विश्वकप लिग-२ : स्कटल्याण्डको पहिलो जित, पीएनजीको लगातार दोस्रो हार

तस्बिरः एजेन्सी

आईसीसी विश्वकप लिग-२ अन्तर्गत स्कटल्याण्डमा जारि पहिलो त्रिकोणात्मक सिरिज अन्तर्गत तेस्रो खेलमा स्कटल्याण्डले पपुवा न्युगिनीलाई ४ विकेटले हराएको छ।

यसअघि ओमानसँग पहिलो खेलमा ८ विकेटको हार ब्यहोरेको स्कटल्याण्डले पहिलो जित निकालेको हो।

यता पपुवान्युगिनीको भने यो लगातार दोस्रो हार हो। यसअघि पपुवा न्युगिनी ओमानसँग ४ विकेटले पराजित भएको थियो।

एबरडीनमा सम्पन्न खेलमा पपुवान्युगिनीले दिएको २०६ रनको लक्ष्य स्कटल्याण्डले ६ विकेट गुमाएर ७ बल बाँकी छँदै पुरा गर्‍यो।

लक्ष्य पछ्याउने क्रममा ओपनर म्याथु क्रसले ७ रन बनाउँदा अर्का ओपनर तथा कप्तान कायल कोट्जरले ९६ रन बनाएका थिए।

उनले कलुम म्याकलोयडसँग दोस्रो विकेटको लागि ९१ रनको साझेदारी गरेका थिए। म्याकलोयड ३६ रन बनाएर आउट भएपछि जर्ज मुनसे खाता नखोली आउट भए। त्यसपछि कोट्जरले चौथो विकेटको लागि रिची बेरिंगटन (२२) सँग ५७ रनको साझेदारी गर्दै टिमलाई जित नजिक पुर्‍याएकाका थिए।

कोट्जर ३८ औं ओभरमा ९६ रन बनाएर आउट हुनुअघि उनले १२३ बलमा ९ चौका र २ छक्का प्रहार गरेका थिए। अन्तिममा मिचेल लिस्कले १९ रन बनाउँदै टोलीलाई जिताए।

पपुवा न्युगिनीका लागि नोसैना पोकना र असद भालाले समान ३/३ विकेट लिए पनि हार टार्न सकेनन्।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पपुवा न्युगिनीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २०५ रन बनाएको थियो। उसको लागि ओपनर टिपी उराए सर्वाधिक ४६, किप्लिन डोरिगाले ३९, असद भालाले ३६ तथा चार्ल्स अमिनीले ३२ रन बनाएका थिए।

पहिलो विकेटको लागि उरा र जी टोकाले ६३ रनको साझेदारी गरे पनि त्यसपछि पपुवा न्युगिनीले ठूलो साझेदारी गर्न नसक्दा मध्यम स्कोरमा समेटियो।

स्कटल्याण्डका लागि हम्जा ताहिरले ४ तथा माइकल लिस्कले ३ विकेट लिएका थिए।

सिरिज अन्तर्गत अब चौथो खेल स्कटल्याण्ड र ओमान बीच आइतबार खेलिनेछ।

Comments

राजेन्द्र पराजुली