आहा! नेपालगन्जको मुबारक विरयानी!(भिडियो रिपोर्ट)

ग्राहकका लागि तयारी विरयानी पस्कदै मुबारक। तस्बिरः बिएल

 

पश्चिम नेपालको आर्थिक हव नेपालगन्ज बिभिन्न धर्म, सम्प्रदायको विविधतायुक्त शहर पनि हो।

नेपालगन्ज तराईको पुरानो सहर हो। साविक मध्य र सुदूरपश्चिमाञ्चलका २४ जिल्लाको व्यापारिक र शैक्षिक केन्द्र नेपालगन्ज विकास निर्माणमा अगाडि बढेको छ।

यहाँ बिभिन्न स्वादका परिकारहरू खान पाईन्छ। नेपालगन्जमा केही यस्ता खानेकुरा छन् जुन नखाई नेपालगन्जको यात्रा पुरा हुँदैन। खानाको पहिलो सूचिमा विरयानी पर्छ। यस्तै पान, पानीपुरी, राबडी, चाट, लस्सी, मलाई चाय र हलुवा पराठा नेपालगन्जका पर्याय परिकार हुन्।

बाहिरबाट आउने जोकोहीले विरयानी मन पराउँछन्। साधारणतया मासु र भात एकै ठाउँ मिसाएर बनाएको स्वादिष्ट परिकारलाई विरयानी भनिन्छ।

नेपालगन्जभरी अधिकांश स्थानमा विरयानी पाइए पनि पकाउने व्यक्तिको पाककलाका आधारमा त्यसको स्वाद फरक हुन्छ।

यहाँ मुवारक विरयानी चर्चित छ। पुस्तेनी व्यवसाय मुबारक विरयानी नेपालगन्जको ब्रम्हकुमारी टोलमा साँघुरो बाटो पार्किङ गर्ने पर्याप्त स्थान नभए पनि यहाँ स्वादका पारखीहरूको लाइन लाग्छ।

बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म मात्र पाइने मुबारक विरयानी नेपालगन्जमा खुलेको ६५ वर्ष भइसक्यो।

आफ्ना बुबाले खोलेको व्यसायलाई मुबारक अन्सारीले अझ फैलाए। स्वादमा कुनै सम्झौता नगर्ने उनी मासु लिन सधैं आफैं पुग्छन्। र आफ्नै आँखा अगाडि काटेको खसीको मासु लिएर आउँछन्। बिहान ६ बजेदेखि घरका सबै सदस्यहरू यसमा ब्यस्त हुन्छन्।

मुबारककी श्रीमतीले विरयानी बनाउँन सिपालु छिन्। अरूले मासुका आइटमहरू बनाउँछन्। ९ बजे आउने ग्राहकका लागि उनीहरूले साढे ८ बजे भित्रै रेडी बनाएर राख्छन्।

मावलाका हजुरबा भारतीय सेनामा खाना पकाउने जागिरे थिए। उनैले त्यहाँ सिकेको सिप आफ्ना ज्वाईँलाई भनेपछि नेपागन्जमा मुबारक विरयानी पसल खुलेको हो।

‘करिब ६५ वर्षअघि बुबा खुदाबक्स र नानी (मावलका हजुरबा) ले खाजा पसल खोले। नानी भारतीय सेनामा कुक थिए। उनैको शिप र नयाँ नयाँ परिकार बनाउने बानीले बुबाले एउटा खाजा/खाना पसल चलाएको थियो,’ उनले भने।

सुरूमा मासुभात, मासुरोटी, खाना बिक्री हुने हुन्थ्यो। त्यो समयमा विरयानी त्यति चल्दैन थियो। सुरूमा आठ आना/चार आनामा खाजा बिक्थ्यो।

त्यसपछि बिस्तारै विरयानीलाई कसरी स्वादिलो बनाउने भन्ने ध्याउन्नमा उनी लाग्न थाले।

बुबाको बिडो थाम्ने क्रममा उनले १२ वर्षकै उमेरमा आफू पसलमा बस्न थालेका थिए। ‘४५ वर्ष भयो, यो ब्यापार गर्न थालेको स्वादमा कहिल्यै फरक भएको छैन,’ स्वादको गुणस्तरबारे उनले भने,‘यो एउटा फेमिली बिजनेश हो। यहाँ श्रीमतीले विरयानी बनाउँछिन्। चार भाइ छोरा र ५ बहिनी छोरी छन्। उनीहरू सबै काममा जुट्छन्। स्वाद र गुणस्तरमा कुनै सम्झौता हुन्न।’

सुरूमा बुबाकै नाम चल्थ्यो। त्यसपछि जब उनी पसलमा बस्न थाले त्यसपछि बुबाको सट्टा अरूले उनैकै नामको पसल भन्न थालेपछि पसलको नाम मुबारक विरयानी कर्नर राखेका रहेछन्।

उनको पसल बिहानको ९ बजेदेखि दिउँसो २ बजेसम्म मात्र खुला हुन्छ। शुक्रबार बन्द रहन्छ।

‘दैनिक २५ केजी खसीको मासु र ५ केजी कुखुराको मासुको विरयानीलगायत अन्य परिकार बिक्री हुन्छ सकिएमा अरू ल्याइँदैन त्यो १-२ बजेसम्म सकिइसक्छ,’ उनले भने,‘यहाँको प्रमुख विषेशता गुणस्तर नै हो।’

‘मासुका लागि म आफैं जान्छु, आफ्नै आँखा अगाडि मासु नकाटेसम्म आफूलाई विश्वासै लाग्दैन। मेरो सफलता र विश्वासको एक मात्र कारण स्वाद र गुणस्तर हो,’ उनले दाबी गरे।

यहाँ विरयानी मात्र होइन। रोटी, मटन तरकारी, मटन कोरमा, मटन किमा, मटन दाल गोरत, मटन कलेजझ र मटन कबाब, मटन कलेजो बिक्री हुन्छ।

छोरीछोरीसँगै उनले पाँच जनालाई रोजगारीसमेत दिएका छन्।

भनिन्छ, यदि कसैको मन जित्नु छ भने मीठो खाना खुवाउनुहोस् । खानासँगै तपाईं कसैको मनभित्रै पस्न सक्नुहुन्छ । यही विषयलाई मनन गरेर यी मुबारकले नेपालगन्जको एउटा सानो गल्लीमा खोलेको ‘विरयानी कर्नर’ ले नेपालगन्ज आउने जो कोहीलाई तानेकै हुन्छ।

विरयानी विभिन्न किसिमका हुन्छ। सादा विरयानीदेखि मसालेदार विरयानीसम्म यहाँ पाइन्छ।

स्वाद पारखीको कुरा हो। यहाँ नेता कार्यकर्तादेखि मन्त्री र राजदूतसँम्म यहाँ आउँछन्।

भारत्तोलनका खेलाडी उनी बाध्यताले व्यवसायी बनेका रहेछन्।

युवा अवस्थामा मुबारक भारत्तोलनका अब्बल खेलाडी थिए। राष्ट्रिय खेलाडीका लागि छानिएका उनी ट्रेनिङ गर्दा गर्दै बा बिरामी भए पछि गेम खेलौ कि, पेट हेरौ भन्ने भयो त्यसपछि गेम छोडेर उनी व्यवसायमा लागे।

ठूला ठूला हाकिमदेखि नेता मन्त्री सबै आउँछन्। यहाँको स्वादको चर्चा जताततै फैलिएको छ। अमेरिकी राजदूतसमेतले उनको पसलमा आएर विरयानी खाएका छन्।

नेपालगन्जमा उनको देखि बाहेक अरू पनि मुबारक नामका विरयानी पसल खुलेका छन्। तर स्वादका पारखीहरू उनको पसल छोडेर अन्यत्र जाँदैनन्। घरमै पसल राखेका उनले यसकै कमाइले साढे तीन तलाको घर बनाएका छन्।

आफ्नो व्यवसायप्रति खुसी देखिएका उनी परिवारको पुरै साथले आजको यो स्थितिमा आएको बताउँछन्।

‘छोरा छोरीहरूले मलाई पुरै साथ दिएका छन्। अन्त जागिर खाँदै गरेको छोरा पनि यतै लागेको छ,’ अहिले हामी खुसी र व्यवसायप्रति सन्तुष्ट छौ,’ उनले भने।

बुबाले धानेको व्यवसायमा काम गर्न पाउँदा आफूलाई गर्व लाग्ने मुबारकका जेठा छोरा साजन सारी अन्सारीले बताए।

‘बुबाले सम्हालेको बिजनेशमा लाग्न पाउँदा गर्भ महसुस भइरहेको छ। यति मेहनत गरेर बुबा र हजुरबाले गरेको मेहनतलाई साथ दिन पाउँदा खुसी लाग्छ,’ उनले भने।

यहाँ गुणस्तरमा कहिलै सम्झौता नहुने दोहोर्‍याउँदै उनले यसको राज स्वादमा एक रूपता र फेमली बिजनेश नै भएको दाबी गरे। ‘ममीले बनाउँहुन्छ। हामी पनि सिकिरहेका छौ’, उनल भने।

बाजिद अलीले परिचत गराएका थिए विरयानी

भारतको उत्तर प्रदेश अवधका नबाब वाजिद अलि शाहले सबैभन्दा पहिला विरयानी बनाएको इतिहासमा पाइन्छ।

उनी नबाब अमजद अलि शाहका दशौँ सन्तान थिए भने उक्त राज्यका अन्तिम नबाब थिए। सन् १८४७ मा उनले अवध राज्यको जिम्मेवारी सम्हालेका थिए । अवध राज्यमा उनले नौ वर्ष राजकाज चलाए । नबाब वाजिद कवि, नाटककार, संगीतकार र नर्तक पनि थिए । उनले नै धेरै कला र संस्कृतिलाई परिचित गराए ।

कथ्थक नृत्यलाई पनि उनैले परिचित गराएका थिए । १८५६ मा ब्रिटिस सरकारले अवध राज्य कब्जा गरेपछि उनी कलकत्ता धपाइए । कलकत्तामै उनले आफ्नो सानो महल खडा गरे । उक्त महल खडा गर्ने क्रममा कामदारलाई खुवाउन उनीसँग रासन कम थियो । त्यसैले उनले चामलमा आलु मिसाएर विरयानी बनाउन लगाए । भारतमा हैदराबाद, कलकत्ता र लखनउ विरयानीमा चर्चित छ।

मेनु

  •   मटन विरयानी १ हाफ- रू १२०
  •   मटन करी १ हाफ- रू १४०
  •   मटन कोरमा १ हाफ- रू १४०
  •   मटन कीमा  १ हाफ- रू १२०
  •   मटन दाल गोरत १ हाफ- रू १६०
  •   मटन कलेजो १ हाफ- रू १४०
  •   मटन कबाब १ पिस- रू २५

सम्पर्कः मुबारक अन्सारी- ९७४८००९७१५,९८४४८२०७८६, ८०४५६५०६६

Comments

आभास धरानन्द राजोपाध्याय/ नेपालन्यूज