तस्बिरः बीएल

मलाई सानैदेखि मानिसभन्दा जनावर मनपर्छ। त्यसमा पनि कुकुर मेरो प्रिय हो। भनिन्छ, मानिस भगवानको उत्कृष्टतम् सृजना हो। तर, सबैभन्दा निष्कृस्ट काम पनि स्वयम् मानिसले नै गरेका छन्। यसको लागि तथ्यांकको आवश्यकता पर्दैन।

मानिसले महान कर्म गरेका छन्। तर, बेइमानी पनि मान्छेले नै गरेका छन्। प्रकृतिलगायत अन्य प्राणि बेइमान हुँदैनन्।

कुकुर मेरो प्रिय प्राणी हो। कुकुरको मानव प्रेम, स्वामी भक्ति, इमान्दारीको बारेमा थाहा नहुने सायदै कोही होला।

केही दिन अगाडिको कुरा हो, अस्ट्रेलियामा रहेको मेरो कान्छो भाइले लामो ईमेल गर्‍यो उसले ईमेलको विषयमा  लेखेको थियो,‘बक्सरनामा।’

मलाई थाहा थियो ‘बक्सर’ मेरो भाइले पालेको कुकुरको नाम हो। बक्सरनामा भन्ने शब्दले  कौतुहलता पैदा गरायो। बक्सरनामा भनेर मलाई किन मेल गरेछ? म अलि अन्योलमा परेँ। मेल खोल्ने बित्तिकै सुरूवाती केही हरफनै हृदयस्पर्सी थिए।

‘दाजु  म पेशाले ईन्जिनियर, सब्दसँग खेल्न जान्दिनँ।  कतिपयले मलाई टेक्निकल्ली सोच्छ, भावना र मनका कुरा बुझ्दैनसमेत भन्छन्। यसमा मेरो भन्नु केही छैन।  भन्नेको केनै जान्छ र?  म त्यसको जवाफ दिन चाहन्नँ।     तर, मनको उकुसमुकुस हजुरसामू राख्न चाहन्छु। किनकि, हजुरले भन्दै आउनुभएको छ, मेरो जीवननै मेरो पढाई  हो। मलाई लाग्छ मेरो जीवनको एउटा यस्तो पाटो जो मैले सबैबाट  छुपाएर राखेको थिएँ, हजुरले पढी दिनुहुनेछ।’

मेरो उत्सुकता झनै बढ्दै गयो। म पढ्दै गएँ। बक्सर जसलाई मैले जर्मनसेफर्डको बच्चा सोचेको थिएँ तर, एक लावारिस कुकुरको सन्तान रहेछ।

मेरो भाइले लेखेको थियो, ‘म लामो बेलायत बसाइपछि परिवारसहित नेपाल फर्किएको थिएँ। नेपालमा बसेर देशका लागि केही गर्छु भन्ने जोशका साथ हामी फर्किएका थियौं। म नोकरीको खोजीमा थिएँ। बेलायतमा कमाएको पैसाले किनेको घरबाहेक हामीसँग केही थिएन। दिनभरी नोकरीका लागि चाकडी, चाप्लुसी, बिन्ति, अनुनय, बिनयको भद्दा नाटक गरेर म थकित भएर घर फर्कदै थिएँ।

बालकुमारी पुलबाट भित्र जाने गल्लीमा एउटा कुकुर आफ्ना पाँच छाउराका साथ हिँडीरहेकी थिइ। धुलाम्मे  गल्लीमा अन्य कुकुर उसलाई देखेर भुक्दै थिए। ठेलावाला र पसलेहरू छिः छिः दुरदुर गर्दै थिए।

मलाई  के भयो कुन्नि, आँखाबाट अश्रुधारा बग्न थाले।  आफ्नो दुई जनाको परिवार पाल्न धौधौ भएको बेला पाँच छाउरा र उनकी आमालाई घर लगेर पाल्ने ल्यागत ममा थिएन। भगवानसँग माफी मागेँ। एउटा बच्चालाई उसकी आमाबाट टाढा गर्नुपरेकोमा। म पाँच मध्येको सबैभन्दा दुब्लो र पातलो छाउरा लिएर घर फर्किएँ।

नोकरी खोज्न गएको पति एउटा लिखुरे छाउरा लिएर घर आएपछि, मेरी श्रीमतिको आँखामा विश्मय देखिनु स्वभाविक थियो। तर, त्यो छाउरा साथीकोबाट ल्याएको भनेपछि पछि उनको त्यो विश्मय मुस्कानमा परिणत हुन समय लागेन।

म चाहन्थेँ उसलाई कसैले हेयको दृष्टिले नहेरोस्। दुवै जनाले उसको नामकरण पनि त्यतीखेरै गर्‍यौं- ‘बक्सर।’

नामाकरणसँगै मासुभात दिएर अन्नप्रशन पनि गर्‍यौं।   चिसो हुन्छ कि, भनेर आफ्नो टी-सर्ट उसलाई लगादिएँ। उसलाई पौष्टिक आहार दिन थाल्यौं। कुखुराको टाउको र खुट्टा उसको मनपर्ने नियमित आहार बन्यो। खसीको मासुमा उसले रूचि देखाएन।

लगतै भेटनरी डाक्टरलाई देखायौं।  खोप इत्यादि लागाइयो। हेर्दा हेर्दै नामझैँ बक्सर पनि तगडा हुँदै गयो।  उसको भुकाइमा बाघको गर्जन थियो।

घरमा आउने आफन्तलाई अंकमाल गर्न जान्थ्यो, यति बेगमा जान्थ्यो कि, कति पए त लड्थे। अलि चकचके पनि थियो। चप्पल टोपी लिएर भाग्थ्यो। मैले लट्ठी देखाएपछि मात्र डराउँथ्यो।

‘केही समयपछि श्रीमति पढाइ गर्न थालिन्। मैले पनि करारमा नोकरी पाएँ। बिहानै बक्सरलाई ख्वाएर हामी आ-आफ्नो काममा निस्किन्थ्यौं। साँझ मात्र घर पुग्थ्यौं। ऊ हाम्रो प्रतिक्षामा बेग्रताका साथ गेटमा हुन्थ्यो।

बक्सर दिनभर घरमा एक्लै हुनथाल्यो। मर्निङवाकमा लैजान सुरू गरेँ। ऊ अरू कुकुरप्रति आक्रामक हुन थाल्यो। वाकमा जाँदा मलाई नै तान्थ्यो। घरमै खुसी देखेपछि मैले उसलाई मर्निङवाक लैजान बन्द गरेँ।

ऊ एउटा कमिलालाई पनि घर भित्र छिर्न दिँदैनथियो। केही दिनपछि एउटा गितार किनेँ। मैले आँगनमा बसेर गितार बजाउँदा बक्सर नजिक आएर बस्थ्यो।

मेरो बेसुरा आवाज मन पराउने सायद एउटा ऊ मात्रै थियो। जब म ‘फूलै फूल मात्र पनि, होइन रहेछ जीवन...’ भन्ने गीत गाउथेँ, ऊ मेरो आँखामा हेर्थ्यो। मलाई थाहा  थिएन ऊ यसो किन गर्थ्यो। तर, उसको यो हरकतले मेरो ईश्वरप्रतिको आस्था प्रगाढ़ हुँदै गयो। बक्सर घर र घरको पर्खाल भित्र नै रमाउन थाल्यो। यो नै उसको दुनियाँ थियो।

एक पटक काकाको घरमा पार्टी थियो। बक्सरलाई पनि लिएर गएका थियौं, राति उतै बस्ने भइयो। तर, बक्सरले त्यहाँ बस्नै मानेन। त्यसपछि उसलाई घरमा छोडेर पुनः काकाको घरमा फर्कियौं।

घर पुग्दा उसको आँखामा  जुन चमक थियो त्यसलाई शब्द या चित्रमा बयान गर्न सकिन्न। केवल महसुस गर्न सकिन्थ्यो। वास्तवमा त्यो घर बक्सरको थियो।

नेपालमा बसेर देशको सानै रूपमा भए पनि सेवा गर्छु भन्ने जुन अठोटका साथ हामी स्वदेश फर्किएका थियौं, त्यो घडी को सुइसँगै कम्जोर हुँदै गइरहेको थियो। जुन माटोलाई म माया गर्थेँ। त्यहाँ बाच्ने कला या तिकडम् हामीमा थिएन।

मेरो अठोटमा कुनै दम थिएन। अठोट टुटेर हार्नुभन्दा पहिले हामी दुई श्रीमान श्रीमतीले देश छोड्ने निर्णय गर्‍यौं। तर, बक्सरबाट टाढा  हुन चाहन्न  थियौं। साथमा लगेर जाने सम्भावना पनि थिएन। मन भतभती पोल्यो। 

बाध्यता पनि थियो यहाँको नोकरी कहिले जाने ठेगान थिएन। नेपालमा बसेर बक्सरलाई उचित आहार पनि दिन सक्ने अवस्था नहुन सक्थ्यो। त्यसैले बक्सरलाई ठूलो दाजु र भाउजुको जिम्मा लगाएर हामीले बिदेसिने तयारी  गर्‍यौ। म अलि ‘प्रग्म्याटिक’ भएर होला ममा भावना छैन भनेको।

दाजु हजुरले मैले नेपाल छोड्दा बक्सरलाई अंकमाल गरेको फोटो फेसबुकमा हाल्नु भएको रहेछ। म आज भन्छु-  मैले  त्यति बेला रोएर भनेको थिएँ, बक्सर मेरो भाइ मलाई माफ गर्नू, तलाई  छोडेर  जाने मलाई एक रति मन छैन। तलाई  थाहा  छ, अरूलाई कुल्चेर हिँड्ने यो देशमा म तेरो पनि हेरचाह ठिकसँग गर्न सक्नेछैन। म तलाई भेट्न बारबार आउनेछु मेरो भाइ।  यो देश मा मैले  भेटेको एउटा मात्र सच्चा साथी त मात्र होस्।

बक्सरलाई अंकमाल गरेपछि म पछाडि फर्किनँ, म उसको आँखामा आँसु देख्न सक्दैनथेँ। सिधै  एरपोर्ट लाग्यौं।

दुई वर्ष बितिसकेछ। मैले बक्सरलाई भेटेको छैन।  आखिर मान्छे जो हुँ । ठूलो दाजु भाउजुसँग स्काइपमा कुरा गर्दा बक्सर कान ठाडो पारेर मलाई सुन्छ र हेर्छ। अनि रिसाए झैँ गरि बाहिर जान्छ। केही महिना पहिले ममीसँग बक्सरका लागि ज्याकेट र खाने कुरा पठाएको    थिएँ। दाजुले भने अनुसार बक्सरले केही दिन त मैले पठाएको सामान हेरि मात्र रह्यो। आँखाभरि आँसु लिएर।

म छिट्टै बक्सरलाई भेट्न नेपाल जादैछु। अनि अंकमाल गर्नेछु। दाजु म इन्जिनियर जरूर हुँ, तर त्यो भन्दा माथि ‘बेजुबान’ हरू को भाषा बुझ्ने एउटा मन भएको साथी पनि हुँ।

मेरो भाइको ई-मेल अंग्रेजीमा थियो। पढ्न र बुझ्न मलाई केही समय लाग्यो। मैले तुरून्त नेपालमा दाजुलाई फोन गरेँ। बक्सरको हालचाल सोधेँ। दाजुले के भन्नु त्यो झन् अप्रत्यासित र अद्भूत थियो।

‘बक्सर इज मै चाइल्ड।  हि इज अ जेन्टल म्यान’, उहाँले भन्नुभयो,’ मेरी छोरीले आँखा घोची दिँदा पनि केही गर्दैन। छोरीले बक्क भनेर बोलाउँदा खुरक्क आउँछ।  मलाई  बिसन्चो भए, मेरो खाटको छेउमा धर्ना दिन्छ।

केही समय पहिले एउटा भाइको जिम्मा लगाएर हामी स-परिवार १० दिनका लागि मुम्बई गएका थियौं। ती दस दिनमा उसले खाना त के पानी पनि पिएन रे।

गेटमा बसेर आँसु झारीरहन्थ्यो। छिमेकी आण्टीले  भावुक हुँदै हामीलाई सुनाउनु भयो। यी सब कुरा सुनेपछि हामीले बक्सरलाइ छोडेर कहिँ नजाने निधो गर्‍यौ।

बक्सर कुकुर होइन तपस्वी हो। जो हाम्रो यादमा अन्न, जल सबै त्याग्छ। जो हामीलाई देखेपछि सजातिय कुकुरको साथ पनि खोज्दैन। जो ब्रह्मचार्यको पालन गर्छ। जसको लागी यो घर मन्दिर हो। त्यो तपस्वी नभई के हो? दाजुले भन्नु भयो।

म केही बोलिनँ। फोन राखेँ। दाजुका शब्द दोहर्‍याएँ। ‘बक्सर कुकुर होइन तपस्वी हो।’

Comments

राजेन्द्र पराजुली