हामी के चाहन्छौं- समाधान वा बहाना? (भाग-३)

बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला एउटा पदावली खुब चल्तीमा थियो- अर्जुन दृष्टि। उनी भन्थे- पहिलो संविधानसभाबाट संविधान जारी गर्नेमा मेरो 'अर्जुन दृष्टि' छ। जब छिनोफानो गर्ने समय आयो, उनको दृष्टि संविधानबाट सत्तामा सर्यो। संविधानसभा विघटन गरे। सायद उनले ठानेका थिए- संविधानसभा बिघटन गरेपछि प्रधानमन्त्री हटाउने वा बनाउने कुनै संस्था नै हुन्न। आफू निष्कंटक प्रधानमन्त्री बन्छु। लामो सत्ताको छोटो सपनाबाट उनी चाँडै ब्युँझिए। एक वर्ष नपुग्दै उनको सत्ता गयो।

त्यो बेला जसरी पनि संविधान लेख्नुपर्नेमा आफू चुकेको भन्दै भट्टराईले सार्वजनिक रुपमै आत्मालोचना गरेका छन्। भट्टराईको नेतृत्वमा संविधान लेखिएको भए राजनीतिमा आज उनी र माओवादी पार्टीको पनि स्थान अलग ठाँउमा हुन्थ्यो।

अर्थतन्त्र राजनीति जस्तै हो। आएको अवसर सदुपयोग गर्न सकियो भने त्यसले अर्थतन्त्रलाई कहाँबाट कहाँ पुर्याउँछ। अवसर गुम्यो भने माओवादी पार्टी जस्तै कहाँबाट कहाँ पुगिन्छ। अर्थतन्त्र कोल्टे फेराउन पनि हामीलाई 'अर्जुन दृष्टि' चाहिन्छ। 'फोकस्ड माइन्ड'ले गर्न नसक्ने केही छैन। बाह्रतिर भौंतारिने दिमागले केही पार लगाउन सक्दैन।

हामीलाई केही कुरामा 'फोकस' हुन निकै सकस हुन्छ। हाम्रो सरकार पनि त्यस्तै छ। हुने नै भयो। आज धुमधामसँग प्रचार गर्छ- यो काम गर्छु, उसो गर्छु। केही समयपछि सेलाउँछ। अँगेनोको आगो सेलाएपछि आलु कसरी पाक्थ्यो! अधकल्चै हुन्छ। हाम्रा धेरै बाचा, धेरै योजना अधकल्चै रहुनुको प्रमुख कारण त्यही हो। माओवादीले २०६४ सालको निर्वाचन घोषणापत्र लेख्दा भन्यो- दस वर्षभित्रमा दस हजार मेगावाट बिजुली निकाल्ने।

पहिलो संविधानसभापछि माओवादीकै सरकार बन्यो। घोषणापत्रका मस्यौदाकार भट्टराई आफैं अर्थमन्त्री बने। सुरूमा दस हजार मेगावाट बिजुली उत्पादन गर्ने खुब भाषण गरे। सर्पजस्तो घिस्रिने होइन, भ्यागुतोजस्तो उफ्रिने आर्थिक बृद्धिदरको कुरा गरे।

Comments