रोप्या खेत पहेला भैग्या मेरा दुःख उसाइ

गायक भुवन दाहाल खप्तडमा। तस्बिरः हेमन्त विवश

छिनछिनमा बद्लिरहने मौसम। आकाशमा सुन्दर देखिएका बादलुका घुम्टीहरू। खप्तडको पाटनमा यत्रतत्र टल्किएका रङ्गीचङ्गी टेन्टहरू। लोभलाग्दो थियो परिवेश। बिहानीका किरणसँगै अचानक देखिएका थिए गायक भुवन दाहाल।

यो एक वर्ष अघिको कुरो हो। त्यसपछि हुन सकेको छैन उनीसँग भेट। खप्तडका पाटनमा आजाद बनेर डुलिरहेका उनलाई समय समयमा घेरिरहेका हुन्थे युवायुवतीहरू। उनीसँग सेल्फी लिन तछाडमछाड गरिरहेका हुन्थे बेलाबखत। कर लागेझैं उभिदिन्थे उनी आफ्ना फ्यानहरुसँग। तर, मन भने अन्तै डुलाइरहेका जस्ता देखिन्थे। ती फराकिला फाँटहरू जस्तै जिन्दगीका फराकिला फाँटको कल्पना गरिरहे जस्ता। विरहपूर्ण बनेर एकान्त खोज्न हिँडे जस्ता अनि भाका हालेर ठाडी घन्काउने सोचमा कतै अग्लो थुम्कोको खोजि गरिरहे जस्ता देखिन्थे उनी।

सोच्दा हुन् गाईबाख्रा चराउँदाका पलहरू। त्यो बाल्यकाल विगतका ती दिनहरु। जिन्दगीको बलेशी चुहिन्छ कहिल्यै आँसु बनेर त कहिल्यै हृदयविदारक गीतका भाका बनेर। उसो त चिनिन्छन् भुवन दाहाल विरहपूर्ण ठाडीका जब्बर गायकका रुपमा।

भगवानले दिएको छ उनलाई मिठासपूर्ण गला। उनले ठाडी भाका गाउँदा उम्रिन्छन् जीउमा काँडा। आइदिन्छ कण्ठमा भक्कानो।  संवेदनशील भावुक मनलाई खुब रुवाउँछन् उनका गीतले। सफेराले नाग नचाएझैं नचाउँछन् उनी आफ्नै स्वर र सुनाउँछन् स्वरको जादु।

रोजे फूल कहिले पो लैग्यो काँ जाउँ कैका खोज

आँसुले भात मिची खाएँ साइका जन्ती भोज

उनले गाएका यी पंक्तिहरु झुण्डिएकै छन् कैयौका ओठमा। त्यो गीतको गुञ्जन छाएकै छ कैयौं श्रोताका कानमा। युट्यूवमा सुनेकै छन् कैयौंले। कतिपयले त मोवाइलको रिङटोनमा समेत यसै गीतलाई राखेका छन्।

यो गीत बजारमा आएपछि कैयौंले अनुमान पनि लगाए भुवनले कतै प्रेममा धोका पाएको हुनुपर्छ भनेर। कतिपयले पत्याउन लायकका कथा बनाएर पनि भन्न भ्याए। यस्ता गीत सुनेपछि अनुमान गर्ने र बेकारको हल्ला चलाउनेको पनि कमि छैन हाम्रो समाजमा।

त्यो उनको आफ्नै जीवनको पाटो समेटिएको गीत थियो या थिएन त्यो उनै जानून्। तर, डेउडा गीतका क्षेत्रमा ठाडी भाका अन्तर्गत भाव, स्वर र विरहको हिसावले यो गीत अहिलेसम्मकै नमुना गीत हो भन्दा अत्युक्ति नहोला।

मध्य तथा सुदूरपश्चिममा गाइने ठाडी भाकामा प्राय विरह र वेदना पोखिन्छ। सुदूरपश्चिमका डाँडाकाडातिरबाट निस्किन्छ मुरलीको धुन एकातिर। अर्कोतिर सुनिन्छन् मुटु नै चिरेर लग्लान् जस्ता ठाडी भाकाहरू। बिम्बात्मक हुन्छन् ठाडीका शब्दहरू। कहिलेकाही सुरूको पंक्ति दोस्रो पंक्तिसँग अनुप्रास मिलाउने ढंगले मात्र देखिन्छ, दोस्रो पंक्तिले पुरै भावपक्ष बोकेको हुन्छ। गाउँदा पनि प्राय भावपक्ष बोकेको पंक्ति दोहोर्‍याएर गाउने गरिन्छ।

पीर, व्यथा, बिछोड र श्रृङ्गारिक भावका गहन पाटाहरु बोकेको हुन्छ ठाडी भाकाले। डेउडा गीतको रेकर्डिङ दुनियाँमा अहिलेसम्म चर्चाको शिखरमा रहेको महिला स्वर डीक्रा बादीको छ भने पुरुष स्वर अन्तर्गत देखा परेका छन् तिनै भुवन दाहाल।

उनको स्वरमा जादु छ। लठ्ठ पार्छ त्यो स्वरले अधिकांश मनहरुलाई। तर उनी भन्छन्,‘मेरो के स्वर छ र बझाङका गणेश बहादुर सिंहको स्वरको अगाडि। धेरैले सुन्न पाएका छैनन् सिंहको स्वर। नरेन्द्र रेग्मीको एल्बममा स्वर दिएका थिए गणेश बहादुर सिंहले। अरु के कति गीत रेकर्ड गराए थाहा छैन। म उनको स्वरको फ्यान हुँ।’

त्यस्तै उनी आफू गायक भोजराज भट्टको स्वको पनि फ्यान भएको कुरा सुनाउँछन्।

एक समय थियो। चुनावको बेला डोटी दहकालिका निवासी शिवप्रसाद दाहाल हातमा माइक बोकेर गाउँगाउँ डुल्थे। गीतसंगीतका माध्यमबाट समाज बदल्ने र राजनीतिक वृत्तमा आफ्नो स्थान बनाउने सोच थियो उनको।

घरमा ६ छोरा र श्रीमती थिए। खान लाउन त्यति सजिलो थिएन। सामान्य परिवारमा जन्मेर गुजारा गरिरहेका दाहालको अनुहारमा निराशा र दुःखका धर्सा देखिदैन थिए जस्तै परिस्थितिमा पनि।

जब गाउँ गर्खातिर गीत गाउँदै गीतका माध्यमबाट भोट माग्न पुग्थे उनी, वरिपरि जम्मा हुन्थ्यो एउटा भीड। निकै नै कर्णप्रिय थियो त्यो स्वर। तर उनले आफ्नो स्वरमा गीत रेकर्ड गरेनन्। धेरै जना फ्यान थिए शिवप्रसाद दाहालको स्वरका पनि।

प्रजातन्त्रका लागि लडेका योद्धा हुन् शिवप्रसाद। डेउडा गीतका पारखी एक कुशल गायक जसले के भएर आफ्नो स्वरमा गरेनन् गीत रेकर्ड । तर माइलो छोरो भुवनको स्वर बजारमा सुनिन थालेको के थियो बधाई बटुल्न थाले चारैतिरबाट।

२०५७ सालमा दीपेन्द्र दाहालले आफ्नो एल्बम  चोली चौबन्दीमा गीत गाउने अवसर दिए भुवनलाई। दीपेन्द्र दाहालका शब्दहरुले भुवनको स्वरमा सन्तोषको सास फेरे। ती शब्द थिए-

न काटु भैसोली भोकै काटु सिमल डाली

छुटाउँ त पिरिमको डोरी नछुटाउँ त गाली

दीपेन्द्रको एल्बम बजारमा आउन नपाउँदै भुवनको स्वरमा गीत रेकर्ड भएको गाइगुइ सुनिन थाल्यो गाउँघरतिर। सबैले ठाडा पार्न थाले कान। उसो त भुवन विद्यालयमा पढ्दा नै बिभिन्न कार्यक्रममा गीत गाउँथे र सबैको मन जित्न सफल हुन्थे। धुरूक्क रुवाउँथे शिक्षक बिद्यार्थी सबैलाई गीतका गहकिला पंक्तिहरु गाएर।

बजारमा दीपेन्द्रको एल्बम आएसँगै चर्चा हुन थाल्यो भुवनको स्वरको। त्यो गीतले भुवनको गायन यात्राको सुरुवात मात्र नभई भावि दिनका लागि सांगीतिक जीवनको ऊर्जा पनि थियो।

त्यसपछि २०५८ सालमा दीपेन्द्रले आफ्नो एल्बम बुल्बुलीमा गाउन लगाए भुवनलाई। बजारमा भुवनको स्वरका पारखीहरु बढ्दै जान थाले। चारैतिरबाट एल्बम निकाल्न सुझाव आइरहे। नभन्दै २०५९ सालमा रुखो पिरती नामक एकल एल्बम ल्याएर बजारमा देखा परे उनी।

उक्त एल्बम रातारात हिट भयो। बजारमा केही दिनमै सर्टेज भयो एल्बम। कतिपयले चोरीचोरी  डबिङ गरेर पनि बेचे क्यासेट। तर बिडम्बना आर्थिक रुपले भएन गायकलाई कुनै फाइदा। कमाए व्यापारीहरुले नै।

भुवनलाई आफ्नो एल्बममा एउटा गीत गाइदिन भनेर चारैतिरबाट अनुरोध आइरह्यो। आजका दिनसम्म उतिकै छ बजारमा उनको माग। मध्य तथा सुदूरपश्चिममा सबैभन्दा बढी गीत गाउने गाएक उनी नै हुन्। तर उनलाई पनि थाहा छैन कति गीत गाएँ भन्ने कुरा।

मध्य तथा सुदूरपश्चिममा ठाडी भाका भन्ने बित्तिक्कै अग्रपक्तिमा नाम आउँछ डीक्रा देवी र भुवन दाहालको। प्रभात उमाबि देहीमाण्डौं डोटीबाट १२ कक्षा पास गरेका भुवनको बाहिरी जीवन लोभलाग्दो देखिन्छ।

एक मदहोसी गायक। मीठो स्वरका धनी। उनलाई चुनावका बेला प्रयोग गरे कैयौ नेताहरुले। चुनाबी आमसभा र र्‍यालीमा पनि खुब गाए उनले गीत। चुनाव जिते पछि हेरेनन् कुनै नेताले। गुजरा गर्नकै लागि सुरुसुरुमा गाउँमा  शिक्षण पेशामा आवध्द भए उनी।

६ महिना जति एन जि ओ मा जागिर खाए। फेरि हिडिरहे उही सांगीतिक गोरेटोमा। काठमाडौंमा संगीत सिक्न भनी केही महिना नधाएका हैनन् ललितकला क्याम्पमा पनि। जिन्दगीका मोडहरु कहाँ मोडिए। कहाँ गुञ्जिए अत्तोपत्तै भएन।

भिडियोः दीपक खड्का

पारिवारिक जीवनको बारेमा सोद्धा बोल्न चाहेनन् उनी। ध्यानमा बसेका तपस्वीझै निकैबेर बनिरहे मौन। उनको व्यक्तिगत पाटो खोतल्न मन लागेन मलाई पनि। विगतमा एकदुई प्याला चढाएर सुनसान गोरेटोमा पाइला चालिरहने भुवन अहिले त्यो दुनियाँबाट पनि टाढा छन्। उनी भन्छन् – मनभरी गीतका भाका बोकेर एक्लै एक्लै यात्रा गर्न मन लाग्छ। तर, सम्भव छैन त्यो पनि। हरेक मोडमा देखापरिदिन्छन् फ्यानहरु। घेर्न थाल्छन् चारैतिरबाट। अनि फेरि फर्किन मन लाग्छ पुरानै गोरेटोमा।

२० वर्ष भयो उनले गायन यात्रा सुरु गरेको। यो बीचमा कस्ताकस्ता गीतहरु गाइयो त भन्दा सुनाउँछन् – अरुका जिन्दगीसँग मेल खाने गीत पनि गाइयो र गाइयो कही कतै आफ्नै जिन्दगीका लयहरु पनि।’

उमेरले ४० पुगिसकेका उनको जिउडाल र अनुहार हेर्दा २५ वर्षे युवाझैं देखिन्छन्। प्राय भावुक मुहार देखिए पनि भेट्दा हिमाल टल्किए जस्ता दन्त लहर देखाएर मुसुक्क मुस्कुराउँने भुवनको जीवनमा अनगन्ती छन् पीडाका थुम्काहरू। भावनाका लयहरु।

छोरोको एल्बम बजारमा आउनु अगावै हर्षका आँसु झारेर सुन्ने बुवाले २०६८ सालमा छोडेर गए धर्ती। बुढी आमालाई भुवनको जिन्दगीको चिन्ता लागिरहन्छ। तिनै आमालाई सम्झेर पनि गाएका छन् उनले केही गीत।  ‘जिन्दगी हो चलिरहन्छ। श्रोता शुभचिन्तकहरु सबैको माया पाएको छु। यही नै मेरो कमाइ हो। बाँचुन्जेल गीत गाइरहने छु। भोलिको कुरा त कसलाई थाहा हुन्छ र,’ छुट्टिदा भावुक बनेर भनेका थिए उनले।

बिनम्रतापूर्वक बिदा मागेर पाइला अगाडि बढाइरहे उनी। म भने उनले गाएका यी शब्दहरु सम्झेर टोलाइरहे केहीबेर त्यही खप्तडको पाटनमा।

लेक पाती झुपझुपानी औल पाती टुसाई

रोप्या खेत पहेला भैग्या मेरा दुःख उसाइ

(लेकतिर पाती पलाएर बोट झपक्क देखिने भइसके। औंल (बेसी) मा भर्खर पलाउँदैछन्। खेत रोपेर धान पाकिसके अर्थात धानका खेत पहेला भइसके। तर, मेरो दुःख अझ उस्तै छ)

Comments

राजेन्द्र पराजुली