पोल्याण्डले पोलेको 'रत्नेदाइ'को सपना

पोल्याण्डले पोलेको 'रत्नेदाइ'को  सपना । एक प्रतिकात्मक तस्बिर : ब्रेक एन लिंक्स ग्राफिक्स ।

नमरी स्वर्ग देखिदैन- नेपालीमा चलेको एउटा उखान आज पनि ठ्याक्कै लागु हुन्छ । अपवादलाई छोडेर कोही पनि नेपाली आफैं नपरी पत्याउनेवाला छैन । अझ विदेशमा त्यसमाथि पनि युरोप, अमेरिका, जापान, अस्ट्रेलियाको यथार्थ त कसैलाई सुनायो भने पनि सुन्नेवाला छैन । नेपालमा सबैको एउटै सोचाइ छ- त्यहाँ पैसा कमाउन सजिलो छ । काम सजिलै पाइन्छ, कमाइ सजिलै हुन्छ । छिर्न मात्र पाए रातारात सबथोक हुन्छ ।' 

त्यस्तै सोच लिएर नेपाली विदेसिने क्रम जारी छ । त्यस्तै सोचका एक प्रतिनिधि पात्र हुन् रत्नेदाई ।उनी केही वर्ष दुवईमा बसे । केही कमाए र नेपाल फर्के। पोखरामा व्यावसाय सुरू गरे । घरभाडा तिरेर,छोराछोरी पढाएर महिनाको ३०/३५ हजार वैकमा जम्मा गरिरहेकै थिए । व्यवसाय चोकमै थियो । 'रत्ने' भनेपछि सबैले चिन्थे । उनको जिन्दगीको रफ्तार अलिअलि हैन, मज्जैले चलिरहेको थियो । 

यतिकैमा कसले के लगाइ दियो कुन्नि । उनलाई युरोपको भुतले नराम्री छोयो । उनी जसरी पनि युरोप नगई नछोड्ने भए । साथीभाइले युरोपको दु:खकष्ट सुनाउँदा उनले आफुले कमायो अनि म आएर कमाउँछ भनेर यस्तो भन्छ सम्म पनि भन्न भ्याए ।

युरोपको भूत भडेपछि भएको पसल पनि कौडीको भाउमा बेचिदिए । नौलाख एजेन्टलाई थमाएर वर्किङ भिसा (डी-भिसा) मा उनी पोल्यान्ड आउने भए ।

पोल्याण्ड उड्ने क्रममा पोखरावाट काठमाडौं जाँदा उनले आफ्ना रंगीन सपना श्रीमतीसँग बाँडे । तिनै सपनाको चाङ लगाएर उडेका उनले केही समयमै पोल्यान्डमा श्रीमती र परिवारसँग मधुर मिलन हुने सपना पनि थपे । 

पोल्याण्डको राजधानी वार्साबाट ३ घण्टाको गाडीमा पुगिने ठाउँमा उनी काममा लागे । रातको ३ वजे उठेर काममा जानु पर्थ्यो । काम थियो- ठुल्ठुला टर्कीको भित्री भाग सफा गर्ने । 

काम त गर्थे नै । तलव भने घण्टाको ३ युरोभन्दा पनि थोरै थियो । त्यसमाथि पनि तनाव खपिनसक्नु थियो । सहर बजार नै देख्न नपाइने त्यो ठाउँमा कार्ड बन्ने त कुरै सम्भावना नै थिएन । एक किसिमको श्रमशिविरमा बसजस्तै अवस्था थियो ।  खाना ङमा एक ठूलो कप सुप त्योबाहेक केही छैन ।

एक दिन एजेन्टलाई फोन गरेर भने- 'मलाई ४ लाख मात्र फिर्ता दिनु, म फर्किन्छु ।'  एजेन्टले जवाफ दियो- 'असम्भव ।'यो जवाफले उनलाई निरास मात्र हैन, हतास नै बनायो । 

त्यसपछि उनले मनमनै पोर्चुगल जाने योजना बनाए । अनि रत्नेदाइ पनि केही नेपालीसँग जर्मन हुदै पोर्चुगल हानिएछन् ।

जति पनि नेपाली पोल्याण्ड आउँछन्, उनीहरु प्रायश: पोर्चुगल नै आउँछन् । उनीहरू यहाँका फिनान्स अफिस, सोसियल अफीसमा भेटिन्छन् । 

पोर्चुगलको लारेन्न्जाईरस फिनान्स अफिसमा लामो लाइन थियो । मोटो मोटो अधवैसे एकजना नेपाली फोन गर्दैरहेछन् - 'हेलो.. हेलो... म पोर्चुगलमा।'

हामी नजिकै गयौ । उनीसँग परिचय भयो । उनको कथा पनि लगभग रत्नेदाइको जस्तै रहेछ । उनले थपे- 'कति सपना बोकेर युरोप आइयो । बल्ल फिनान्सा भन्ने भरियो । त्यसपछि सोसियल रे, काम कन्ट्राक्ट रे, सेफ-इन्ट्री रे । के के हो  के ? ४० काटेको म ४० काटेसी रमाउला होइन, चालीस काटेसी हन्डर खाउलाजस्तै भयो । उनी थप्दै थिए ।

यतिकैमा रत्ने दाइको फोनको रिङ बज्यो । नेपालबाट श्रीमतीले फोन गरेकी रहिछन् ।  शायद श्रीमतीले भनिन् होला- 'बूढा, तिज आयो, तिज मनाउँन एक महिनाको तलव पठाइदिनु ।' उनले मलिन स्वरमा श्रीमतीलाई यस्तो जवाफ दिए- 'बूढी, हाम्रो सपना सपनामै सिमीत होला जस्तो छ । बाँकि कुरा म नेटको सिम हालेपछि इमोमा भन्छु ।'

यति भन्दै फोन काटे । अनि हामीसँग हाँसो र पीडामिश्रीत भावमा भने- 'भाइ, पोल्याण्डले पोलेको यो सपना कहिले पलाउला र फलाउला ?

म नाजवाफ भए । छुट्टिने बेलामा मैले भने-  'दाजु नआत्तिनुहोस्, सवै ठीक हुन्छ ।' 
त्यसपछि दाजु मेट्रो चढ़े,  म बस ।

अनि, हिजोआज म सोच्छु- 'दाजुले त्यसै भनेका हैन रहेछन्- पोल्यान्डले पोलेको सपना । '

Comments

राजेन्द्र पराजुली