‘तिकंर काण्ड’ र दार्चुलावासीको भविष्य (भिडियोसहित)

तस्बिरः बिएल

 राज्यबाट उपेक्षित दार्चुलाको कथा–१ 

२०३२ साल भदौंको तेस्रो साता। नेपालको विकट जिल्ला दार्चुलाको सदरमुकाम खलंगाबाट एक हुल शौका जाति व्यापारका लागि चीन स्वशाषित तिब्बतको ताक्लाकोट जाँदै थिए। लामो पहाडी यात्रा छिचोलेका उनीहरू ब्यास गाउँको छाङरु(घर) हुँदै सुदूरपश्चिमको अन्तिम गाउँ तिकंर पुगिसकेका थिए।

यतिकैमा माथि आकाशमा चिलजस्तै ठूलो आवाजमा हेलिकोप्टर देखियो। व्यापार गर्न भोटतिर हिँडेका स्थानीयले सुरुमा त कुनै चाल पाएनन्। तर, हेलिकोप्टर तलको खेतमा अवतरण गरेर ह्वार ह्वारती सेना बाहिर निस्किएपछि भने उनीहरूको मनमा चिसो पस्यो।

तिकंरजस्तो अनकन्टार ठाउँमा पहिलो पल्ट नेपाली सेनाको त्यति बाक्लो उपस्थिति देखेपछि उनीहरूलाई यो बुझन् गाह्रो भएन, केही गडबड त पक्कै छ?

नभन्दै, नेपाली सेनाका जवानले व्यापार गर्न हिँडेका शौका जाति नजिकै पुगेर आदेशको भावमा आग्रह गरेछन्, ‘हामीहरू यहाँ तिब्बती सेनालाई खोज्न आएका। उनीहरू भारततर्फ भाग्दैछन् रे। हामीलाई यहाँको भौगोलिक स्थिति त्यति थाहा छैन।’

हातमा आधुनिक हतियार बोकेका नेपाली सेनाको अगाडि त्यति बेला हामी व्यापार गर्न हिँडेका, हामीलाई यहाँको भूगोल राम्रोसँग थाहा छैन, भन्ने आँट कसको?

सेनाको आदेश मिसिएको आग्रहलाई नाई भन्ने आँट कोहीसँग थिएन। त्यसैले उनीहरू पनि नेपाली सेनाको गोप्य अभियानमा मिसिए।

विदेशीहरूका लागि ‘खम्पा बिद्रोह’ र स्थानीयका लागि ‘तिकंर काण्ड’को रूपमा रहेको नेपाल आर्मीको यो गोप्य अभियानमा जीतसिंह बोहरा पनि सम्मिलित भए।

२०३२ सालमा ‘खम्पा बिद्रोह’ दबाउन नेपाली सेना पहिलो पल्ट परिचालित हुँदा जीतसिंह एसएलसी दिएर रिजल्टको पर्खाइमा थिए।

त्यसैले उनी गाउँका अग्रजसँगै ताक्लाकोट जाँदै थिए। तिकंरमा हातहतियारले सू–सज्जित नेपाली सेनासँग एक्कासी जम्काभेट भएपछि गाउँका अग्रजसँगै उनी पनि अतालिनु नौंलो कुरा थिएन।

तर पनि उनी नेपाली सेनालाई सहयोग गर्न कालापानीतर्फ लागे। ‘एसएलसी परीक्षाको नतिजा कुरेर बसेको मलाई हतियार बोकेको सेनासँग हिड्दा कहाँ फसियो जस्तो लागेको थियो। मैले ज्यानको आशा पनि मारिसकेको थिए,’४४ वर्ष अगाडिको घटना सम्झँदा अहिले पनि जीतसिंह उत्साही हुने गर्छन्।

६३ वर्षको उमेरमा हाल उनी ‘खम्पा बिद्रोह’ का कमाण्डर वाङ्दी लामा मारिएको स्थानदेखि १० किलोमिटर तल छाङरुस्थित गागा भन्ने ठाउँमा होटल सञ्चालन गरेर बसेका छन्।

 हरि अधिकारी  -धारा ३७० खारेज गरिएपछिको काश्मिर

कैलाश मानसरोवर जाने पर्यटक आफ्नो होटलमा बसेको खण्डमा अहिले पनि उनी ४४ वर्ष अगाडि ‘खम्पा बिद्रोह’ दबाउन नेपाली सेनाले देखाएको बहादुरीको प्रसंसा गर्न चुक्दैनन्।

उनी नेपाली सेनाको यो अभियानमा आफू पनि सम्मिलित हुन पाएकोमा धन्य मान्छन्। ‘त्यो घटना सम्झँदा अहिले पनि उत्साही हुन्छु,’ केही समयअघि तिकंरमा भेटिएका जीतसिंहले बीएल नेपाली सेवासँग भने।

अमेरिकी जासुसी संस्था ‘सिआईए’ सँग ‘गुरिल्ला वार’ को ट्रेनिङ लिएर तिब्बत कब्जा गर्ने अभियानमा हिडेको दलाई लामाको यो दलसँग नेपाली सेनाको भेट लिपुलेक नजिकै भारत जाने बाटो टाटा भन्ने ठाउँमा भएको थियो।

‘दलाई लामाको सेनाले मुस्ताङलगायत अन्य ठाउँमा स्थानीय नेपालीलाई दुःख दिइसकेका रहेछन्। सिमिकोटबाट भाग्न खोजेका तिब्बती सेनाको विषयमा चीन सरकारले नेपाललाई जानकारी गराएको रहेछ,’ ‘खम्पा बिद्रोह’ मा सम्मिलित भएका जीतसिंहले भने, ‘तिब्बतलाई स्वतन्त्र गराउने अभियानमा हिडेका कमान्डर वाङ्दी लामालाई रोक्न चीन सरकारले विशेष रुपमा नेपालसँग अनुरोध गरेको रहेछ।’

भो अति भो, कति दोष दिनु सतीलाई ?

वाङ्दी सिमिकोटको बाटो हुँदै महाकालीको तिरबाट भारततर्फ भाग्ने अभियानमा थिए। यति नै बेला नेपाली सेनाको एउटा दस्ताले लिपुलेकको टाटा भन्ने ठाउँमा उनीहरूलाई एम्बुसमा पार्यो।

जीतसिंह त्यो घटना सम्झिँदै भन्छन्, ‘वाङ्दी लिपुलेक छिचोल्दै ठूलो घोडामा हतियार र सानो तोपसहित तल झर्दै थिए। मैले सेनालाई तल्लो बाटो खतरा छ माथिबाट जाउँ भनेर हिउँको बाटो फोर्दै माथी पुर्याए।’

उनी भन्छन्, ‘मर्ने बाच्ने केही ठेगान थिएन। तर, मैले नेपाली सेनालाई उपयुक्त बाटोबाटै लगेको रहेछु। उनीहरूसँग बाटोमा जम्का भेट भएन। वाङ्दीहरू तल झर्दै गर्दा हामी टेन्ट गाडेर हिउँमाथि पोजिसन बनाएर बसिसकेका थियौं।’

तिब्बती सेनासँग नेपालको २९ भदौंमा भिड्न्त भएको थियो।

‘मलाई अझैं याद छ, बिहान ९ बजेदेखि सुरु भएको भिड्न्त दिउँसो ३ बजेसम्म जारी थियो। बारुदको ठूलो आवाज। आँखाले केही नदेखिने। हामी टेन्टमा २६ जना थियौं। नेपाली सेना तल छाङरु र तिकंरमा पनि फैलिएर बसेका थिए,’ जीतसिंहले सम्झिँए।

युद्धमा ५ तिब्बती मारिए। उनीहरू ५५ जनाको जमातमा थिए। फौजका इन्चार्ज वाङ्दी लामा नेपाली सेनाका जमदार धनबहादुर चन्दको राईफलबाट निस्किएको गोली लागेर त्यहीँ ढले।

हिरोइन बन्ने शौख पालेकी दीपा यसरी बनिन् डाक्टर (भिडियोसहित)

‘वाङ्दी ढल्ने वित्तिकै तिब्बती सेनाहरू तलाउको बाटो हुँदै हतियार छोडेर कालापानीतर्फ भागे। उत्तैबाट भारत प्रवेश गरे,’ उनी भन्छन्।

लडाईमा सरकारले लाखौंको सम्पत्ति जफत गरेको थियो। नेपाली सेनासँगको जम्काभेटपछि तिब्बती सेनाले ज्यान जोगाउन सम्पूर्ण खर–खजानासहित गोली बारुद्ध, ८० केजीको तोप र सेनाका सेता ठूला ठूला घोडासमेत छोडेर भागेका थिए।

जीतसिंह भन्छन्, ‘वाङ्दीको शरीरबाट थुप्रै रकम निस्किएको थियो। नेपाली सेनाले मरेको लाशलाई ओल्टाई–पोल्टाई गरेर रुपैयाँको बन्डल खानतलासी गर्दैथियो।’

नेपाली सेनालाई सहयोग गरेबापत जीतसिंहले पछि राजा वीरेन्द्रबाट गोर्खा दक्षिणबाहु तेस्रो प्राप्त गरे। वाङ्दीलाई मार्ने जमदार धनबहादुर नेपाल ताराबाट सुशोभित भए।

‘वाङ्दीको लास हेर्न राजा वीरेन्द्र पनि तिकंर आउने हल्ला चलेको थियो। तर के कारणले हो, उनी आएनन्,’ जीतसिंह भन्छन्। 

नेपाली सेनाबाट ज्यान जोगाएका बाँकीका ५० जना तिब्बती सेनाहरू भारतमा पर्ने गुन्जी गब्र्याङ गाउँ हुँदै राजधानी दिल्ली पुगेका खबर पछि प्राप्त भएको थियो।

‘तिकंर काण्ड’ भएको केही समयपछि नै राजा वीरेन्द्रले यस क्षेत्रको हवाई भ्रमण गरेका थिए। वीरेन्द्रको भ्रमणलगत्तै निकै बिकट मानिएको यो ठाउँबाट दार्जुलाको खलंगासम्म गोरेटो बाटो निर्माण गर्न लगाएका थिए।

नेपालमा २०४६ सालमा प्रजातन्त्र आयो। २०६३ सालमा गणतन्त्र। तर, दार्चुलावासीले न प्रजातन्त्र आएको अनुभव गर्न पाए न गणतन्त्र नै। २०३६ सालयता दार्चुलामा विकाश निर्माणका एउटै काम हुन सकेका छैनन्।  

दार्चुलाले २०४६ सालयता हालसम्म ७ जना सांसद राजधानी काठमाडौं पठाइसकेको छ। यसबीचमा कोही मन्त्री पनि भएका छन्। तर यो क्षेत्रका जनताले कहिल्यै स्वतन्त्र र स्वाभिमानका साथ बाच्न पाएका छैनन्।

जौमतिको चिन्ता : छोरी बिक्दिन कि!

महाकालीको मुद्धा ज्यूका त्यू छ। पछिल्लो समय आएर लिपुलेक पनि थपिएको छ।

६ महिना हिमाल र ६ महिना पहाडी क्षेत्र खलंगामा बस्ने शौका जातिलगायत यस भेगका मानिसहरू विगत २२ वर्षदेखि भारतीय बाटो भएर आवत–जावत गर्छन्।

‘हाम्रो नियती अहिले पनि हामीले भारतकै बाटो भएर ओहोर–दोहोर गर्नुपर्छ। कालापानीको नामले यहाँ जनता प्रत्याडित भइरहेका छन्,’ उनी भन्छन्।

सामरिक महत्व बोकेको दार्चुलालाई सरकारले सौतनी व्यवहार गरेको प्रष्ट छ। यहाँबाट बहादुरसिंह ऐतवाल राष्ट्रिय पञ्चायतको सदस्य हुँदै सहायक वन मन्त्री पनि हुन भ्याए। उनको कार्यकालमा लिपुलेकसम्म गोरेटो बाटो खुल्यो। तर, त्यसपछि विकाश निर्माणका सबै काम ठप्प छ।

जीतसिंहले ‘तिकंर काण्ड’ मा सहयोग गरेबापत नेपाली सेनाबाट ३ हजार बक्सिस पनि पाएका थिए। वाङ्दी मारिएको ठाउँमा अहिले पनि गोलीका पुराना खोकाहरू भेटिने गरेका छन्। उनी यो ठाउँ ऐतिहासिक र पर्यटन दुबै हिसाबले महत्वपूर्ण रहेको बताउँछन्।

र, सरकारसँग यो क्षेत्रको विकाश र विस्तारका लागि ‘खम्पा बिद्रोह’ को अध्ययन केन्द्रको रुपमा स्थापना गर्न माग गर्छन्। 

Comments

आभास धरानन्द राजोपाध्याय/ नेपालन्यूज