श्रीमान् विदेशमा बेपत्ता भएपछि बदलिएको कल्पनाको जिन्दगी (भिडियोसहित)

तस्बिरः बिएल

 महिलाको सफलताको कथा-४ 

२०३४ सालमा बिहे हुँदा उनको उमेर थियो, १३ वर्ष मात्र। लाहुरे परिवारमा जन्मिएकी उनी निकै सुखसयलमा हुर्किएकी थिइन। ऊ बेला चलनै थियो, सानोमा बिहे गर्ने।

त्यसैले पाँचथरस्थित थर्पु नगरपालिका घर भएका ब्रिटिश–गोर्खा लाहुरे सुभानसिंह लिम्बुले ८ सन्तानमध्ये आफ्नो साइली छोरीको बिहे कक्षा ७ पढ्दा पढ्दै गरिदिए।

बिहे गर्दा एउटा सर्त थियो। बिहे पश्चात पनि पढाईंलाई निरन्तरता दिलाउँने। तर, बिहे गरेर अर्काको घर गएपछि के को पढ्न पाउने? उनको जीवन नै नर्क बन्यो। चुलोचौकामै दिन बित्थ्यो। 

श्रीमान् असाध्यै बिलासी। काम केही नगर्ने। घरमै बसेर पुस्तैनी सम्पत्तिमा ऐस आराम गर्ने। यस्तो अवस्थामा पैत्रीक सम्पत्तिले मात्र कति दिन पुग्थ्यो र?

घरको अवस्था बिग्रिदै गयो। उनले आफन्तसँग ऋणपान गर्दै ४ लाख रुपैयाँ जुटाएर श्रीमानलाई २०४७ सालमा युरोप पठाइन्।

विदेश पुगेको श्रीमान उतै हरायो। उनको सारा सपना चकनाचुर भयो। काखमा रहेको छोराछोरी बोकेर उनले आफ्नो श्रीमानलाई खोज्ने प्रयास नगरेकी होइनन्।

तर अहँ! कत्तैबाट केही पत्ता लागेन।

यसपछि हार खाएकी उनले गाउँमै भैसी पालेर दुध बेच्ने व्यवसाय अंगालिन्। परिवार पाल्न उनी गाउँमा सस्तोमा धान किन्थिन् र २–४ रुपैयाँ महंगोमा बजारमा बेच्थिन्।

आफूले राम्रोसँग पढ्न नपाएपनि उनको दिमागमा थियो, छोराछोरीलाई भने उच्च शिक्षा दिने। यही कारण उनी २०४८ सालमा एक्कासी काठमाडौं हानिइन्।

काठमाडौंमा उनको बसाइँ सुरुवातमा सोचे जस्तो सहज हुन सकेन। निकै दुःख पाइन्। त्यति बेला काठमाडौंमा गलैंचा उद्योग निकैं फस्टाएको थियो।

अन्ततः उनले एउटा सहकारीबाट १५ हजार ऋण लिएर आफ्नै व्यवसाय सुरु गर्ने सोच बनाइन्। र, यसका लागि हाते तान नै किन्न भ्याइन्। यसपछि भने उनको जीवनले गति लियो।

कल्पना लिम्बु, ६३। नेपालको सफल महिला उद्यमी। जसको व्यवसाय देखेर अहिले मै हूँ भन्ने पनि लोभिने गरेका छन्। उनको सघंर्षको कथा कुनै पनि महिलाका लागि उत्प्रेरित बन्ने गरेको छ। 

मिहिनेत गरे के असम्भव छ? यसको पर्यायवाची नै बनेकी छिन, यति बेला उनी। तर, उनको सफलताभित्र कति दुःख गुम्सिएको छ, त्यो धेरै कमलाई मात्र थाहा छ। भन्छिन्, ‘हरेक सफल महिलाको पछाडि असफलताको लामो कथा लुकेको हुन्छ।’

 महिलाको सफलताको कथा-३ 

कल्पना यति बेला देशको एक मात्र ढाका विशेषज्ञ हुन्। उनले २०६४ सालमा ‘द हाईल्याण्ड आर्ट’ नामक कम्पनि स्थापना गरेकी थिइन्। जसको चर्चा अहिले देशभित्र मात्र होइन, विदेशमा पनि हुने गरेको छ। उनको ख्याति चौतर्फी छ।

सानोमा उनी आमालाई सघाउन आडैमा बसेर हाते तान चलाउँथिन्। लहलहैमा सिकेको त्यो सीपले कालान्तरमा उनलाई गरिखाने बाटो पहिल्यायो।

लिम्बु समुदायको प्रचलित देउता हो, युमा। लिम्बुहरूले आफ्नो आराध्य देवलाई पुजा गर्दा तानबाट बुनेको लुगा चढाउने प्रचलन छ।

भनिन्छ, लिम्बु समुदायलाई परापूर्व कालमा तान बुन्न यिनै देउताले सिकाएकी थिइन् रे। त्यसैले होला, अहिले पनि यो समुदायको हरेक घरमा २ वटा सम्म हाते तान हुने गर्छ।

‘आमाको कोखमा बसेर उति बेला तान बुन्न सिकेँ। त्यसैले सडकमा आउनु परेन,’ उनले हरेक साता सोमबार बीएल नेपाली सेवामा आउने ‘सफल महिला उद्यमीको कथा’ शीर्षकमा भनिन्, ‘तान बुन्नुअगाडि जति व्यवसाय गरे ती सबै घाटामा गए। तर पनि बच्चा देखिको रुचिको विषय भएको र केही गरेरै छाड्छु भन्ने अठोटले गर्दा सम्भव भयो।’

 काठमाडौंमा सुरुवातको दिन उनी २१ घण्टा काम गर्थिन्। ‘सुत्ने समय ३ घण्टा मात्र थियो, मसँग’, विगत सम्झिँदा अझैं भक्कानीने कल्पना भन्छिन्, ‘मिहिनेतको फल मिठै हुन्छ।’

कल्पनाले सन् २०१४ मा सिटिभिटीबाट १० हजार घण्टाको तालिम लिएपछि उनी नेपालको पहिलो ढाकाबिद् बन्न सफल भइन्।

 महिलाको सफलताको कथा-२ 

उनी ढाकाको अनुसन्धानको लागि भनेर ३३ राष्ट्र पुगिसकेकी छिन्। उनको ढाका फयाक्ट्रिमा हाल २ सय जनाले रोजगारी पाएका छन्।

काठमाडौंको गोकर्णलगायत विभिन्न स्थानमा उनको फ्याक्ट्री छ। उनको फ्याक्ट्रीमा ढाका बुनेर २५ देखि ५० हजारसम्म मासिक तलब खाने थुप्रै नेपाली चेलीहरू छन्।

विश्वका हरेक देशमा उनको कम्पनीको ढाका पुगेको छ। नेपालका प्रसिद्ध कलाकारदेखि उच्च तहका व्यक्तिसम्म उनको कम्पनीमा ढाकाको डिजाईन खोज्न आउँछन्।

उनी नेपालको ढाकालाई अन्तर्राष्ट्रियकरण गर्ने व्यवसायी पनि हुन्। हाल उनी प्रत्येक प्रदेशमा पुगेर त्यहाँका स्थानीयलाई ढाका बुन्ने तालिम दिने अभियानमा जुटेकी छिन्।

 महिलाको सफलताको कथा-१ 

उनको अबको लक्ष्य हो, आफूले सिकेको सीप हजारौं नेपालीलाई बाँड्ने। भन्छिन्, ‘सानोमा आमासँग सिकेको एउटा सीपले गर्दा दुःखमा पनि मैले संयमता गुमाइन्। यसैले मलाई स्थापित गरायो।’

उनी नेपाली दिदीबहिनीलाई सीप सिक्न सल्लाह दिन्छिन् र दुःखमा पनि संयमता नगुमाउन आग्रह गर्छिन्। ‘महिला मात्र होइन, पुरुषले पनि यी दुई कुरालाई अनुसरण गर्‍यो भने जीवन सफल हुन्छ,’ उनले छुट्टिन लाग्दा आफ्नो गुरुमन्त्र बताइन्।

Comments

नयाँ पत्रिका
काठमाडौं प्रेस
महेश क्षितिज
राजेन्द्र पराजुली