बल्थली गाउँ।

काठमाडौंको चर्को कोलाहल, धुलो र धुँवाको सास्तीबाट छुटकारा पाउने सोचाइँमा हुनुहुन्छ या साप्ताहिक बिदाको समयमा कता जाने, के गर्ने भन्ने सोचिरहनु भएको छ। यदि, त्यस्तो हो भनै एउटा नजिकको गन्तब्य काभ्रेको बल्थली हुनसक्छ।

प्रकृतिसँग रम्नका लागि उत्कृष्ट गन्तब्य हो बल्थली। ग्रामिण क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि यहाँ खुलेका रिसोर्ट मात्र होइन होमस्टेले पनि बल्थली जाने जो कोहीलाई आतिथ्य सत्कारसहित त्यहाँको बसाईलाई रमणिय बनाउनेछ।

ब्राह्मण, मगर, तामाङसहितको मिश्रित बसोबास रहेको मिनि उपत्यका बल्थलीमा हाइकिङसहित स्थानीय गाउँले वतावरणमा लोकल परिकार, आत्मीय सत्कारसँगै होम स्टेमा रात बिताउन सकिन्छ।

हरियाली डाँडाले घेरिएको, मकैबारी र धान खेतको फाँट, वन जंगल, १७२५ मिटर उचाईमा रहेको बल्थलीमा थरी थरीका चराचुरूंगी र गाईने किराको गुनगुनाहट, विभिन्न प्रकारका फूल फुलेको हेर्दै रहरलाग्दो मनसुनको मौसममा बल्थली पुग्दा मन आनन्दित हुन्छ।

केही वर्षअघि विश्व विख्यात ट्राभल गाईड लोन्ली प्लानेटले बल्थलीलाई ‘संसारको लेक नलाग्ने सबैभन्दा राम्रो र छोटो पैदल यात्रा’ को रूपमा वर्णन गरेका थिए।

विदेशी पर्यटकमाझ बल्थली चार दिनको हाईकिङ प्याकेजको रूपमा राम्रो गन्तब्य हो। धुलिखेल-नमोबुद्ध-वल्थली-खोपासी हाईकिङ रूटमा पर्ने बल्थलीमा ३ वटा रिसोर्टसमेत सञ्चालनमा छन्।

बल्थलीमा पहिलो पटक रामप्रसाद हुमागाईंले पहिलो रिसोर्टका रुपमा २०५६ सालदेखि बल्थली भिलेज रिसोर्ट सञ्चालन गर्दै आएका छन् ।

सन् २०१५ को जनवरीबाट सञ्चालनमा आएको बल्थली इको हिल रिसोर्ट र मणि हुमागाईंको समूहले तेस्रो रिसोर्टका रुपमा बल्थली माउन्टेन रिसोर्ट सञ्चालन गरिरहेका छन्।

पछिल्लो समय गाउँले वातावरण र सहन सहनसँगै अर्गानिक परिकारको स्वादका लागि आन्तरिक र वाह्य पर्यटकको रोजाईमा होमस्टे पर्न थालेको छ।

काठमाडौंको कोलाहाल दैनिकीबाट मुक्त हुन २ जर्मन पर्यटक, पर्यटन व्यवसायी राजकुमार थापासहित शुक्रबार हामी बल्थली गयौं।

बेलुका ४ बजे कोटेश्वर, ठिमि, भक्तपुरहुँदै बनेपाबाट दायाँ मोडिएर हरियाली खेत र पुराना बस्ती शहर पार गर्दै खोपासी पुग्यौं।

खोपासीमा गाडी पार्क गरेर हाम्रो हाईकिङ सुरू भयो। १० मिनेट हिँडे पछि आउने झोलुङगे पुल तरेर गोरेटो बाटो पहिल्याउँदै, चराचुरूंगी र गाईने किराको संगीतको तालमा हामी हरियाली, सुनसान जंगलको बाटोमा मित्र राजकुमारसँगै जर्मन दम्पतिहरू आनन्दित हुँदै पाईला चालिरह्यौं।

आधा घण्टा पैदल हिँडेपछि हरियाली धान खेतको बिच बाटो, झोलुङ्गे पुल र सुनसान जंगलको गोरेटो हुँदै बल्थली पुग्दा साझ पर्न लागेको थियो।

हामीलाई घरबेटी आमाले न्यानो स्वागत गर्नुभयो। त्यसपछि छतमा गएपछि सुन्दर बल्थलीको दृश्य हेर्दै आलुको बार्विक्यू, पोलेको मकै, भुटेको भटमास, साँधेको गुन्द्रुकको अचार र बियरको चुस्कीसँग त्यो साँझ रात अबेरसम्म गफ चल्यो। आहा! क्या रोमाञ्चक साँझ।

बेलुका स्वादिष्ट नेपाली खानापछि मिठो निद्रामा मस्त भयौं। बिहान ब्रेकफाष्ट पछि गाउँ टुरमा निस्किएका हामी गाउले परिवेश र प्राकृतिक सुन्दरता देखेर जर्मन दम्पति मक्ख परे।

२०७२ को भूकम्प पछि पुरानो शैलीका घरहरू बिस्तारै पक्की घरमा परिवर्तन हुँदै थिए। बिशाल धान खेत र सफा दृश्य हेर्न हामीलाई होमस्टेका सञ्चालक सविना हुमागाईँले गाउँ घुमाइन्।

बर्खायाम र गर्मी मौसम भए पनि बिहान सितल थियो। मौसम सफा थियो।

२२ पटक नेपाल भ्रमणमा आएका पिटर ईगेनपर्सर र उते स्मिथ जर्मन दम्पतिका लागि बल्थली भ्रमण पहिलो थियो। उनीहरूको सविनाज् होमस्टेमा दुई रात बिताएपछि तेस्रो दिन नमोबुद्ध हाईकिङ जाने कार्यक्रम रहेछ ।

रेष्टुरेन्ट र क्यूरो पसल ब्यवसायी हाल रिटायर्ड लाईफमा नेपाल घुम्न आइरहन्छन्।

बिहान २ घण्टा गाउँ डुलेर पसिनाले निथ्रुक्क भिजेका दम्पत्ति होमस्टे फर्किएपछि छतमा फेरि ‘चिल्ड बियर’ मा रमाउन थाले।

‘बल्थली कस्तो लाग्यो?’,मैले दम्पतिलाई सोधेँ, ‘सुनसान, शान्त र सफा,’ मुस्कुराउँदै जवाफ फर्काए।

साच्चै, त्यस दिन म पनि बल्थली पुग्दा मन आनन्दित र फूर्तिलो भएको महसुस गरेँ।

ग्रामीण वातावरणमा पर्यटकीय आनन्द बटुल्न ठूलो संख्यामा पर्यटकहरु अहिले बल्थलीलाई गन्तब्य बनाउन थालेका छन्। अघिल्लो वर्षको तुलनामा तेब्बर बढी पर्यटक बल्थली पुगेका छन्। पहिले पहिले होटल र रिसोर्टमा बस्ने आन्तरिक एवम् बाह्य पर्यटकको पहिलो रोजाइ अहिले होमस्टे बन्ने गरेको होमस्टे सञ्चालिका सविना हुँमागाइँ बताउँछिन्।

‘काभ्रे आउने अधिकांश पर्यटक बल्थली आउँछन्। पहिले बनेपा, धुलिखेल र पनौतीका होटलहरु तथा रिसोर्टमा बस्न रूचाउने पर्यटक क्रमशः ग्रामिण वातावरणमा घुलमिल हुने भएकाले होमस्टे रोज्न थालेका छन्,’ उनले भनिन्,‘ हामी होम स्टेमा आउने जो कोही पर्यटकलाई पनि घरायसी वातावरण राखेर स्थानीय उत्पादन र सांस्कृतिक मनोरञ्जन दिन्छौ।’

सविनाज् होमस्टे सफलताको कथा

आज भन्दा ९ वर्षअघि बल्थलीमै पहिलो चोटी सुरू गरिएको सविनाज होमस्टे आज देश विदेशमा प्रख्यात छ।

होमस्टेकी सञ्चालक सबिना हुमागाईँका अनुसार सुरूमा केही विदेसी पाहुनाहरू घरमा आउँदा सामान्य नेपाली शैलीमै सेवा सत्कारबाट सुरू भो।

उनको होमस्टेमा आउने पहिलो पाहुना फ्रान्सका नागरिक थिए।

सानैदेखि फरासिलो स्वभावकी सबिना विदेसीसँग बोल्न , हाँस्न र उनीहरूलाई आफ्नो संस्कृतिबारे बताउन निकै रूचि राख्थिन्।

पहिले पहिले भाषा नजानेर हाउभाउमै संवाद गरेको उनले स्मरण गरिन्।  ‘होमस्टेको ज्ञान थिएन, सुरूको दुई वर्ष निःशुल्कमै खानपिन र बास बसाईयो,’ उनले भनिन्,

‘केही तालिमहरू लिएपछि विस्तारै विदेशी पर्यटकलाई केही शुल्क लिएर खानपिन र बासको ब्यवस्था गर्न थाल्यौं।’

सुरू सुरूमा गाउँमा निम्न आयस्तर परिवार भएकोले छिमेकीले कुरा काटेकोसमेत सहेकी उनले आज देश विदेशको पाहुनाहरू बल्थली आउँदा पहिलो रोजाइको होमस्टे बनाउन सफल भएकी छन्।

गाउँमा विदेशी पाहुना भित्र्याएर आफ्नो ठाउँको रहनसहन र संस्कृति देखाउन पाएकोमा उनी गर्व गर्छिन्।

होमस्टेमा अहिले ८ वटा कोठा रहेका छन् । जसमा एकै पटक २४ जनासम्मले रात बिताउन सक्छन् । यहां पुग्ने पर्यटकले आफैं पनि घरमै जस्तो आगोमा खाना पकाउन सक्छन्।

होमस्टे भन्ने बित्तिकै पुरानै घरको छाप परेकाहरुलाई भने यो होमस्टे फरक लाग्न सक्छ । यहाँको घर पनि नयाँ देखिन्छ भने सुत्ने ठाउँपनि सफा चिटिक्क परेका छन् । जसले गर्दा यहाँ पुग्नेहरु होमस्टेमा भन्दा पनि घरकै वातावरणको झल्को पाइन्छ । यस होमस्टेको यो एउटा राम्रो पक्ष हो ।

‘नेपालीहरु जन्मजात पाहुनालाई भगवान मान्ने बानीले जानी नजानि सेवा सत्कार, आफ्नै बारीमा फलेको तरकारी र स्थानीय गाउँको परिवेश अवगत गराए पछि पाहुनाहरू खुसी हुन्थे र उनिहरूनै होमस्टेको प्रचार गर्न सघाउ पुर्‍याए’, उनले भनिन्, ‘आमा, बाबा र परिवारका सदस्यहरु मिलेर पाहुनाको सत्कारमा जुट्छौं।’

अहिले वार्षिक ३५० जनासम्म पर्यटक सविनाज होमस्टेमा आउँछन्।

हालसम्म बेलायत, जर्मन, फ्रान्स, नेडरल्याण्ड, बेल्जीयम, स्वीटजरल्याण्ड, क्यानाडा, स्पेन, टर्की, ईटाली, अस्ट्रियन, नर्वे, मेक्सिको, अस्ट्रेलिया र अमेरिकाका नागरिकहरू होमस्टेमा पाहुना भईसकेका छन्। विदेशी पाहुनाको तुलनामा स्वदेसीहरू उल्लेख्य आउँछन्।

यहाँ पाहुनाले खाने तरकारीजन्य उत्पादन आफ्नै बारीमा उत्पादन हुन्छ अनि पाहुनालाई तिनै अर्गानिक उत्पादनको स्वाद चखाइन्छ।

‘हामी आफ्नै बारीमा उत्पादन भएका आलु, तरकारी, सागसब्जी, सुन्तला , चामल र लोकल कुखुरा पाहुनालाई खुवाउँछौ,’ उनले भनिन्,‘होम स्टेमा बस्न आउनेको यहाँ आए पूर्ण रूपमा समय सदुपयोग हुन्छ।

मौसमको अनुकुलताका आधारमा बल्थलीबाट लाङटाङ, गणेश, जुगल, फुर्बीघ्याचु, दोर्जेलाक्पा, गौरीशंकर, नुम्बुर, रोल्वालिंगदेखि विश्वको सर्वोच्च शिखर सगरमाथा लगायतका हिमशृंखला प्रष्ट रुपमा देख्न सकिन्छ।

‘धुँवा धुलोबाट मुक्त हुन एक दिन भए पनि मनोरम सुन्दर प्राकृतिक वातावरणमा मजा लुट्न हो भने आउनुहोस् बल्थली होम स्टे’, सविनाज् होम स्टेकी सञ्चालिका हुँमागाइँले भनिन्।

***

गाउँ घर घुमघाम , मनोरम दृश्यमा र लोकल परिकारमा स्वादमा हाम्रो दिनभर बिन्दास बित्यो। दिउँसो आराम गरेर बेलुकी फर्किने तरखर गर्दे थियौं , एक हुल युवाहरू टुप्लुक्क आईपुगे त्यही बास बस्न। ३ जनाको टोली दिउँसै आएका रहेछन्।  अर्को ६ जनाको टोली नमोबुद्ध हाईकिङ गरेर सबिनाज होमस्टेमा बास बस्न आएका रहेछन्।

होमस्टेमा विदेशि मात्रै नभई प्राय बिकेन्ड मनाउन आन्तरिक पर्यटक पनि आउँछन्।

होमस्टेमा बस्दा राति अवेरसम्म बस्ने र हो हल्ला गर्न हुँदैन। शान्त भएर, स्थानीय भाषा, संस्कृति, धर्म, संस्कारलाई सधै सम्मान गर्नुपर्छ।

सबिनासँगै अन्य तीन चार घरमा पनि होम स्टे भएकाले धेरै संख्यामा जाने पर्यटकका लागि रिसोर्ट गइरहनु पर्ने हुन्न।

मध्य मनसुन सिजन जारी छ, बल्थलीमा विकेन्ड मनाउन जाने होईन त?

कसरी पुग्ने

हिमश्रृङखला हेर्न, पदमार्गबाट यात्रा गर्दै आनन्द लिन, साइक्लिङ गर्दै मज्जा लुट्न अनि सवारी साधनबाट सोझै बल्थली पुग्न सकिने कुनै विकल्प रोज्दै एक दिनको गन्तव्य बनाउन चाहनेहरुको गन्तव्य आकर्षित छ ।

राजधानीबाट बनेपा पनौती हुँदै खोपासीसम्म बसबाट अथवा निजी सवारीबाट यात्रा गर्नुपर्ने हुन्छ।

काठमाण्डौंबाट ३९ किलोमिटरको दुरीमा रहेको बल्थली पुग्न खोपासीबाट भने कच्ची सडकमा जानुपर्छ।

पछिल्लो समय भिलेज ट्रेकिङ तथा हाइकिङ गर्ने क्रम बढेको अवस्थामा खोपासीबाट १ घण्टाको पैदल यात्रा गर्दै गाउँका फाँटमा देखिने मनोरम दृष्य नियाल्दै साढे ३ किलोमिटरको यात्राबाट बल्थली पुगिन्छ।

यसका अलावा राजधानीको साँखुबाट लप्सिफेदी, नगरकोट, धुलिखेल, नमोबुद्ध हुँदै बल्थलीसम्मको ‘भिलेज ट्रेकिङ’ रुटमा पर्यटकको चाप बढ्दै गर्दा उक्त रुटबाट बल्थली पुगेर एक रात बिताउँदै त्यहाँको आतिथ्यताको मज्जा लुट्न सकिन्छ।

माउण्टेन बाइक (साईक्लिङ) गर्दै पनि बल्थलीसम्म पुग्न सकिन्छ।

खर्च कति लाग्छ

सविनाज् होमस्टेमा अहिले मासिक कम्तिमा ४० देखि ६० जना आन्तरिक र बाह्य पर्यटक बस्ने गरेका छन्। उनीहरूलाई होम स्टेमा पुग्नेबित्तिकै फूलमाला र टिकाले स्वागत गर्ने गरिन्छ। स्वागत गरेपछि दही, मोही वा सर्बत पानी दिएर पर्यटकलाई राखिन्छ।

बेलुका पुग्ने पर्यटकका लागि सांस्कृति रमाइलो देखाइन्छ। पाहुनाको चाहानाअनुसार बार्बिक्यूको पनि ब्यबस्था छ। दाउरामा पकाएर बनाएको खाना खुवाइन्छ।

बिहान उठ्ने बित्तिकै चिया खाजा खुवाएर गाउँ घुमाइन्छ। हाइकिङ, नजिकैको खोलामा फिसिङ, चराचुरूङ्गीको अवलोकन गराइन्छ।

मन्दिर दर्शन गर्नेका लागि लगिन्छ। त्यसपछि बिहानको खाना खुवाइन्छ। खानापछि एक छिन आराम गरेर बाँकी रहेका ठाउँ घुमाइन्छ।

यदि एक दिनका लागि जाने पर्यटककले यो सबै गरेवापत १ हजार ५ सय रूपैयाँ देखि ३ हजार  रूपैयाँसम्म खर्च गर्नुपर्ने हुन्छ।

कोशेली

बल्थलीबाट कोशेलीको रूपमा आलु, सिजन अनुसारको हरियो साग सब्जि, तरकारी, फलफूल ल्याउन सकिन्छ।

सम्पर्कः

सम्पर्कः सविना हुँमागाइँ- ९८६०-१२३८१२/ ९८०८५३८३५०

इमेलl: sabinashomestaytour@gmail.com

 

Comments