आफ्नैबाट असुरक्षित बालबालिका

तस्बिरः बिएल

सल्यान छत्रेश्वरी ६ रानागाँउकी २८ वर्षिया सपना भण्डारीले गत जेठ १५ गते आफ्नै सात महिनाकी छोरीको कुटपिट गरी हत्या गरिन्।

सोही समयमा भोजपुरको रामप्रसाद राई गाँउपालिका बसीखोरा घर भई भोजपुर नगरपालिका वाड नं ९ पानी ट्याङकी बस्ने सम्झना थापाले आफ्नै तीन वर्षिय छोरा सम्बोधन थापाको खुकुरी प्रहार गरी हत्या गरिन्।

थापाले आफ्नो छोरालार्इ अचानोमा राखी घाँटी छिनाएर २ टुक्रा पारेकी थिईन्। यद्यपी सम्झना मानसिक रोगी रहेको खुलेको छ।

जेठमै गुल्मी दरबार गाँउपालिका ४ की जमुना विकले आफ्नै २ महिने छोरीको कुटपिट गरि हत्या गरिन्। उनले आफ्नै ११ वर्षिय  छोरालाई पटक पटक आक्रमण गर्ने गरेकी थिईन्।

माथिका तीन घटनालाई मात्रै आधार मान्ने हो भने पनि बालबालिका आफ्नै घर भित्र असुरक्षित भएको सहजै महशुस हुन्छ।

माथिका घटनासँगै जेठ महिनामा मात्रै दर्जन बढी बालबालिकाले आफ्नै आमा¸ बुबा र आफ्नै आफन्तको हातबाट मृत्युवरण गर्नु परेको छ।

कतै आफ्नै सहोदर बाबु¸ दाजु¸ काका¸ हजुरबुबाबाट बालबालिका बलात्कृत भएका छन्। २१औ शताब्दीको समय समाजलाई चुनैती दिने गरी असाध्यै अन्ध विश्वासमा फसेर बालबालिकाको बलि दिने पासविक कार्यसमेत भएको छ।

यस्तै घटना जनकपुर धनुषाको मिथिला नगरपालिका ६ ढल्केबरमा भएको छ। शम्भु शाहका छोरा आर्यनलाई बलि दिएको खबर सार्वजनिक भयो।

स्थानीय शत्रुधन महतोले आफू शक्तिशाली हुन भन्दै छिमेकी बालकको अपहरण गरि मध्यरातमा आफ्नै आँगनमा घाँटी रेटेर बलि दिएका थिए।

यसबाहेक पनि भक्तपुरमा मारिएका ११ वर्षिया निशान खड्का हुन् वा गोंगबुमा मारिएका ८ वर्षिय प्रयास कुँवर नै। धनुषा कमलामाई नगरपालिकामा मारिएका ८ वर्षिय बालक रमन शाह हुन् या भर्खरै वीरगंन्जमा अपहरण पछि हत्या गरिएका बालक नै किन नहुन्। यी हत्यामा कतै न कतै आफ्ना चिनजानका र आफन्त जोडिएकै छन्।

यो एक वर्षमा बालबालिकामाथि भएका कुटपिट पछिको हत्या अपहरण पछि हत्या र अपहरण घट्दो होईन बढ्दो क्रममा गईरहेको छ ।

२०७२ सालमा १२ वटा बालबालिका अपहरण तथा १६ वटा हत्याका घटना प्रकाशमा आएको थियो। त्यसमा ६ जना बालबालिका आफ्नै आमा बुबाबाट मारिएका छन्।

पछिल्लो तथ्याङ्क हेर्ने हो भने २०७१/०७२ मा कुल ७४ बालबालिकाको हत्या भएको छ। २०७२/०७३ मा हत्या भएको कुल ६ सय २७ मध्ये १०६ जना बालबालिकाका थिए।

२०७३/०७४ मा ७९ जना बालबालिका मारिएका छन्। २०७४/०७५ मा ८२ जना बालबालिकाको हत्या भयो। यस्तै अर्को एक तथ्याङ्क अनुसार २०७२/०७३ देखि २०७५ सम्म १५ जना बच्चा आमा बुबाबाट मारिएका छन्।

यस्तै बलात्कारका ८५ घटनामा आफन्तकै संलग्नता रहेको छ। यो एक डरलाग्दो तथ्याङ्क हो।

बालबालिकालाई सजिलै फकाउन सकिने भएकोले पनि उनीहरु हत्या अपरहण र बलात्कारको सिकार भएका हुन्। गोंगबु र भक्तपुरको घटनामा पनि त्यही भएको छ  भने भर्खरै बलिदिएका धनुषाको बालकको हकमा पनि सजिलै फकाई फुलाई गरी हत्या भएको छ।

यसले देखाउँछ बालबालिका आफ्नै घर भित्र आफ्नै बाट असुरक्षित छन्।

कतिपय बालिकाहरु डर त्रास र धक्कीका बिच आफ्नै बाबुबाट पटक पटक बलात्कृत भएका छन्। यस्ता घटनाको चाङ पनि प्रशस्तै छ।

बाहिरबाट हुने असुरक्षा त कुनै उपायद्धारा कम होला तर घर भित्रको असुरक्षा एक गम्भीर समस्या र चुनौतीको रुपमा खडा हुँदै गएको छ।

बाबुबाट छोरी, दाजुबाट बहिनी, मामाबाट भान्जी नै असुरक्षित भएपछि यसको सामाधान जटिल बन्दै गएको छ। बालबालिकालाई सजिलै फकाउन सकिने र आफ्नो ईच्छा पूरा भएपछि हत्या गर्दा समेत उनीहरुले प्रतिकार गर्न नसक्ने भएकोले कलिला बालबालिका अपराधिको निशाना बन्ने गरेका छन्।

आफ्नाबाटै असुरक्षित बालबालिकाको पछिल्लो शिकार रौतहटकी चार वर्षिय बालिका लक्ष्मी राय यादव भएकी छिन्।

धेरै बिमा रकमको आशमा आफ्नै बाबु रौतहट मौलापुर नगरपालिका ६ का राम किशोर यादवले चार वर्षिय छोरीको हत्या गरि पोखरीमा फालिदिए।

उल्लेखित घटनाबाट घर भित्र नै बालबालिका असुरक्षित भएको डरलाग्दो तथ्य नेपाली समाजमा व्याप्त हुँदै गएको छ। प्रत्येक अभिभावक अब सचेत हुनुपर्ने समय आएको छ। कोही चिनजानकै व्यक्ति आफ्ना बालबच्चासँग अनावश्यक नजिक हुने घुमाउन लैजानै गर्दै छ भने पनि चनाखो हुनुपर्ने भएको छ।

अर्कोतर्फ रिसिवीको कारणसमेत बालबालिकाको अपहरण र हत्या हुनसक्ने भएकोले जतिसुकै नजिकको भए पनि सर्तक हुनु र उनीहरूसँग आफ्ना बालबालिकालाई एक्लै नछोड्नुहोस्।

कुनै पनि घटना हुनसक्छ। अझ बुझ्नुपर्ने कुरा के हो भने बालबालिका खेल्दै कता जान्छन् त्यस्तो बेला समेत चनाखो बन्नुपर्ने हुन्छ। त्यसैले नेपाली समाजका लागि घातक बन्दै गएको र गम्भीर समस्याको रुपमा फैलिएको बालबालिकामाथि हुने हिंसा अन्त्यका लागि प्रत्येक घर र अभिभावक सचेत हुन पर्ने जरूरी छ।

लेखक सशस्त्र प्रहरी निरीक्षक हुन्।

Comments

राजेन्द्र पराजुली