दाइ, म किन नजाउँ विदेश ?  एक प्रतिकात्मक तस्बिर : एजेन्सी

सञ्जु सानैदेखि तेज़ दिमाख भएको एक मेधावी युवा हो । म उसलाई सानैदेखि चिन्छु ।

स्कुलमा हुदा पढाइमा मात्र हैन, अतिरिक्त क्रियाकलापमा पनि उनी सधैँ प्रथम हुन्थे । निम्नवर्गमा जन्मेका सन्जुका वावु-आमाले गाउँघरमा चामल मकै खरिद गरी वजारमा अलि महंगोमा वेचेर हुन्छ वा निमेक-पर्म गरेर हुन्छ, छोरालाई पढ्नमा कुनै कमी गरेनन् । छोराको पढाइको सफलता नै उनीहरुको आराम गर्ने चौतारी थियो । सञ्जुले पनि मेहेनत गरेर पढ्यो । एसएलसी पनि ८०.५०% का साथ पास भयो । जिल्ला सदरमुकामबाट +२ गरेपछि ऊ स्नातक पढ्न पोखराको पीएन क्याम्पसतिर लाग्यो । उसले स्नातक पनि उच्च अंकका साथ उत्तीर्ण गर्यो ।

यसैबीच गाउँकोे स्कुलमा एकजना राहत शिक्षक चाहियो । सञ्जुले पनि आवेदन दियो । तर, त्यसमा उसको केही सिप चलेन । स्कुलकै सञ्चालक समितिका अध्यक्षका भान्जा पर्नेलाई सेटिङ गरेर भित्रभित्रै मिलाइयो ।

त्यसपछि सञ्जुले विधुत प्राधिकरणमा प्रयास गर्यो । लिखितमा त नाम निस्कियो तर अन्तरवार्तामा वैकल्पिकमा फालियो । बरु मुस्किलले आईए पास भएको छिमेकी नेताको छोराको पो नाम निस्कियो । छिमेकी नेता सत्तारूढ पार्टीका हुन् । ऊर्जामन्त्री अहिले उनकै पार्टीका छन् । भनसुनमा उनको चल्यो, उनकै काम चलाउ छोराले जागीर पाए । सञ्जुसँग त आफ्नो योग्यता बाहेक दायाबाँया कोही थिएन, त्यसैले उसले जागीर पाउँने कुरै रहेन ।

यो पनि हेर्नुहोस् 

जिरी किन घुम्ने ?



अव सञ्जुलाई गाउँमा वस्नै मन लागेन । सोच्यो, काठमाडौं गएर केही गर्छु । पढ्छु र जागीर खान्छु । उसले यो सोचाइ वावु-आमालाई सुनायो । बाबुआमाले पनि वाख्रा वेचेर ३० हजारजति जोडजाम गरेर छोरालाई विदा गरे ।

सञ्जु मंसिर ७ गते काठमाडौं पुग्यो । साथीले महिनाको चार हजार पाँचसय तिर्ने गरेर मंसिर १० गते कोठा खोजी दिए । तर, घरभेटीले १ गतेदेखिकै भाडा लिए ।

मंसिर ११ गतेदेखि सञ्जु जागी खोज्न हिड्यो । ठमेलका रेस्टुरेन्टदेखि वागवजारका कन्सल्टेंसीसम्म, असनका पसलदेखि एअरपोर्ट अगाडिका ट्राभल एजेन्सीसम्म । सबैतर पुगेर सीभी बाँड्यो ।

ठमेलको एक भेजिटेरियन रेस्टुरेन्टले मंसिर २० गतेदेखि काममा बोलायो । सर्त थियो- १० दिन बिना पारिश्रमिक ट्रायलमा काम गर्ने । त्यसपछि मासिक १० हजार तलब पाइने । ऊसँग स्विकार्नकुो कुनै बिकल्प थिएन, स्वीकार्यो ।

उसले सोच्यो, उता घरबेटीकोमा मंसीर १० गते जाँदा १ गतेदेखिकै भाडा तिर्नुपर्ने तर यता काममा चाँहि २० गतेदेखि जाँदा १० दिन विना तलव काम गर्नुपर्ने । उसलाई गजब लाग्यो र मनमनै भन्यो- काठमाडौं पढे-लेखेका र इमान्दारका लागि हैन रहेछ ।

यो पनि हेर्नुहोस् 

अमेरिकी युवाहरूमा हिन्दु धर्मको देवी देउताहरू प्रतिकाे आकर्षण



तैपनि सञ्जुले काम गर्यो । उसले मेहेनतका साथ काम गरेको देखेर साहुले पनि मन परायो । कहिलेकाही साहुले सुन्दरीहरु ल्याउँथे । उनीहरूको फोटो खिचेर आफ्नो रेस्टुरेन्टको फेसवुक पेजमा हाल्थे । उनीहरूलाई खाना पनि खुवाउँथे र जाने बेलामा हातमा ८/१० हजार थमाइ दिन्थे ।

तर, सन्जुलाई तलव दिन भने साहुलाई पसिना आउँथ्यो । कहिले पाँचसय, कहिले एकहजार दिन्थे । साहुको यो चाला देखर सञ्जुलाई नराम्रो लाग्यो । एकैछिन आएर फोटो खिचेकोलाई सित्तैमा खाना खुवाएर ८/१० हजार दिएर पठाउने तर म रातदिन नभनी काम गर्नेलाई भने १० हजार तलब दिन पनि गाह्रो मान्ने ? सञ्जुको दिमाखमा यही प्रश्नले घर जमाई रह्यो । यस्तै सोचाइमा परेर उसले दुई महिनापछि काम नै छोडी दियो ।

यसैबीच उसलाई एक कन्सल्टेंसीले बोलायो । महिनाको १२ हजार तलव दिने सर्तमा उसले त्यहाँ काम थाल्यो । विधार्थी भिसामा पोल्याण्ड, माल्टा स्ट्रेलिया जान चाहनेसँग पैसालगायत सबै कुरामा डिल गर्नुपर्ने तर साहुजी भने नदेखिने । यस्तो थियो उसको कामको प्रकृति ।

केही दिनपछि कन्सल्टेंसीको मालिक नै फ़रार भयो । एक करोड खाएर फ़रार भएको थियो ऊ । सवै अफिसमा आएर सञ्जुलाई नै कराउन थाले, दलाल यही हो भन्न थाले । प्रहरी आएर केरकार गर्यो । सन्जुलाई  १/२ रात हिरासतमा राख्यो पनि ।

यो पनि हेर्नुहोस् 

५० अशक्त र मनोरोगीकी आमा


यो घटनाले सन्जुको मन वेचैन भयो । गाउँमा राजनीतिक नातावाद अनि कृपावादवाट पीडित भएर राजधानी आयो । त्यहाँ पनि त्यस्तै चोट्टाहरूको फेला पर्यो । सँगैमा उनीसँगै पढेकी आरुसी स्कुटरमा हिड्छे । किनकि ऊ अध्यागमनमा काम गर्ने एकजना सरकारी अधवैसेसँग लिभीङ्ग टुगेदरमा छे रे । चाहेको बेला पैसा पनि पाउँछे, मस्तिले सपिङ्ग पनि गरिदिन्छ अनि चाहेको बेला रिल्याक्स पनि गराउँछ । आरूसी मात्र हैन,एसएलसी सगै दिएर फेल भएको खाईलाग्दो अर्जुन पनि काठमाण्डूमै पल्सर चढेर हिडिरहेको छ । ऊ एकजना प्रशस्त धनसम्पती भएकी अधवैसे महिलासँग प्रेममा छ रे । त्यही अधवैसेले उसका सवै चाहना र रहर पूरा गरिदिएकी छे रे ।

यता काठमाडोंमा सञ्जुको यस्तो हालत छ उता गाउँमा पनि उसकै कुरा काट्न सुरु भएको छ । सञ्जुले पढेर मात्र के गर्यो र ? अल्छी रहेछ । पढेर पनि केही गरेन । सँगैमा अर्जुन र आरुसीले काठमाडौंमा प्रगति गरे । मोटरसाइकल र स्कूटीमा हुँइकिन्छन्, सुकिला मुकिला छन् । बेलाबेला यता घरमा पनि पैसा पठाइ दिन्छन् ।

गाएमा यस्ता कुरा सुन्दा अनि नेपाल सवैतिर देखेर हरेश खाएको सञ्जुले हिजो वेलुकी फोन गरेर भन्यो- दाइ, अझै पनि तिमी विदेश नआइज भन्छौं । म यहाँ बसेर के गरू ? त्यसैले म पनि आउँनुपर्यो पोर्चुगल ।

सञ्जुको माथिको भोगाइ र वाध्यता सुनेर मैले पनि नाईं भन्न सकिनँ । उसको त्यही प्रश्न रातभर मनमा खेलिरह्यो - दाइ, अव पनि किन नआउँ म विदेश ?

मलाई लाग्छ, यो एउटा सञ्जुको मात्र कथा हैन, नेपालमा यतिबेला यस्ता लाखौं सञ्जुहरूसँग लगभग यस्तै भोगाइ र कथा छन् । शायद यसैले त होेला- हरेक सञ्जुसँग समान प्रश्न छ- अव पनि किन नजाउँ म विदेश ?

Comments