै हुन्छ जस्तो छ फेसबुक भने झैँ लाग्छ।

‘तिमी त बोरिङबाट एकदम इन्ट्रेसटिङ भैछौ यार। इन्जोइङ स्पेनडिङ टाइम विथ यू,’ सिरियस्ली,’ म भन्छु।

उ गल्लल हाँस्छे।

निकै बेर बसेर आइसा हिँडी।

ऊ गएपछि म पनि भर्खरै खोलेको फेसबुकमा के रहेछ त त्यस्तो भनेर कौतुहलताका साथ चलाउन थाल्छु अनि रमाउँछु पनि। इच्छा नगरी नगरी खोलेको फेसबुकले मलाई तुरून्तै यसरी आकर्षण गर्छ भन्ने मैले कल्पना पनि गरेको थिइनँ।

एक दुइटा गर्दा गर्दै एकैछिनमा थुप्रै साथीहरु बने फेसबुकमा। कति चिनेका  त कति चिने जस्ता अनि कति चिन्दै नचिनेका पनि। जसले पनि फेसबुकमा साथी बन्न निवेदन गर्न सक्नेरहेछ, अनि गर्दा पनि रहेछन्।

खुब रमाइलो लाग्यो। फेसबुकको प्रोफाइलमा मैले पनि आफ्नो एउटा गजब राम्रो फोटो राखिदिएँ अनि राम्रा प्रोफाइल फोटो भएका साथी बन्न इच्छुक निवेदकलाई नचिनेको भए पनि अनुहारको भरमा फेसबुकको साथी बनाईदिन्छु। जति साथि बन्ने निम्ता गर्छन अनि जति जति साथी बन्छन्, उति उति रमाइलो लाग्दै आउँछ। वास्तविक जीवनमा औंलामा गन्न मिल्ने साथी भए पनि फेसबुकको दुनियाँमा निकै साथी भइसक्दा आफूदेखि आफैंलाई खुसी लाग्छ।

साच्चिनै आइसाले भने झैँ बोरिङ मोनोटोनस लाइफमा यसले त एउटा राहत कै रूपमा काम गर्छ झैँ लाग्न थाल्छ मलाई पनि। अब फेसबुकको अकाउन्ट भइ सकेपछि एउटा स्मार्ट फोन पनि अत्यावश्यक लाग्न थाल्छ।

झलक्क आइसाले भनेको कुरा दिमाखमा आउँछ, अनि भोलि नै गएर एउटा फोन किन्ने निर्णय गर्दै म सुत्ने कोठा तिर पस्छु।

बेडमा पल्टँदा पनि फेसबुक दिमाखमा आउँछ। को को ले साथी बनाउने निम्तो पठाए होलान् भने झैँ कौतुहलता जाग्छ। राति नै उठेर कम्प्युटर खोलि हेरौं हेरौं झैँ लाग्छ। अनि आफ्नो मनलाई आफैं सम्हालेर सुत्ने प्रयास गर्छु।

भोलि बिहान उठ्न पाछैन कम्प्युटर खोल्छु। फेसबुक लग अन नै रै’छ। १५ जना नयाँ साथीको लागि निवेदन आएछ। दंग परेर खोलेर हेर्छु, सबै नचिनेका मान्छेहरू अनि अधिकांश केटा मान्छेहरू। सबैका प्रोफाइल एक से एक।

दंग लाग्छ। सबैको निवेदन आँखा चिम्लेर स्वीकार गर्छु। अनि यसो फेसबुकको पानामा आएका कुराहरू हेर्दै जान्छु। मानिसले आफ्ना हरेक कुरा त्यहाँ छापेका हुँदा रैछन्। कतै यता र उता पोज दिएका फोटोहरू त कतै भिडियो। कतै घरको भान्छामा खाए पकाएदेखि रेस्टुरेन्टको ढोका छिरेर निस्किएसम्म। कतै कसैको होलिडेमा रमाइलो गरेको फोटो त कतै कोही होलिडेमा जान सुटकेस गुडाउँदै घरको ढोकाबाट निस्किएको फोटो।

कतै कोही कसैको जन्मदिनमा रमझम गर्दै त कतै विवाहको वार्षिक उत्सवमा मगन। अनि ती फोटा र भिडियोमा तल कमेन्ट, उनीहरुकै साथीहरूको। कति राम्री, ओ लभ योर ड्रेस, इन्जोय आदि इत्यादि। प्रायः केटी मान्छे नै थिए फोटो र भिडियो राख्ने अनि कमेन्ट चाहिँ केटाहरूले पनि दिएका।

सबै जना सिनेमाका सेलिब्रेटी जस्ता। हो रैछ, फेसबुक रमाइलो चिज, यत्रो समयसम्म एकाउन्ट नखोलेर ठूलो गल्ती गरेको रहेछु झैँ लाग्छ।

 म उत्सुकतापूर्ण फेसबुकमा छापिएका हरेक तस्बिर र भिडियो हेर्छु। फेसबुकको नोटिफिकेसन अर्थात सूचनामा टिङ रातो १ आउँछ । हत्त न पत्त क्लिक गरेर हेर्छु, एक जना साथीको छोराको पास्नीको भिडियो पोस्टको सूचना आएको रै’छ। कुन चाँहि ठाउँमा गरेको हो कुन्नि, त्यो ठाउँको सजिसजावट देखेर आँखा तिर्मिराउँछ।

कुनै सिनेमाको दृश्य भन्दा कम छैन यो, मैले सोचेँ। अझ भन्ने नै हो भने त हाम्रा नेपाली सिनेमाको दृश्यभन्दा हजारौ गुणा राम्रो र स्तरीय देखिन्छ यो ठाउँ अनि त्यहाँ आएका मानिसहरुका लुगा, हाउभाउ आदि इत्यादि।

आफ्नो मनमा भने यी चिन्नु न जान्नुका मान्छेको जीवन चर्या हेर्ने पनि कौतुहलता झन् बढ्दो छ। म भिडियो प्ले गर्छु। रंगीचंगी बत्तीहरुको झिलिमिली माझ एउटा सानो बच्चालाई एक हातले च्याप्दै अनि अर्को हातले श्रीमानको हात समाउँदै एउटा युवती र युबक डान्स फ्लोरमा प्रवेश गर्छन्। बिस्तारै मन्द गतिमा बजेको बाजा एकै चोटी चर्को आवाजमा बज्न थाल्छ। युवतिको काँधमा टाउको राखेर निदाईरहेको बालक झसंग भै बिउँझिन्छ र कोलाहाल रून थाल्छ। सायद बाजाको चर्को अवाज बीच कसैले बालकको रोएको आवाज सुन्दैनन्। दुई जना युगल जोडी बच्चालाई थम्थमाउँदै बलिउडका नायक नायिकाले गरेझै भावुक र रोमाञ्चित भएर आफ्नो नृत्य प्रस्तुत गर्छन्। काँधमा टाउको अडाएको बालक रूदा रूदै थाकेर फेरि त्यही निदाउँछ। म अनि झलक्क आफू सानो हुँदा भाइको पास्नी गरेको सम्झन्छु।

त्यतिखेर त पास्नीको धार्मिक महत्व थियो। आफ्ना नजिकका आफन्तलाई बोलाएर, मन्दिरमा पूजा पाठ गरि भगवानको दैलोमा, आमाको काखमा भाइलाई राखी खिर खान दिएको आजै जस्तो लाग्छ। जति आगन्तुक आए, मन्दिरमै आए। त्यही भाइलाई खिर खान दिएर टिका लगाई आशिर्वाद दिए।

त्यतिखेर पास्नीमा कहाँको यस्तो धुन्धानको फिल्मी पार्टी हुनू। भाइ थाकेर रून थाले पछि बच्चा धेरै थाकिसक्यो भनेर हजुरआमाले भाइ र आमालाई मन्दिरको अर्को कुनामा आराम गर्न पठाउनु भएको थियो। यसो त्यो भिडियोको बच्चा हेर्छु, सानोको आफ्नो भाइको झझल्का आउँछ। अनि छाति काटिन्छ, विचरा बच्चा रूँदा रूँदै त्यै सुत्यो भने झैँ लाग्छ।

भिडियो खुब राम्रो लाग्छ अनि सोच्छु यत्रो भड्किलो पार्टी खर्च पनि प्रसस्त भयो होला भनेर।

हुन त यो सबै के को लागि? यत्रो खर्च, तडक भडक के को लागि? यिनीहरू कुनै सेलिब्रेटी पनि त होइनन् जो सामाजिक दवावमा परेर यत्रो कार्यक्रमको आयोजना गर्न बाध्य भए।

अनि किन त यी सबै? के यो सबै देखाउनको लागि हो त? अनायास अचम्मको प्रश्नले मेरो दिमाख खल्बलाउँछ। बिचरा बच्चाले उसको नाममा गरेको यत्रो उत्सवमा के रमाइलो गर्यो त? मलाई अचम्म लाग्छ अनि फेरि आफैं सोच्छु, मलाई टाउको दुखाउनुपर्ने के जरूरि छ र म यी सबै सोचिरहेछु?

आफ्नो आफ्नो इच्छा हुन्छ अनि मानिस पुरा स्वतन्त्र हुन्छन् आफ्नो चाहना पुर्‍याउन, ब्यर्थै टाउको दुखाई रहेछु भन्ने सोची आफैंलाई गाली गर्दै कम्पुटर बन्द गर्छु।

यसैबिच मेरो फोनमा मेसेज आउँछ। मेरो १०.३० मा दाँत चेकको लागि रिमाइनडर भनेर। यसो भित्ताको घडी हेर्छु। ओहो! बिहानको दश बजिसकेछ। बिश्वासै गर्न सकिनँ कि मैले यत्रो ३, ४ घण्टा फेसबुकमा अरूको फोटो र भिडियो हेरेर बिताएछु। थुक्क के गरेको होला मैले, आफैंलाई गाली गर्दै हत्त न पत्त लुगा फेरेर डेन्टल क्लिनिक तिर लाग्छु।

क्लिनिक तिर त लागेँ। तर, मनमा भने एउटा स्मार्ट फोन किन्ने धुन जागिनै रहेको छ। क्लिनिकमा काम सकिएपछि म स्मार्ट फोन किन्न हिँड्छु। अब आइसा भन्दा त कम हुनु भएन, मनमा नजानिँदो प्रतिश्पर्दाको भाव जागेर आउँछ।

एउटा स्मार्ट फोन किन्न नसकेर यो खटारा हल्लाई रहेको पनि कहाँ हो र? म मेरो फोन हेर्छु। सधै राम्रो लाग्ने फोन आज कस्तो नराम्रो लाग्छ। हिजोसम्म यो फोनले मेरो सबै आवश्कता पुरा गरेको थियो। आज अनायास यो बेकामको भो। म फोनलाई ब्यागमा कोचेर आई फोनको स्टोरमा गई एउटा फोन किन्छु। हतार हतार घर गई फोनलाई सेट गर्छु, फेसबुक एप्स सबैभन्दा पहिले डाउनलोड गर्छु।

केही छिनको संघर्ष पछि मेरो फोन फेसबुक चलाउन योग्य हुन्छ। रमाइलो लाग्छ, यस्तो नौलो रमाइलो अनुभूति र उत्सुकता जीवनमा नआएको पनि निकै भएको थियो। गर्ब लाग्छ आफूदेखि आफैंलाई अब एकपटक फोन देखाउन मात्रै भए पनि आइसालाई भेट्न पाए पनि हुन्थ्यो भने झैँ लाग्छ। आइसालाई फोन गर्छु, ऊ आफ्नो योजना बदलेर आज फर्किन लागेकी रहिछ। ‘ल उता पुगे पछि खबर गर’ भन्दै म फोन राख्छु।

फेसबुकमा टिङ टिङ नोटिफिकेसन आईराख्छ। प्रत्येक नोटिफिकेसन उत्सुकताका साथ खोलेर हेर्छु। हेर्दा हेर्दै फेसुबका साथीका संख्या पनि यति भैसकेछ्की आफैंलाई अचम्म लाग्छ। यसै बीच एउटाको मेसेज आउँछ, दंग परेर खोलेर हेर्छु। निकै चिनेको झैँ गरि लेखेको रहेछ। कतै चिनेकै मान्छे त हैन भने झैँ पनि लाग्छ। तर, फोटो हेर्दा चिने जस्तो कतैबाट पनि लाग्दैन।

निकै राम्रो र सभ्य देखिन्थ्यो यो मानिस फोटोमा, अनि लेखाइ पनि सभ्य थियो। जवाफ दिउ कि नदिउ भन्ने दोधार गर्दा गर्दै म जवाफ लेखेर सेन्डमा पनि क्लिक गर्दिहाल्छु।

एक छिनमा उसले फेरि रिप्लाई गर्छ। यस्तै गर्दा गर्दै झन्डै एक घण्टा जस्तो कुरा गरिसकेछु। धेत अति भयो अब त भन्दै म फेसबुक बन्द गरेर फोन अर्को तिर राख्छु।

कोठामा सबै भद्रगोल छ। भान्छाको सिंक भरी कति दिन देखिको जुठो भाडाको खात छ। आजकाल अधिकांश समय फेसबुक मै बित्ने भएको छ।

गलत हो भन्ने बुझेर पनि मैले आफूलाई रोक्न सक्दिनँ। केही दिन भयो त्यो मान्छेको मेसेज पनि आएको छैन। चिन्नु न जान्नुको मान्छेसँग कुरा गरेपछि यस्तै हुन्छ, आफैंलाई गालि गर्छु। तर, मन दिवाना भैसकेको छ।

मन माथि आफ्नो नियन्त्रण नै नभए झैँ दिमागले एक चिज सोध्छ, मनले अर्कै गर्छ। अहिलेसम्म दस चोटी हेरिसकेँ होला, मेसेज गर्‍यो कि भनेर। आफैं केही लेखुकी झैँ पनि लाग्छ फेरि होस् भनेर म मेसेज गर्दिनँ।

आइसाले भने झैँ नसा रै’छ फेसबुक। आनन्दको थियो मेरो दुनियाँ तर अब म यी अन्जान मान्छेको दिनचर्या हेरेर घन्टौं बिताउँने भाछु अनि अन्जान मानिससँग कुरा गर्न नपाउँदा छटपटाइरहेछु।

आज एउटा चिनेको साथी मिकिताको पोस्टको नोटिफिकेसन आयो। यसो खोलेर हेर्छु त घरको छानाबाट खसेर विभत्स भै लडेको मानिसको अगाडि बसी सेल्फी खिचेर 'मेरी प्यारी साथी मधु तिम्रो आत्माले शान्ति पाओस्' भन्दै अनि रोएका इमोजिलहरू शब्द्को अन्तमा राखी फेसबुकमा हालेको।

मन खंग्रंग हुन्छ, आँखा अगाडि सबै अन्धकार देख्छु। मैले पनि चिनेको थिए मधुलाई। कति राम्री र मजाकी थिइ ऊ। मधुसँगको चिनाजानीदेखि सबै कुरा एक एक गरि टाउकोमा घुमेर आउँछ। यो खबरले मेरो मनमा ठूलो आघात पुर्‍याउँछ। के मिकितालाई साच्चै नै दुःख लागेको हो त? आफ्नै मिल्ने साथीमाथि यस्तो बिभत्स घटना घट्दा ऊ त्यहाँ अगाडी बसेर कुन मनले सेल्फी खिचिरहिछे?

मलाई ऊ माथि घृणा जागेर आउँछ। म त्यो फोटो हेर्न सक्दिनँ र फेसबुक बन्द गर्छु। मनमा एक किसिमको तनाब हुन्छ। मानिस कसरि यस्तो भावानाहिन, चिसो र निर्जीव भइरहेछ भने झैँ लाग्छ। त्यत्रो पीडामा पनि मानिसको दिमाखमा सेल्फी खिच्न कसरि आउँछ? म फेरि फेसबुक खोल्छु। त्यही पोस्ट सबै भन्दा माथि रै’छ। पोस्टको तल हेर्दा हेर्दै सयौं हार्दिक समबेदनाका सन्देशहरु आइसकेका।

मुख्य घटनास्थलमा यो ‘समवेदना’ लेख्नेहरु मध्यमा सायद एक जना पनि छैनन् होला। तर, मानिसले संवेदनाका सन्देश भने दिल खोलेर पोस्ट गरिरहेछन्। दुःख लाग्यो। मानिस कति सहजै समवेदना प्रकट गर्छन्। तर, त्यहाँ मधुको परिवारलाई गएर साच्चै सहयोग गरि सद्भावना र समवेदना देखाउनेहरू कति होलान्? म मन मनै सोच्छु। दुनियाँ कस्तो निर्जीव हुँदै गईरहेछ। मानबता कसरि मर्दै छ? मानिस आफ्नै स्वार्थ र खुसीको लागि कसरि भावनाहिन हुदैछ?

अनि फेरि सोच्छु कसरि त्यत्रो दुर्घटना भयो होला? षड्यन्त्र होला कि, दुर्घटना या आत्महत्या? यस्तै नाना भातिका सोचले मन खलबलिन्छ। बेकार फेसबुक खोलेछु जस्तो लाग्छ।

यस घटनाले मनमा नमिठो भावना भरिन्छ। फेसबुक खोलेर हेर्न मन लाग्दैन। थुप्रै नोटिफिकेसनहरु आइरहेका थिए। उसको मेसेज पनि आएछ। मन थाम्न सकिनँ, मेसेज हेरेँ। निकै भाबुक भएर लेखेको छ। 'तिमीसँग सम्पर्क राख्दिनँ अब भनेर केही दिन मेसेज नगरेको, मैले सकिनँ। हामी बिच के कनेक्सन छ यस्तो जसले मलाई तिमी पट्टि मात्रै तान्छ। तिमीसँग मात्रै कुरा गरिरहु झैँ लाग्छ।

यो २७ वर्षको एक्लो जीवनमा कोही आफूसँग नजिकिँदा मन भित्र अपार आनन्दको महसुस हुनु स्वाभाविकै हो।

अहिलेको व्यस्त समाजमा मानिसलाई जीवन साथी खोज्ने र भेट्ने पनि फुर्सद हुँदैन। हिजो जस्तो लाग्छ ब्याचलर डिग्री सिध्याएर काम गरेको अर्को महिना २७ पुरा भएर २८ लाग्छु। मान्छे गतिलो रै’छ भने त के भो र अब त दिगो सम्बन्ध जोड्ने उमेर पनि त भयो नि, म यस्तै सोच्छु।

मान्छे त राम्रै छ झैँ लाग्छ, उसको बारेमा अलि धेरै जान्न र बुझ्न मन लाग्छ तर कसरि? उसको बारेमा त खासै केही थाहै छैन। म उसको फेसबुकको प्रोफाइल फेरि हेर्छु। पहिले झैँ ऐले पनि उसको फेसबुकमा केही फोटोहरु छैनन्। कतै केही हेर्न मिल्दैन, सबै कुरामा हेर्न बन्चित गरिएको छ।

मनमा कता कता शंका पनि लाग्छ। कतै रोबटसँग त दिवाना भएकी छैन म?

मलाई उसँग भेट्न अथवा फोनमा कुरा गर्न मन लाग्छ। तर, ऊ न त बोल्ने चाहना देखाउँछ न त भेट्ने नै। खाली मेसेजमा कुरा गरेर मेरो मन बहलाउँछ।

अब त भएन आफैंले भेट्ने प्रपोज गर्नुपर्‍यो भनेर म उसलाई मेसेज गर्छु, कतै भेटौ भन्दै। अनि उसको जवाफको प्रतिक्षामा बस्छु। तर, धेरै दिन भयो उसको जवाफ आउँदैन। ऊ फेसबुकमा एक्टिभ पनि देखिदैन।

अचम्म लाग्छ, हिजोसम्म दिवाना थियो आज अचानक के भयो? मेसेन्जरमा ऊ र म बिचका कुराकानी सुरुदेखि अन्तसम्म सबै हेर्छु, कतै केही नराम्रो कुरा त गरिनँ भन्ने डर पनि लाग्छ। तर, मेरा भन्दा उसकै कुरा धेरै थियो मेसेजमा।

उसका भाबुक कुराहरु बिस्तारै अरूनै कुरामा परिणत हुँदै गइरहेका रहेछन्। अनायास आफैंलाई लाज लागेर आउँछ कि म कसरि उसका त्यस्ता त्यस्ता कुराहरुहरुमा सहभागी हुँदै गएकी रहेछु। धेत! हामी दुईले त कुरामा नै हद पार गरिसकेका रहेछौ झैँ लाग्छ।

छिः कसरि त्यस्तरी खुलेर कुरा गरे होला मैले? मलाई पनि के भएछ यस्तो? अर्को तिर सोच्दा आजसम्म जीवनमा यस्तो व्यक्तिगत कुरा कसैसँग गरेको थिइनँ, अनि आफैं सोच्छु सायद कनेक्सन भनेको यहि होला? जे भन्न पनि अफ्ठेरो नलाग्ने अनि जे पनि मनपर्ने।

धेरै दिन भइसक्यो उसको अत्तो पत्तो छैन, न त मेसेजको जवाफ नै। कन्ट्याक्ट गर्ने अरु कुनै उपाय पनि छैन। मेसेन्जरबाटै फोन गर्छु। तर, उसले उठाउँदैन। छक्क लाग्छ। फेरि उसको फेसबुक प्रोफाइल चेक गर्छु।

फेसबुकमा नयाँ एल्बम थपेको रै’छ। मैले खोलेर हेरेँ। जिउ जिरिङ्ग भयो। मन थरर काम्यो। हत्त न पत्त फोटो बन्द गरे। बिश्वासै लागेन त्यो ऊ थियो, उ त्यस्तो काम गर्छ? मैले कल्पना पनि गरेको थिइनँ। यो मानिसको होला? मनमा खुल्दुली हुन थाल्यो। यसो साझा साथीहरु को को छन भनेर खोज्छु, आइसा साथी रै’छ उसको पनि, दंग लाग्छ।

आइसालाई फोन गरेर यसको बारेमा सोधेँ, ऊ मरिमरि हाँस्न थाली, ‘तिमीलाई भनेन ऊ को भनेर?’

'अहँ,' मैले भने।

'त्यो मानिस सम्बन्ध जोड्नको लागि होइन, यसै रमाइलो कुरा गर्नको लागि मात्रै हो। तिमी हामी जस्ता एक्लाहरूको लागि रमाउने बाटो,' ऊ फेरि हाँसी।

म नबुझे झैँ गर्छु, उसले भन्छे, 'तिमी पनि यस्तो डम्ब छौ भन्ने थाहा थिएन। के म मुखै खोलेर एक्स्प्लेन गरौं तिमीलाई?' ऊ हाँस्छे। ‘यस्तो छाडा देसमा बसेर नि त्यति बुझ्दैनौ भन्ने चाहिँ म बिश्वास गर्दिनँ।'

मन भरंग हुन्छ, शब्द घाँटी मै रोकिन्छ, दिमाख शून्य भए झैँ हुन्छ। म केही बोल्नै सक्दिनँ। यस्तै देसमा बसे पनि म यी सबै कुराबाट टाढै छु।

'तिमी त त्योसँग सिरियस नै भयो कि के हो?' ऊ फेरि गलल्ल हाँस्छे।

म केही बोल्न नसकेर फोन राखिदिन्छु।

जीवनमा पहिलो पटक कसैलाई हृदयदेखि चाहेको त्यो पनि कस्तो निस्कियो, मन भित्र कता कता पीडा भए झैँ हुन्छ, कता कता मनमा नैराश्यता छाउन थाल्छ। त्यै पनि एकपटक उसैसँग फेरि कुरा गरेर सबै छिनोफानो गर्न मन लाग्छ। तर, त्यस दिनदेखि त्यो मानिससँग कहिले कन्ट्याक्ट हुन सकेन।

निकै पछिसम्म फेसबुकमा उसको बाटो हेरिरहेँ। कहिले अनलाइन आउँछ कि वा केही मेसेज पठायो कि भनेर आशा लागिरह्यो। नैराश्यताले निकै घेरेपछि, एकदिन अनायासै मनमा एक किसिमको सोचाइ आफैं आउँछ। एउटा बेकारको दुनियाँ लाग्छ फेसबुक जहाँ कसैलाई बिश्वास गर्न पनि डराउनुपर्ने, को आफ्नो को पराय छुट्याउनै गाह्रो हुने।

फेरि यो दुनियाँमा मानिस कति रमाएका? म पनि त कसरी हराएँ अनि रमाए यहाँ केही समयको लागि? सेलिब्रेटी, सामाजिक सञ्जालमा नाम भएका मानिसहरुको लागि त सोसियल मिडियाको फाइदा छ। तर, म जस्तो एउटा निजी जीवन रूचाउने मान्छेलाई त यसले के गर्‍यो? एउटा बेबकुफ मान्छे जस्तो बनायो?

खम्बामा ठोक्किएर र खाल्डोमा परेर लागेका घाउले हाम्रो शरीर कहाँ सग्लो छ र? (भिडियो सहित)

म आफ्नै जीवनमा खुसी रहेको मानिसको मन भित्र अनावश्यक प्रतिस्पर्धाको भाव भरिदियो। अनि फटाहा र अश्लिल मानिसको सम्पर्कमा ल्याइदियो। यो सोसियल मिडिया भनेको त मानसिक विकृति ल्याउने ठाउ झैँ लाग्छ।

झलक्क आफ्नै पुरानो सामसुङको मोबाइल सम्झन्छु, त्यै ठीक थियो मलाई। त्यसैमा खुसी थिएँ। म फेरि पुरानो मोबाइलमा नयाँ सिम कार्ड हालेर त्यही बोकेर हिड्छु।

मोबाइलमा सोसियल मिडिया नभएपछि बिस्तारै म यसको लतबाट मुक्त हुन्छु। अनि, जब जीवन फेरि त्यही पुरानो समय तालिकामा फर्कन्छ, मलाई महसुस हुन्छ कि मेरो जीवनको खास खुसी त त्यही रहेछ जुनदेखि म सधै असन्तुष्ट हुन्थेँ। बिना प्रतिश्पर्धा जीवन अघि बढाउँदा, कोही भन्दा पछि पर्छु कि भन्ने डर नै नहुने।

जब पछि पर्ने डर हुँदैन तब लाग्न थाल्छ आफू सधै अघि नै छु। अनि खुसी पनि त्यही छ। अनि मलाई लाग्छ मेरो  आफ्नै दुनियाँ राम्रो रै’छ, फेसबुकको दुनियाँ भन्दा।

Comments

नयाँ पत्रिका
काठमाडौं प्रेस
महेश क्षितिज
राजेन्द्र पराजुली