उपन्यासकार अवतारमा उषा

उपन्यास ‘आधि’ राजधानीमा मंगलबार सार्वजनिक गर्दै श्रष्टाहरू

गीतकार, मुक्तककार, कवि र कथाकार रुपमा आफूलाई स्थापित गरेकी साहित्यकार उषा शेरचन उपन्यासकार अवतारमा आएकी छन् । मंगलबार उनको उपन्यास ‘आधि’ राजधानीमा सार्वजनिक भयो ।

लोकसंस्कृति अन्वेषक एवं साहित्यकार चेतन कार्की, साहित्यकार पद्मावती सिंह र कुमारी लामाले संयुक्त रुपमा उपन्यास लोकापर्ण गरेका थिए ।

कार्यक्रममा चेतन कार्कीले शेरचनको साहित्यिक जीवनबारे प्रकाश पारे । ‘पोखराबाट मुक्तककारको रुपमा उदाएकी शेरचनले आधिमा नाताभित्रै हुने बलात्कारको कथा खोतलेकी छन्’, कार्कीले उपन्यासमाथि टिप्पणी समेत गरे ।

त्यस्तै पद्मावति सिंहले शेरचनको लेखनमा पाइने प्रवृतिगत विशेषताबारे चर्चा गरिन् । ‘जुनसुकै विधामा पनि महिलाले दिनहुँ भोग्ने सास्ती कहने शेरचनको लेखकीय गुण हो’, सिंहले भनिन्, ‘आधि उपन्यास नयाँ दिशामा अग्रसर नेपाली समाजको बिम्ब हो ।’

उपन्यासमाथि टिप्पणी गर्दै समीक्षक कुमारी लामाले आधिले महिलामाथि हुने यौनजन्य हिंसाको सग्लो तस्विर प्रस्तुत गरेको उल्लेख गरिन् । ‘पछिल्लो समयमा आएका मि टु लगायतका महिला हिंसाविरोधी अभियानलाई तात्विक निष्कर्षमा पु¥याउन आधि जस्ता उपन्यासले महत्वपूर्ण भूमिका खेल्छन्’, लामाले भनिन् ।

करिब दुई सय पृष्ठको उपन्यास बुक हिल पब्लिकेशनले बजारमा ल्याएको हो ।

Comments