जौमतिको चिन्ता : छोरी बिक्दिन कि!

तिलागुफा नगरपालिकाको उपमेयर दर्शनाकी आमा जौमती तस्बिरः बिएल

 फोइमा बिएल -३ 

‘चुनाव सकियो।मत परिणाम सार्वजनिक भयो।कसैले ‘तिम्री छोरीले चुनाव जिती’ भनेर जौमतीको कानमा पुर्‍याइदियो।उनी हेरेको हेर्‍यैभइन्।न खुशी हुन सकिन् न दु:खी हुन नै।न रुन सकिन् न हाँस्न नै।सारा कार्यकर्ता आएर उनको गलामा फुलमाला लगाइदिदासम्म पनि उनी एकोहोरिरहेकी थिइन्।’

२०४० सालमा एसएलसी पास गरेपछि फरक परिचय बनेको थियो खम्मीलाल नेपालीको। दलितको छोरोले एसएलसी गरेको खबर सबैको घर-आँगनसम्म पुग्यो। त्यही कुराले एकाएक चर्चित बनायो खम्मीलाललाई। यस्तो मान्छेलाई बहिनी दियो भने सुख पाउँछे भन्ने लाग्यो दाइहरूलाई र फकाइफुलाई गरी १२ वर्षकी जौमतीको खम्मीलालसँग बिहे गरियो।

अघिल्लो दिनसम्म बाबु-आमाकी छोरी। दाइ-भाइकी दिदी-बहिनी रहेकी उनले त्यसदिनबाट खम्मीलालकी श्रीमतीको परिचय बोकिन्। सासुकी बुहारी भइन् अनि भइन् नन्दकी भाउजू। बाल्यकालको कलिलो ढाडमाथि जिम्मेवारीको पहाड बोकाइन्।

स्वास्थ्य र शिक्षाको अभावमा मान्छेले अनेकन उपाय खोज्छन्। निरक्षर मानिसको जमातमा एसएलसी पास भएका खम्मीलालले बिहे गर्नुअघि कडा शारीरिक श्रम र पोषणबिहीन खानाले बिरामी परेकाको उपचारको माध्यम तन्त्रमन्त्र बनाएका थिए। जसले उनलाई समाजमा तन्त्रमन्त्र जानेको तान्त्रिकका नामले परिचित बनायो। उनी बाबिरो मस्टोका धामी पनि। त्यस क्षेत्रकै बिरामीको उपचारमा उनको नाम पहिलो नम्बरमा आउने। मिजासिला स्वभावका उनी विरामीको मनोविज्ञान बुझेर तन्त्रमन्त्रको माध्यबाट उनीहरुलाई मनको सन्तुटि दिलाउन सक्थे।

यसै कारणले उनी फुर्सदिला हुँन पाएनन्। रात, मध्यरात, बिहान, दिउँसो जुनसुकै समयमा पनि ‘नाम लियो कि सैतान हाजिर’ भनेझैं उनी पुगिहाल्ने। जौमती लोग्नेलाई यसरी सम्झिन्छिन् ’कोही बिरामी भए आम्नो(आफ्नो) काम छोडेर हतारहतार गैहाल्ने। आम्नो कामको वास्तै नगन्या।’

जौमतीले बोकेको जिम्म्वारीको पहाड झन् चुलिदै गयो। उनी १६ वर्षकी भएको बेला पेट बढाइन्।अनि भइन् छोरीकी आमा। चार वर्षपछि उनी फेरी दुई जीउकी भइन्। त्यसबेला सबैले छोरो हुन्छ भनेका थिए। तर, त्यस्तो भएन छोरी नै जन्मिन्।

कालिकोटमा साच्चैको नमूना स्कुल (भिडियोसहित)

२०५९ को स्थानीय निकायको चुनावमा खम्मीलालले वडा अध्यक्षको चुनाव जिते। त्यसको खुसियाली पनि छोरो जन्मेपछि सँगै भाेज गर्ने कुरा थियो। तर, छोरी जन्मेकाले भोज दिने कुरा पनि तपसिलको कुरा बन्यो। छोरीको जन्मपश्चात जौमतीको सुत्केरीको पीडा विस्तारै कम भयो। तर, अरु व्यथाले च्याप्दै गयो। बेलाबेलामा बिरामीले थलिन थालिन्। अस्पतालको पहुँच कम र तन्त्रमन्त्र जानेका धामीसँग बढी हेलमेल भयो। समाजमा धेरैलाई बिरामी हुँदा तन्त्रमन्त्रको माध्यमबाट सन्तुष्टि दिन सक्ने खम्मीलालको उपचारले जौमतीलाई खासै छुन सकेन। कहिले थोरै निकोजस्तो देखिने तर फेरि उस्तै हुने। देउताको नाममा छ महिनामा ८ वटा खशी तिरिए। तरपनि निको भएन।

कहिले सन्चो कहिले बिसन्चोमा दिन वित्दै गए। आठ वर्ष भएपछि ठूली छोरी दन्ता स्कुल जान थालिन्। त्यसबेला गाउँले छोरी पढाउन हुँदैन भन्थे। जौमीतीका लोग्ने-स्वास्नीले सल्लाह गरे छोरी पढाउनुपर्छ भने। खम्मीलालको निर्णयमा विमति जनाउन सक्ने कोही थिएन। त्यसैले दन्ताको स्कुल जाने बाटो कहिले बिरानो भएन।

स्कुल जाँदाजाँदै ११ वर्षको उमेरमा उनले बाटो मोडिन्। घर छोडिन्। बिहे गर्नलाई होइन, माओवादीको पूर्णकालिन कार्यकर्ता बन्न। ओठ निचोरे दुध आउने दन्ता माओवादी पूर्णकालिन कार्यकर्ता बन्न भनेर हिडिन्। दन्ताबाट दर्शना बनिन्। दन्ता नेपाली उर्फ कमरेड दर्शना।

घरमा उतिसाह्रो काम नगरेकी, लामो बाटो नहिडेकी दर्शनालाई पूर्णकालिन कार्यकर्ता बन्न सजिलो थिएन। हुन त राजनीति गुलाफ बिछ्याइएको बाटोमा हिड्नु होइन। जानी-जानी दु:ख पाउने बाटो रोज्नु हो। जनताको सेवा गर्ने भावनाले ओतप्रोत हुने हो।

यसैबीच घरपरिवारले उनलाई घर फर्काउन खोजे। माओवादी अग्रज कार्यकर्ताले पनि धेरै पढेपछि जनसेना बन्न सजिलो हुन्छ भनेपछि उनी घर फर्किन् र पढ्न थालिन्।

दर्शनाको घर फर्काइले जौमती खुशी भइन्। अब छोरीलाई धेरै पढाउने उनको बाटो खुलेको थियो। छोरी पढेर सबथोक गरोस् तर चाँडै बिहे नगरोस् भन्ने लाग्थ्यो। त्यही भएर छोरीलाई आफ्ना दु:ख सुनाउदै फकाउँथिन। कहिलेकाहीँ भन्थिन्- ‘मो तिमीहरुको साल समयकी भएर पढ्न मात्तै पाएकी भए बिहे नगरी बस्ने थिएँ।’

आमाको उक्त भनाइको प्रभाव दर्शनामा परेको छ। उनी आफ्ना बाबुले आमाको लागि गरेको दुःख सम्झिन्छिन्। आफू जन्मेदेखि हालसम्म पनि पहिचान नभएको र निको हुन नसकेको रोगले बेलाबेला थला परिरहने आमाको निम्ति अनेक थोक गरेकोबाट बाबुको जस्तो त्याग दुनियाँमा कम मान्छेले गर्छन् जस्तो लाग्छ। दर्शनाले बाबुजस्तो साथ दिने साथी नभेटिएसम्म बिहे नगर्ने अठोट गरी बसेकी छन्।

नमूना स्कुलको नमूना काम : भण्डारा दाजुभाइलाई शिक्षाको न्यानो घाम

हुन त जौमतीलाई छोरीको बिहे नभएको देखेर थुप्रै मान्छेहरु अनेक थरि कुरा सुनाउँछन्। उनलाई पीर पर्छ। सबैभन्दा बढी पीर ‘अब तेरी छोरी बिक्दिन’ भनेर सुनाएपछि पर्छ। छोरी मान्छेलाई बिकाउन खोज्ने सामाजिक संरचना पितृसत्ता हो भनेर त बुझ्दिनन्। तर, पनि उनी सधैं यो चिन्तनको विपक्षमा उभिइन्। यस्तो बेला मुखभरिको जवाफ फर्काउन मन लाग्छ। तर, सबै प्रश्नको जवाफ दिन उचित नठानेर मनमनै भन्छिन् ‘छोरीले जे गरेकी छ ठीक छ। अब केही चिन्ता छैन। पढेकी छ। दुई कुरा जानेकी छ। राम्रो नराम्रो छुट्याउने भएकी छ। ढुक्क छु। छोरीको निर्णय नै आफ्नो निर्णय भन्ने लागेको छ।'

उनले थुप्रै महिलाले बिहे गरेपछि दुःख पाएको देखेकी छिन्। धेरै बच्चा जन्माएर हैरान भएको देखेकी छिन्। घरमा खाना पुगेन भनेर माइत आएर रोइकराइ गरेको देखिकी छिन्। कतिका सासू-ससुराले हेपेको, लोग्नेले कयौंपटक कुटेको देखेकी छिन्। आफ्ना छोरीले यस्तो सहन नपरोस् भनेर ढिलो बिहे गर्न सुझाइन्। उनी भन्छिन् ‘छोरीहरुको दुःख आफ्नोजस्तो बिरामी जीउले कसरी सहनु ? कति पीर मानिसक्नु ?’

जौमतीका लोग्ने-स्वास्नीले दर्शनाको एसएलसी सकिएपछि काठमाडौं पठाएका थिए। उनले त्यहीँ राजनीति गरिन्। खम्मीलाल र जौमती हिउँदमा छोरी भेट्न काठमाडौंमै पुग्थे र खम्मीलाल हिउँदमा उतैतिर व्यापार गर्थे। वर्षामा फोइमहादेवमा खेतीपाती गर्थे। अन्न उत्पादन राम्रो भएपछि बेचेर छोरीलाई खर्च पठाउँथे। दर्शनालाई खास समस्या थिएन।

दर्शना चाँडै अखिल क्रान्तिकारीकिो विद्यार्थी नेता कहलिन थालिन्। त्यहीबेला विपक्षी विद्यार्थी संगठनसँग लफडा भयो। उनीहरुले जातीय विभेदबाट दर्शनाको मनोबल कमजोर बनाउन खोजे। बाहुन, क्षेत्री र ठकुरीहरुको बस्ती नजिक पिछडिएको दूरदराजमा बस्दा समेत कहिल्यै जातीय विभेद नखेपेकी उनीमाथि राजधानीको सहरमा अमानवीय व्यवहार भयो। यो खबर दु:खद बनेर गाउँमा बसेकी जौमतीसम्म पुग्यो। त्यसबेला जौमतीले हाँस्दै भनिन् ‘छोरी कडा छ र सजिलो छ। आफ्नो मामला आफैँ सल्टाउन सक्छे।’ भयो पनि त्यस्तै। त्यस घटनाले उनलाई जातीय विभेदविरुद्ध संघर्ष गर्ने ऊर्जा त मिल्यो नै, त्यसले उनलाई थप चर्चित पनि बनायो। राजनीतिमा यस्ता लफडा हुनुले व्यक्तिको व्यक्तित्वलाई थप उचाइमा पु-याउँछ।

पछि अखिल क्रान्तिकारीले उनलाई पद्मकन्यामा स्ववियु अध्यक्षको टिकट दियो। संगठनले राम्रो तयारी गरिरहेको थियो। विद्यार्थी संगठनबीचको विवादले निर्वाचन हुन सकेन। उनको चुनाव लड्ने धोको पूरा भएन। यसैबीच संविधान निर्माणपश्चात पहिलोपटक स्थानीय तहको निर्वाचन हुँने भयो। स्थानीय तहको निर्वाचमा भाग लिन भनेर उनी काठमाडौंबाट कालिकोट आइन्। उनले तिलागुफा नगरपालिकाको मेयरको टिकटको लागि संघर्ष गरिन्। तर, मेयरको टिकट पाइनन्। नेपाली राजनीतिक नेतृत्वले जतिसुकै समानताका आदर्श छाँटेपनि स्थानीय तहको प्रमुख वा उपप्रमुखमध्ये एउटा महिला हुने अनिवार्य कानुनी प्रावधानमा टेकेर महिलालाई उपप्रमुख पदमा सिमीत गराए। दर्शनाले पार्टीको चेन-अफ-कमान्ड भनेर उपप्रमुखको टिकटमा चित्त बुझाइन्।

उपमेयर दर्शना।

छोरी चुनाव लड्ने भएपछि खम्मीलाल र जौमतीको खुशीको सीमा रहेन। दुःख पनि उत्तिकै गर्नुपर्ने थियो। पार्टीले गर्ने तयारीका अतिरिक्त प्रचार सामग्रीको तयारी गर्नुपर्ने, मान्छे खटनपटन गर्नुपर्ने, आफन्त भेटघाट गर्नुपर्ने। निर्वाचनमा खटिएकाको लागि खानपिनको व्यवस्था मिलाउनुपर्ने सबै एकैसाथ गर्नुपर्ने भएपछि उनीहरुको सातो जालाजस्तो भएको थियो। तर व्यवस्थापन भयो। तीन चार लाख जति खर्चको जोहो भयो। जौमती प्रचार सकेर आउँने कार्यकर्तालाई खानपिनको व्यवस्था मिलाउथिन्। सकेसम्म मिठो खुवाएर कार्यकर्तालाई खुशी बनाउने प्रयास गरिन्। मासुभात पनि खुवाउथिन्। भन्छिन् ‘चुनाव अगाडि घरमा पालेका कखुरा, खरायो सब छोरीले नेठी (सकाई)।’

चुनावताका धेरैले छोरीलाई उमेद्वारी फिर्ता गर भनेर फाकाउन आए तर उनले मानिनन्। छोरीले कसैलाई नटेरेपछि बा-आमा झन् उत्साहित भए। चुनाव सकियो। मत परिणाम सार्वजनिक भयो। कसैले ‘तिम्री छोरीले चुनाव जिती’ भनेर जौमतीको कानमा पु-याइदियो। उनी हेरेको हर्यै भइन्। न खुशी हुन सकिन् न दु:खी हुन नै। न रुन सकिन् न हाँस्न नै। सारा कार्यकर्ता आएर उनको गलामा फुलमाला लगाइदिदासम्म पनि उनी एकोहोरिरहेकी थिइन्।

छोरीले चुनाव जित्दा देशकै कान्छी उपप्रमुख भनेर पत्रपत्रिकामा समाचार आएको थियो। कान्छी उपप्रमुख काम परिपक्वको हुन्छ या आलोकाँचो त्यो त हेर्न बाँकी नै छ। लाग्छ जौमतीकी छोरी अहिले ल्यावमा छिन्। हेरौं कस्तो रसायनिक प्रतिक्रिया आउँछ।

छोरीले राम्रो गर्छे भन्नेमा उनी ढुक्क छिन्।

Comments

आभास धरानन्द राजोपाध्याय/ नेपालन्यूज