शिल्पा र छवी पक्राउ गर्न प्रहरीलाई बाटो खुल्यो

तस्बिरः एजेन्सी

अभिनेत्री शिल्पा पोखरेल र निर्माता छबि ओझालाई पक्राउ गर्न प्रहरीलाई बाटो खुलेको छ। केही समय अघि शिल्पा र छबि बिरूद्ध छबिकी पहिलो श्रीमति हेमा ओझाले बहुविवाहको मुद्दा दर्ता गराएकी थिइन्।

उजुरी दर्ता भएपछि जिल्ला अदालत काठमाडौंले शिल्पा र छवीलाई पक्राउ गर्न आदेश दिएको थियो। शिल्पा पोखरेलले पक्राउ पूर्जी खारेज गराउन उच्च अदालत पाटनमा निषेधाज्ञाको निवेदन दिएकी थिइन्।

उनको मुद्दामा सम्बोधन गर्दै उच्च अदालत पाटनले पक्राउ पूर्जी खारेज गर्न नमिल्ने बताएसँगै उनीहरूलाई पक्राउ गर्ने बाटो खुलेको हो।

शुक्रबार न्यायाधीशद्वय रमेश प्रसाद राजभण्डारी र सरला कुमारी पाण्डेको संयुक्त इजलासले सो आदेश दिएको हो पाटन उच्च अदालतका रजिष्टार बाबुराम दाहालले जानकारी दिए।

शिल्पाको तर्फबाट वरिष्ठ अधिवक्ता रमेश प्रसाद गुरागाईँ र अधिवक्ता मनोद यादवले बहस गरेका थिए भने हेमा ओझाको तर्फबाट अधिवक्ताहरु स्वागत नेपाल र तुलसा शर्माले बहस गरेका थिए। छवीको तर्फबाट भने कसैले बहस गरेका थिएनन् ।

अदालतले पक्राउ पूर्जी जारी गरेको अवस्थामा अदालत र प्रहरीलाई नै असहयोग गरी पक्राउ पूर्जी नबुझी उल्टै निषेधाज्ञाको निवेदन लिएर आउनु राज्यको कानुन विरुद्ध भएको भन्दै अदालतले पक्राउ पूर्जी जारी नै रहने आदेश गरेको हो।

पहिलो पत्नी हेमाले महानगरीय प्रहरी वृत्त गौशालामा छवि र शिल्पाविरुद्ध बहुविवाहको उजुरी दिएकी थिइन्। यही उजुरीका आधारमा उनीहरुलाई काठमाडौं जिल्ला अदालतले पक्राउ गर्न आदेश दिएसँगै प्रहरीले पक्राउ पूर्जी जारी गरिएको हो।

छविले पहिली पत्नी हेमासँग सम्बन्धविच्छेद गरेका छैनन्। यदि छविले हेमाँग सम्बन्धविच्छेद नगरी शिल्पासँग विवाह गरेको प्रमाणित भएमा छवि र शिल्पाको विवाह बदर हुनुका साथै यी दुवैले जेल सजाय समेत पाउन सक्छन्।

Comments