नेकपा एकताका सम्भावित काला बादलहरु

तस्बिरः बिएल

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएको पन्ध्रौं महिनामा गत शुक्रबार एकीकृत नेपाल कम्युनिष्ट पार्टीको ९ सदस्यीय शक्तिशाली सचिवालयले विभागहरुको नेतृत्व सम्बन्धी महत्वपूर्ण निर्णयहरु गर्‍यो।

अझै एकताले पूर्णता पाउन बाँकि भए पनि शुक्रबारको निर्णय किन महत्वपूर्ण मानिएको छ भने, बैठकले केही महिनादेखि निकै चर्चामा रहेको र नेताहरुलाई दुई खेमामा बिभाजित गरेको पार्टी स्कुल बिभागको नेतृत्व सचिवाल सदस्य तथा उपप्रधान र रक्षामन्त्री ईश्वर पोखरेललाई जिम्मा लगाएको छ।

अरू बिभागहरुको पनि  नेतृत्व टुङ्गो लगाएको बैठकले आकस्मिक रूपमा विधानमा नभएको उपाध्यक्ष पद बामदेव गौतमलाई दिने प्रस्ताव राखेको छ, जसलाई छिटै बस्ने भनिएको स्थायी कमिटीको बैठकले अनुमोदन गर्नुपर्नेछ।

यति लामो समय एकताको कामलाई अड्काएको पार्टी स्कुल बिभागसहित अरु बिभागको निर्णय अहिले कसरी हुनसक्यो भन्नेसहित नेताहरुको समिकरणमा आएका परिवर्तनबारे अहिले राजनीतिक बजारमा चर्चा र विश्लेषण जारी छ।

यही बीचमा नेकपाका एक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार राजधानीमा आयोजित एउटा कार्यक्रममा भने,  ‘कम्युनिष्ट पार्टी एकीकृत गर्‍यौं, कहिले काहिँ लाग्छ, यो नगरेको भए बरु केही न केही बिकल्प बाँकि रहन्थ्यो कि, एकता गरेर बिकल्प सक्यौ कि भन्ने पनि लाग्छ।’

यति लामो समय अड्किएको बिभाग प्रमुखको विवाद प्रचण्ड र अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीबीचको सहमतिले निप्टारा भएर नेकपा एकता निर्विघ्न अघि बढ्ने विश्वास पार्टीका नेता/कार्यकर्ताले गरिरहेको बेला प्रचण्डबाट आएको यो भनाईले धेरै प्रश्नहरु उब्जाएको छ।

त्यसो भए, के एकीकृत पार्टीबाट प्रचण्ड सन्तुष्ट छैनन्? शुक्रबारको निर्णय उनले नचाहँदा नचाहँदै भएको हो? दुई पार्टीबीचको गठवन्धनले निर्वाचनमा ठूलो बहुमत ल्याएको तथा दुई पार्टी एकीकरण भएपछि सरकार नहल्लिने अवस्था आएको उनलाई चित्त बुझेको छैन? यीसहित अनेक प्रश्नहरू उनको पछिल्लो भनाईले जन्माएका छन्। पछिल्लो केही समय यता उनले यस्तै अनेक प्रसङ्ग उठाउने गरेकाले उनको यो भनाईलाई पनि त्यसैगरी हल्का रूपमा हेर्नुपर्ने केहीको भनाई छ। अनि केही उनका समर्थक चाहिँ त्यही कार्यक्रममा प्रचण्डले ‘हेर्दै जानुहोला, सुदृढ एकतासहित राष्ट्रलाई हाक्ने पार्टी बनाउँछौं’ भनेको प्रसङ्गले उनको अघिल्लो भनाईलाई छोप्ने धारणा राख्छन्।

के हो, निर्णयको अर्थ

कुनै विवाद छैन कि, पार्टी स्कुल बिभाग प्रमुखको बिबाद नेकपाका धेरै नेताहरुका लागि प्रतिष्ठाको विषय बनेको थियो। यस्तोमा, जुनसुकै निर्णय हुँदा पनि एउटा पक्ष जितेको तथा अर्को पक्ष हारेको अर्थ लाग्थ्यो। पूर्व दुई पार्टीका नेता र कार्यकर्ताबीच भावनात्मक एकता हुन अझै बाँकि रहेको बेला पराजित पक्ष विचलित हुनसक्थ्यो र बिबादको दिगो बिउ रोपिन सक्थ्यो। सचिवालय बैठकमा यो एजेण्डा पहिलो पटक प्रवेश गरेको नेताहरुले बताए पनि निकै बैठक यही विषयमा दुई अध्यक्ष तथा अरु नेताहरुबीच सहमति नबन्दा स्थगित भएका वा कुनै निर्णय नभई टुङ्गिएका सार्वजनिक नै थियो।

यस्तोमा दुवै अध्यक्षको सहमतिमै यो प्रस्ताव ल्याइएको बताइयो र प्रस्ताव पनि सर्वसम्मतिले नै पारित गरियो। जसले, एक पक्ष जितेको तथा अर्को पक्ष हारेको सन्देश गएन। पार्टी एकतालाई पूरा गर्ने हिसाबले हेर्दा यो दुई अध्यक्ष तथा अरु नेताहरुले देखाएको परिपक्कता थियो।

संसदमा नेकपाको झण्डै दुई तिहाई बहुमत रहेको तथा उसको एकता मुलुकमा राजनीतिक स्थिरताका लागि अनिवार्य हुने भएकाले अहिले नेकपाको एकता उसका नेता, कार्यकर्ता र समर्थकको मात्र चासो विषय होइन। 

नेकपाको एकतामा व्यवधान हुँदा सत्तारुढ पार्टी, त्यसका एक अध्यक्ष प्रधानमन्त्री तथा मन्त्रीहरुको पनि ध्यान राज्य सञ्चालनको साटो पार्टी विवादमा लाग्ने भयो।

जसले गर्दा, राज्य संचालनका काममा वाधा पुग्ने भयो र मुलुकले चाहेको तीब्र विकासमा व्यवधान पुग्ने भयो। यस हिसाबले अहिले नेकपाको एकता सम्पन्न नहुनु, त्यसमा बिबाद हुनु भनेको नेकपाका नेता/कार्यकर्ता मात्र नभएर आम नेपालीको चिन्ताको विषय बन्न पुगेको हो।

त्यसो भए, नेकपा सचिवालयको शुक्रबारको बैठकले सबै बिबाद समाधान गरेर अब बिबाद आउने बाटो समेत समाप्त पारेको हो त? शुक्रबारको बैठकले सबैभन्दा बिबादस्पद बनेको पार्टी स्कुल बिभागसहित महत्वपूर्ण बिभागहरुको प्रमुख चयन गरेकाले हाललाई बिबाद समाप्त भएको तथा पार्टी एकताका बाँकि काम अघि बढ्ने बाटो खुला गरेको भएपनि बिबाद निक्लिने बाटो नै समाप्त पारेको भन्न मिल्दैन।

जनवर्गीय संगठनका इन्चार्जहरुबारे निर्णय गर्न अझै बाँकि छ भने केन्द्रीय निकायहरु निर्माणमा नेताहरुको स्वार्थ नबाझ्ला भन्न सकिन्न। त्यसमाथि, पार्टीको कार्यक्रम जनताको जनवाद तोकिएकोमा त्यसमाथि केही नेताहरुले असहमति सार्वजनिक गरेको प्रसङ्ग पनि छँदैछ।

हुन त, राजनीतिमा विषयहरु कहिल्यै समाप्त हुँदैनन् त्यसैले ती निरन्तर जन्मिरहन्छन्। अनि, ती विषयलाई हेर्ने दृष्टिकोणमा बिबादहरु हुनु स्वाभाविक बन्छ। यसलाई सत्ता स्वार्थ मात्र भनेर गाली गर्नु किन स्वाभाविक हुदैन भने राजनीति गर्नेले नेतृत्वमा पुग्ने चाहना राख्नु अस्वाभाविक हुँदैन तथा नेतृत्वमा पुग्नेले आफ्नो सोच र दृष्टिकोण अनुसार पार्टी र देशको सत्ता चलाउने विचार गर्नु पनि तुच्छ विषय मानिनु हुँदैन।

हो, योग्य नेतृत्वले आफ्नो सोच र योजना सहकर्मीहरुसँग समायोजन गर्न सक्दा कम टकराव हुन्छ भने त्यसो गर्न नसक्दा बिबाद र फुट आउने गर्छ।

त्यसमाथि, हाल सत्तारुढ तथा फेरी पनि सत्तामा पुग्ने सम्भावना अधिक रहेको यत्रो पार्टीमा आफू सत्तामा पुग्ने तथा आफ्ना ‘लाइक माइण्डेड’ हरुलाई सत्तामा पुर्याउने स्वार्थ नेताहरुमा सधै रहने हुँदा कयौं बिबादहरु यसकारण पनि जन्माइन्छन्। नेताहरुबीचको समिकरणमा परिवर्तन आउने कारण पनि यी र यस्तै हुन्।

अहिले नेकपाका शीर्ष नेतृत्वको समिकरणमा परिवर्तन आएको मान्दा निकट भविष्यमा अर्को समिकरण बन्दैन भन्ने कसरी मान्ने ? तीन पूर्व प्रधानमन्त्री, हालका प्रधानमन्त्री र उपप्रधानमन्त्री, गृहमन्त्री, पूर्व उप प्रधानमन्त्रीहरु रहेको सचिवालयमा व्यक्तित्वको टक्कर हुँदैन भन्ने पनि मान्न सकिदैन।

अबको सम्भावना

जति लम्ब्याए पनि नेकपाका शीर्ष नेतृत्वसँग पार्टी एकता सम्पन्न गर्नुको बिकल्प थिएन र छैन। केही नेताहरुलाई एकता सुरु गरेर गल्ती गरियो भन्ने लाग्ला तथा अब एकता अघि नबढाउँ भन्ने पनि लाग्न सक्ला तर उनीहरुसँग यसको बिकल्प छैन। किन त ?

पुरानो केन्द्रीय समिती भंग भएर नयाँ केन्द्रीय समितिको नाम निर्वाचन आयोगमा गइसकेको छ, त्यसैले अब पुराना पार्टीहरु छैनन्। दुई संसदीय दल एउटै भइसकेको छ। त्यसैले, अब पुरानो रुपमा कसैले पनि आफ्नो पार्टीलाई फर्काउन सक्दैन। नेताहरुलाई एकता बिथोलौं भन्ने लाग्यो भने पनि अब बिभाजनको प्रक्रिया सुरु गर्नुपर्छ। र, त्यस्तो अवस्थामा सबै  नेता/कायकर्ताहरुले पुरानै कित्ता रोज्ने सम्भावना निकै कम छ।

यसको अर्थ कयौं नेता/कार्यकर्ताले पूर्व समूहको घेरा नाघेर नयाँ कित्ता रोज्नेछन् र यस्तो जोखिम मोल्न अहिलेको अवस्थामा कोही नेता तयार हुने छैनन्। 

त्यसमाथि, जनताले दुई पार्टी एक भएर दिगो सरकार बनाउन दिएको मत छँदैछ। यसले, बिभाजन भएर जनतामा जाने बाटो निकै साँघुरो बनाइदिएको छ। आफ्नो मतलाई कदर नगरेर फेरी अस्थिरताको बिउ किन रोपेको भनेर जनताले सोध्ने प्रश्नको सहज उत्तर नेताहरुसँग हुने छैन।

अथवा, यसो भनौं त्यस्तो अवस्थामा नेताहरुले केही भनेपनि जनताले पत्याउने छैनन्। त्यसैले, नेकपाका नेताहरुले आफ्नो राजनीतिक भविष्यका लागि पनि एकतालाई कम्तीमा पाँच वर्षसम्म दिगो बनाउनै पर्नेछ।

अब नेकपाका नेताहरुसामू एकतालाई प्राविधिकरुपमा सम्पन्न गरेर वैचारिक, राजनीतिक र भावनात्मकरुपमा एउटा पार्टी बनाउने बाहेक अर्को विकल्प छैन तर त्यो चुनौतिपूर्ण छ। यो चुनौतिको सामना गर्न नेताहरुले त्यतिबेला मात्र गर्न सक्छ, जब आफू अरुभन्दा विशेष र श्रेष्ठ रहेको ‘इगो’ कम गर्न वा समाप्त पार्न सक्छन्। अहिले नै पनि, कोही नेतालाई यत्रो लामो समयसम्म मैले लिएको अडान छाड्नु पर्यो, मलाई लतारेरै यो ठाउँमा पुर्याइयो, मलाई हराइयो भन्ने परेको देखिन्छ।

अनि कोही नेतालाई चाहिँ यो निर्णयले मलाई किनारामा पुर्याइयो भन्ने चित्तदुखाई रहेको देखिन्छ। यस्तै, कसैलाई यसले मेरो विजय भयो, अब मैले यसलार्ई कायम राख्नुपर्छ भन्ने लागेको पनि हुनसक्छ। यस्ता ‘इगो’हरु नै हुन् नयाँ बिबाद जन्माउने कारण। र, यस्ता बिबादले पार्टी एकताको कामलाई प्राविधिकरुपमा अहिले सम्पन्न गर्न रोक्न नसके पनि वैचारिक, राजनीतिक र भावनात्मकरुपमा एउटा पार्टी बन्न सहयोग गर्नेछैन।

 तर, यति लामो राजनीतिको भट्टिमा खारिएका वरिष्ठ नेताहरुले आफ्नो ‘इगो’ सजिलै छाड्लान् त ? मुलुकको राजनीतिक स्थिरताका लागि सकारात्मक अपेक्षा गर्नुभन्दा अर्को विकल्प पनि छैन। 

 

Comments

राजेन्द्र पराजुली