भो अति भो, कति दोष दिनु सतीलाई ?

सती अर्थात्  काजी भीम मल्ल कि पत्नी वा भीमसेन थापाकी पत्नी : एक प्रतिकात्मक तस्बिर ।
काठमाडौंको बालुवाटार । नामै पर्याप्त छ । नेपालको 'राजा' ठाउँ हो यो । तर, धारामा पानी नआएको वर्षौ भयो तर पनि महिनावारी न्युनतम महसुल तिरेको तिरैछिन् मेरी छिमेकी दिदी । शायद दिक्क लागेर हनुपर्छ, उनले एक विहान मुखै खोलेर भनिन्, भाइले पनि त धाराको मिटर राखेवापत् पैसा त तिर्नुभएकै होला । 
 
मैले भने, हो दिदी । के गर्नु ?, तिर्नै पर्यो ।
उनले थपिन्,  के गर्नु यो सतीले सरापेको मुलुक यस्तै हो ।
उनले सतीलाई दोष दिएकोमा मेरो मनलाई चित्त बुझिरहेको थिएन । मैले भने, दिदी बाटो बढ्दा मेरो घर गयो, कम्पाउन्ड गयो । तर, पनि म त्यो भत्केको घरको कर र बाटाले खाएको कम्पाउन्डको मालपोत तिरिरहेकै छु । आफूले मालपोत तिरिरहेको कम्पाउन्डनेर जोडी आएर अंगालो हाल्दै चप्पाचुप्पी गर्छन् , आफू लाजले अर्कोतिर मुन्टो फर्काउनुपर्छ, फर्कारहेकै छु । त्यतिबेला त मेरो पनि मन चसक्क हुन्छ । अनि भनौ भनौं जस्तो पनि लाग्छ, यो सतीले सरापेको मुलुक हो, यहाँ यस्तै हुन्छ ।

दिदीले बिचैमा प्रश्न तेर्साईन, त्यसो भए भन्न मन लागेको कुरा किन नभन्नु भएको त ? आखिर त्यसैका लागि त लोकतन्त्र आएको छ नि । 

मैले भने, भनेर के गर्नु दिदी । धान खाने मुसो चोट पाउँने विरालो जस्तो लाग्छ । आखिर यो सब हामी नै गरिरहेकाछौं । नजानेर हैन, जानी जानी गरिरहेकाछौं । नियत खराव भइभइ गरिरहेकाछौं । तर, हामी त्यसको दोष आफूलाई हैन, उनै विचरी सतीलाई दिइरहेका छौं । यसमा उनको के दोष ? 

दिदीले मुख अमिलो पार्दै सोधिन्, थेगोजस्तै गरेर सबै भन्छन् यो सतीले सरापेको देश हो , यहाँ राम्रो गर्नेको यस्तै हुन्छ । मैले पनि सुनेकै भरमा भन्दै आएको वर्षौ भयो । तपाईलाई त थाहा पनि होला, आखिर यी सती भनेकी चाँहि को हुन् नि भाइ ? 

दिदीलाई सोधें, हजुरसँग समय छ ? छ भने चिया पनि खाउँ एकछिन कुरा पनि गरौं । मैले सुने जानेको कुरा भनिदिउँदा नि दिदी । 

उनले हुन्छ भन्ने संकेत दिएपछि चिया पकाउँदै मैले सतीको बारेमा केही कुरा भन्न थालें । दिदीलाई पनि शायद सुन्नु थियो, ध्यान दिएरै सुन्न थालिन् । 

दिदी, हुन त हाम्रो इतिहास नै पो कहाँ चोखो छ  र ? बिटुल्याइएको गाथा जस्तो छ हाम्रो इतिहास ।  तर, जसले जे भने पनि दुबैको अवस्था एउटै थियो । दुबैले राम्रो काम गर्दागर्दै पनि दरवारको षडयन्त्रले अनाहकमा आफ्ना देशभक्त श्रीमान् गुमाएका थिए । त्यो पनि अत्यन्त पाशविक तरिकाले । त्यसपछि के हुन्थ्यो र ? त्यतिबेलाको चलनअनुसार उनीहरुलाई जिउँदै सोलामा चढाएर सती बनाइयो । जानुअघि विलापमा उनीहरुले भने रे, यो नेपालमा कसैको पनि विवेक नरहोस् । राम्रो गर्ने कसैको पनि भलो नहोस् ।

भावुक हुँदै दिदीले भनिन्, विचरा त्यस्तो पो रहेछ हैं । आखिर सराप त दिएकै रहेछन् नि त भाइ । सत्यवादी भएकाले उनीहरुले दिएको सराप नै लागेर यस्तो भएको होला । नदिएको भए पनि त हुन्थ्यो नि ?
मैले भने, कुरो त्यसो हैन दिदी । खोई दिएको पनि कसैले देखेको हैन, सुनेको पनि छैन । न इतिहासमा नै यो कुरा प्रष्टसँग लेखिएकै छ । एउटा चित्त बुझाउने वहाना मात्र हो दिदी । ल ठीकै छ, दिएकै रहेछन् भने पनि उनीहरुको आत्माको शान्तिका लागि पनि हाम्रो मती सुध्रे हुन्थ्यो नि हैन र दिदी ?

दीदीलाई पनि हो जस्तो लागेछ क्या रे शायद । अवदेखि सतीले सरापेको देश भन्दिन भन्दै जानु पर्यो भाइ भनिन् । दिदीलाई तल गेटसम्म छोड्ने बेलामा मैले थपें, बरु विवेकहीन, स्वार्थी, लम्पट र दुष्ट मती भएकाहरुको देश भने हुन्छ दिदी । जो माथि पुग्छन्, तल झर्नु नै पर्दैन जस्तो गरे जे पनि गर्छन् । आखिर एक दिन सबैले मर्नुपर्छ भन्ने मात्र ज्ञान भए पनि त यति दूरावस्था हुँदैनथ्यो मुलुकको ? 

दिदी हो मा हो मिलाउँदै विदा भइन् । आफ्नो पनि कुरा सुनिदिने कोही मान्छे भेटेकोमा सन्तोषले छात्ति फुलाउँदै म पनि घरतिरै उक्लिएँ । 
 
यो पनि हेर्नुहोस् 
 
 
पाँच वर्षअघिको एउटा सानो घटनाको सम्झनाले फेरि एकपटक नोस्टल्जिक बनें म । सम्झना पनि आउँदैन थियो होला । हिजो मात्र एकजना नेपाली मुलका भुटानी दाइलाई भेटाएको थिएँ । नेपालमै हुँदा चिनजना भएका उनले भने-भाइ तिमी जस्तो मान्छे यहाँ हैन, नेपालमा हुनुपर्ने हो । तिम्रो उपयोग देशले गर्न सकेन । यहाँ त के उपयोग हुन्थ्यो र ?
 
मैले विनम्रतापूर्वक भने- त्यस्तो पनि हैन दाइ । मभन्दा धेरै योग्य मानिस छन् नेपालमा । हो, धेरै योग्य मानिस सडकछाप पनि छन् । र, त्योभन्दा धेरै अयोग्य मानिस पदमा छन् । यो एक किसिमको विडम्वना हो । त्यसैको प्रतिफल हो आजको नेपाल ।
 
उनले मेरो कुरामा त्यति चित्त नबुझाएजस्तो गरेर भने- 'सतीले सरापेको देश हो नेपाल । त्यहाँ राम्रो गर्नेको भलो हुदैन भाइ । त्यसैले त हाम्रा पुर्खा पनि बसाइ सरेर भुटान पुगे । भुटानबाट हामी आफ्न्नै पुर्खाको देशमा फर्कदा शरणार्थी भनेर शिविरमा थुनिदिए । अहिले हामी यहाँ छौं । कसैलाई हाम्रो यो रहर लाग्ला तर यो रहर हैन, वाध्यता हो ।'
 
मैले भने-दाइले भनेको पनि ठीकै हो । तर, मलाई चाँहि यसमा सतीको केही दोष छ जस्तो लाग्दैन । यसका लागि हामी सबै आआफ्नो ठाउँमा जिम्मेवार छौं कि ?
 
उनले मेरो भनाइमा त्यति सहमति जनाए जस्तो लागेन । साँझ झर्न लागेको थियो । फेरि पछि भेटेर कुरा गरौला भन्दै हामी छुट्टियौं । 
 
यो पनि हेर्नुहोस् 
 
 
यी त त एउटा सामान्य दृष्टान्त मात्र हो, सतीले सरापेको मुलुक भनेर सतीलाई नै लान्छाना लगाउने हाम्रो मूर्खताको । हामी जानेर नजानेर गलत कार्य गर्छौ । अनि त्यसको तर्कसंगत कारण खोज्नेभन्दा पनि आफूलाई ओभरस्मार्ट देखाउँदै ठाउँ कुठाउँ प्वाक्क भनिहाल्छौं, यो सतीले सरापेको देश हो । यहाँ कसैको विवेक हुँदैन । यहाँ राम्रो गर्ने कसैको पनि भलो हुदैन ।
 
हुन पनि हो, अपवादलाई छोडेर यो मुलुकमा त्यस्तै भएको छ । धारामा पानी आउँदैन, सतीले सरापेको मुलुक । घरमा बिजुली आउँदैन , सतीले सरापेको मुलुक । कार्यालयमा नजाराना नदिई फाइल नै चल्दैन, सतीले सरापेको मुलुक । लुट्न पाइएन भनेर पेटेलपम्प बन्द हुन्छ, सतीले सरापेको मुलुक । पशुजस्तो मान्छे कोचेर मार्न पाइएन भनेर सिन्डीकेटवालाहरु हड्ताल गर्छन्, सतीले सरापेको मुलुक । राज्यको चौथो अंगलाई चुत्थो अंग बनाउन पाइएन, सतीले सरापेको मुलुक । एप्रोन लगाएर विरामी लुट्न पाइएन, सतीले सरापेको मुलुक । न्यायमूर्ती भएर वलात्कारीको पक्षमा न्यायको तराजु ढल्काउँछन्, सतीले सरापेको मुलुक । कालो कोट लगाएर बलात्कारीको पक्षमा वकालत गर्छन्, सतीले सरापेको मुलुक । 
 
प्रश्न हाम्रो विवेकहिनता, स्वार्थलोलुपकता, अकर्णमन्यता, वेविचार र नालायकीपनको हो, कुनै सतीको सरापको हैन र हुँदै हैन । सती नामका ती विचरा त यसै पनि पीडित थिए र जिउँदै जल्नुअघि पीडामा बर्बराइरहेका थिए, यो देशमा कसैको पनि भलो नहोस्, कसैको पनि विवेक नहोस् । अनि हामी आज पनि आफ्नो स्वार्थ बचाउका लागि तिनहिरुलाई अपजस दिएर भनिरहेका छौं, यो सतीले सरापेको मुलुक हो । यहाँ कसैको पनि विवेक नरहोस् । कसैको पनि भलो नहोस् ।
 
हो मुलुकको अवस्था यस्तै हो, विवेक नरहेको पनि हो, राम्रो गर्नेको भलो नभएको पनि हो । तर, त्यसको कारण सतीको सराप हैन, हाम्रो खराव नियत, असक्षमता स्वार्थलोलुपता र यस्तै यस्तै दूर्गुणहरु हुन् । तैपति हामी भन्न छोडेका छैनौं, यो सतीले सरापेको देश हो । यहाँ कसैको पनि विवेक रहदैन, यहाँ राम्रो गर्ने कसैको पनि भलो हुँदैन । यसो भनेर फेरि पनि हामी हाम्रा नालायकीको वचाउ गरिरहेका छौं । यसो गर्दा फेरि पनि हामी तिनै जिउँदै जलाइएका अवलाहरुलाई सराप दिएको भनेर अप्जसको भारी  बोकाइरहेका छौं । कति दिनु यस्तो अव्जस ? कस कसले दिनु यस्तो अप्जस ? अब त अलि बढी नै भएन र ? 
 
 

Comments