ओली महाराज, कम्तिमा अलिकति शर्म त गरिबक्सियोस् !

ओली महाराज एक प्रतिकात्मक तस्बिर । सौजन्य :ई-कान्तिपुर।

नेपाल र नेपालीको नाम जपेर नथाक्ने खड्गप्रसाद शर्मा ओली अहिले नेपालको प्रधामन्त्री होइबक्सन्छ । मिडियाले प्रधानमन्त्री के पी ओली भन्दा भन्दा धेरैले त मौसूफको पूरा नाम खड्गप्रसाद शर्मा ओली नै गुगलमा खोज्ने बेला भैसक्यो । 

विरामी होइबक्सन्छ मौसूफ, जगजाहेर छ । सन्तान छैनन मौसूफका यो पनि जगजाहेर छ ।

त्यसैले पनि एकपटक मौका दिउँ भनेर मौसूफलाई तत्कालिन एमाले अध्यक्ष बनाउँने पनि धेरै थिए, प्रधानमन्त्री बनेको देख्न चाहने पनि धेरै थिए ।

धेरैलाई लागेको थियो- मौसूफका कोही छैनन् त्यसैले कसैका लागि कमाउनु पर्दैन । गम्भीर विरामी मौसूफबाट अरूको भन्दा छिटो गतिमा केही गरेर आफ्नो र पार्टीको नाम राखिबक्सन्छ ।

तर, प्रकारान्तरमा यी दुबै गलत हुँदै गएका छन् । न मौसूफले लोभ गर्न छोडिबक्सेको छ, न मौसूफबाट आफ्नो लागि केही गर्नु छैन भन्ने हेक्का राखिबक्सेर त्यहीअनुसार गतिविधि नै गरिबक्सेको छ । 

नेपालीमा एउटा उखान छ- 'अपुतोको धन प्यारो'; मौसूफबाट  त्यही उखान चरितार्थ भएको छ । अर्को पनि उखान छ- 'मर्ने बेलामा हरियो काक्रो' यो पनि मौसूफबाट चरितार्थ भएको छ ।

प्रधानमन्त्री भएवापत मौसूफको मासिक तलब ९१ हजार १ सय ९० रुपैयाँ तछ । प्रधानमन्त्री निवासमा राज होइबक्सन्छ, आवासमा सुको खर्च हुदैन । त्यहाँ पाक्ने चियादेखि खशीको मासुसम्म सबै सरकारले तिरिदिन्छ । सरकारले तिरिदिनु भनेको गरिव नेपालीको पसिनाको मोल हो, त्यहीबाट तिरिन्छ । मौसूफका लागि सल्लाहकार, विज्ञलगायत नानाथरिका सहयोगी हुन्छन्, तिनका लागि पनि महिनाको लाखौ तिरिन्छ । मुलुकको सरकार प्रमुखका लागि यी सबै जायज नै हुन् ।

तर, प्रश्न उठ्छ- मौसूफको उपचार खर्च चाँहि किन राष्ट्रले ब्यहोर्नुपर्ने ? त्यतिका तलब पाइबक्सन्छ। सम्पति अथाह छ, उत्तराधिकारी छैनन् । स्मरणीय छ, पञ्चायतमा राजाको लागि उपचार खर्च तिर्दा यिनै ओली मौसूफ र उहाँको पार्टी धुवाधार विराध गर्थ्यो । 

मौसूफको उपचारका लागि पटक पटक गरेर मुलुकले अहिलेसम्म करोडौको बिल भुक्तानी गरिसकेको छ ।  उपचार गर्न पनि विदेश जानुपर्ने त्यो पनि कम्तिमा नौ-१० जनाको टोली नै जानुपर्ने । उनीहरूको टीएडीएदेखि होटल खर्चसम्म सरकारले ब्यहोर्नुपर्ने । हवाईटिकट तिरिदिनुपर्ने । सबै बिल अझ बढाएर पनि देशले तिरिदिनु पर्ने ? यो त लाजको पसारो भयो मौसूफ । अनैतिक र भ्रष्टाचार पनि भयो मौसूफ । यो सबै किन र के का लागि गरिबक्सदै छ, जनता विलखबन्दमा परे मौसूफ ।

पैसा नभएर हो ? हैन । के नभएर त ? इज्जत र नैतिकता नभएर, लाज पचेर र अझ भनौ लोभको भाँडो उभिण्डो भएर । 

केही हनुमानहरू भन्छन्- प्रधानमन्त्रीको तिर्नु त पर्छ । मौसूफको तिर्नुपर्छ भने कालिकोटमा काम गर्ने एक सुब्बा साहेबको चाँहि किन तिर्नुपर्दैन ? मौसूफ र ती सुब्बा साहेब दुबै राष्ट्रसेवक हुन्, त्यसवापत् तलब पाइरहेका छन् । दुबै विरामी हुँदा उपचार प्राथमिकताकै विषय हो ।

अर्काथरि हनुमान भन्छन्- उहाँ राजनेता होइबक्सन्छ, त्यसैले उपचार खर्च त ब्यहोर्नु पर्यो नि । यो पनि कुनै तर्क हो । के त्यसो भएर राजनीति भनेको पदमा पुग्ने र यस्तै लाजमर्दो लूट गर्ने पेशा व्यवसाय हो ? प्रश्न त हनुमानतिर तेर्सिन्छ । तर, हनुमानहरू तर्क हैन, कुतर्कमा उत्तर दिन्छन् ।  

प्रसंग मौसूफको पछिल्लो उपचार र आरामका लागि सिंगापुरको यात्राको हो । यसपटक नौ जनाको टोली छ रे । मौसूफका सरकारी प्रवक्ता गोकुल बाँस्कोटाले भने- उपचारको खर्च सरकारले नब्यहोर्ने रे, हवाई भाडा मात्रै ब्यहोर्ने रे । कर्मचारीको सबै खर्च पनि सरकारले नै ब्यहोर्ने रे । यो कस्तो काइते कुरा हो ? सरकारी अस्पतालको उपचार पैसा नलाग्ने भएकाले नब्यहोरिने भनिएको हो कि ? कुरा के हो ?

यस्तो लाज पचेको काइते कुरा गर्दा भन्न मन लाग्छ- ओली महाराज, कि आफ्नो उपचार आफैं गरिबक्सियोस् । हैन रोगी होइबक्सन्छ र मौसूफको उपचार मुलुकले गर्नुपर्ने हो भन्ने राजिनामा दिइबक्स्योस् । मौसूफकै रोगकै कारण पनि मुलुक गतिहिन भएको छ । अब मौसूफलाई के हुनु छ र ? प्रधानमन्त्री भैबक्स्यो, पार्टी अध्यक्ष भैबक्स्यो । मौसूफको जति हैसियत थियो, राम्रो वा नराम्रो गर्ने- दुबै गरिबक्सियो। अब के गर्न बाँकि छ र ?- त्यो पदमा बसेर मुलुकलाई उपचार खर्चको भार ब्यहोर्न बाध्य पारिरहेका छौं ।

समय गतिशील छ, मुलुकले रोगी त्यो पनि उपचार देशले नै गरिदिनु पर्ने ओली महाराजलाई प्रधानमन्त्रीका रूपमा थप सहन सक्दैन ।

जनजनको आग्रह छ- रोगी होइबक्सन्छ राजीनामा दिइबक्स्योस् । यदि दिइबक्सन्न भने पनि मौसूफको महंगो उपचार खर्चको बिल गरिव नेपालीको नीलो पसिनाले साटेको मोरूले नतिराइ बक्स्योस् । कम्तिमा अलिकति त शर्म गरिबक्सियोस् ओली महाराज !

मौसूफमा नेपाली पत्रकारितामा सम्मानित भाषा नभएकोमा चिन्ता  छ। त्यही चिन्ताको सम्बोधन गर्न यो राजसी भाषा प्रयोग गरिएको हो । अन्यथा- लिने दिने । 

 

(यो लेखकको निजी बिचार हो, यो ब्रेक एन लिंक्सको सम्पादकीय नीति निरपेक्ष छ ।- सम्पादक ।)

 

 

Comments