ममता

गर्मी महीना। तराईको ठाउँ। गर्मीले बसिसक्नु थिएन - न त घर भित्र बसिसक्नु थियो, न बाहिर नै।

तातोले उकुसमुकुस भएर कन्चटबाट बगेको पसिना हत्केलाले पुस्दै सानी झ्यालबाट बाहिर हेर्छे।

खासै त उनको नाम सानी होइन। तर, उनको बाबाले मायाले ‘सानी’ भन्दाभन्दै नामै सानी रहन गयो।

बाहिर धुलो र धुवाँको तुवाँलोमा घामका ताता लप्काहरू छायाँ जस्तै गरी क्षितिजमा पसारिएका छन्। ‘अहो कस्तो,  हेर्दै आँखा तिरमिराउने दिन!,’ उ सोच्छे।

अलि पर फाँटमा केही लोग्ने मानिस र स्वास्नी मानिस त्यो गर्मीमा काम गरिरहेका थिए। उनीहरूलाई कति गाह्रो भइरहेको होला काम गर्न यो गर्मीमा।

यस्तै सोच्दा सोच्दै उ आफ्नो पसिनाले निथ्रुक्क भएको शरीर हेर्छे, अनि भान्छाबाट एक लोटा पानी लिएर बाथरूममा गई टाउकोमा घोप्टाउँछे। तर, त्यसले उनको तातेको टाउकोमा केही राहत पुर्‍याउन सक्दैन।

त्यसपछि लोटालाई त्यही थचारेर, रूझेका कपालका टुप्पाबाट तप तप पानी चुहाउँदै उ आफ्नो कोठा तिर लाग्छे। आफूलाई एक लोटा पानीले भिजाएको ५ मिनेट पनि भएको छैन जिउ फेरि तातेर आइसक्यो। रूझेको कपालबाट पानी बाफ बनेर एकैछिनमा उड्छ। ‘अहो! के बिना गर्मी भ’को यो साल त! सहनै गाह्रो,’ उ कोठाको झ्याल खोल्छे।

तातो हुस्स परेको हावा बत्तिदै उसका खुला झ्यालबाट भित्र छिर्छ, उ हत्त न पत्त झ्याल बन्द गर्दै भन्छे, ‘अहो कहाली नै लाग्दो गर्मी! कहिले सकिएला यो गर्मीको याम। तराईको गर्मी यस्तो हुन्छ भन्ने त कल्पना मै थिएन।'

काठमाडौंमा हुर्किएको मान्छे, तराईको गर्मी सहन गाह्रो त भइहाल्छ नि। ‘बाबालाई पनि के तराईको मान्छेसँग मेरो बिहे गरिदिन परेको होला’, उ मन मनै भन्छे,‘हुन त मैले पनि बिहे गर्दिनँ भनेर अलिकति ढिपी गरेको भए बाबाले मानिहाल्नु हुन्थ्यो नि। गल्ति त आफ्नै हो।’

यस्तै सोच्दै उ खाटमा डङ्रङ्ग ढलेर आफूमाथिको दलिन हेर्छे। दलिनमा खिटिक खिटिक गर्दै मन्द गतिमा घुमिराखेको थियो पंखा, पुरै पावरमा चलाउँदा पनि। त्यसबाट आएको हावा भन्दा त कागजले हम्किँदा मिठो हावा आउला भन्ने सोच्दै उ पंखा हेरी टोलाउँछे।

रित्तो दलिन जस्तै रित्तो लाग्छ उसलाई आफ्नो संसार। खिट्खिटे पंखा जस्तै बिना गति घुमिरहे झैँ लाग्छ जीवन। अहो! निरासताका यी सब्दहरु कसरी प्यारा लाग्न थाले मलाई? यति चाँडै आदत बदल्ली सकेछ, आफैंलाई थाह छैन, उ सोच्छे। आखिरमा आदत त हो नि मानिसको पहिचान बदल्ने पनि। मेरो पहिचान पनि त बिस्तारै बदलिदैछ, उ सोच्छे।

आजकाल हरेक कुरासँग आफू र आफ्नो जीवनलाई दाज्ने बानी लागेको छ उनलाई। जिन्दगी बदलिए पछि सोचाई आफैं बदलिदो रै’छ। अनि सोचाई बदलिए पछि सबै कुरा बेग्लै देखिने, बेग्लै महसुस हुने। उ आफ्नो बर्तमान निरर्थक देख्छे। आफूलाई एक विवस स्वास्नी मानिसको रूपमा हेर्न थालेकी छ।

बाबाले हतार हतार गर्दै किन बिहे गरिदिए, यही प्रश्नले पोल्छ उनलाई। आजकलको युगमा पनि मानिस यति विवस हुन्छ, उसले कल्पना पनि गरेकी थिइन। अनि सधैं जस्तै यी प्रश्नहरुले उसलाई उसको बाबाको सम्झनामा पुर्‍याउँछ।

आमा सानैमा बित्नुभएको थियो सानीको। बाबाले कति माया गरेर हुर्काएको, उनलाई लाग्छ, कति गाह्रो भएको थियो होला बाबालाई आमा बनेर पनि माया दिनुपर्दा।

यहाँ भन्छन् - बाउले आमाले जस्तो माया दिनै सक्दैन भनेर। सधै सबैमा कहाँ लागू हुन्छ र यो? दुनियाँमा कति त्यस्ता बाबाहरू पनि त छन् जो मैनभन्दा पनि कमलो र फूल भन्दा पनि नरम दिलका छन्। मेरो बाबा तिनीहरु मध्यमै पर्नुहुन्छ, बाबाको तस्बिर उनको आँखा अगाडि आउँछ।

अनि एकाएक बाबाको न्यास्रो लाग्छ उसलाई। पोहर भेट भएको थियो, एक वर्ष नै हुन लागिसकेछ बाबालाई नभेटेको पनि। मनमा कता कता नरमाईलो लाग्छ। अनायास बाबालाई भेट्ने चाहनाले छटपटी झैँ हुन्छ तर बाबालाई भेट्न जाउ भने पनि घरमा सबैको अनुमति लिनुपर्ने। आफ्नो बाबालाई भेट्न पनि कसैको अनुमति लिनुपर्ने? यो कस्तो बिडम्बना!

बली चढाउन दिएको बोका झैँ लाग्छ आफूलाई, जता जता घिसार्‍यो उतै घिस्रनुपर्ने। आफ्नो हरेक पाईला अरुको इसारामा चलाउनुपर्ने। मनभरी गुम्सिएका गुनासा र व्यथाहरू सुनाउनु पनि कसलाई? उ बाबालाई फोन गर्ने विचार गर्छे। तर, फेरि मन धक्क भएर आउँछ, कसरी सुनाउनु बाबालाई मेरो बिलौना? बिचरा बाबाले आमाको अभाव कहिलै महसुस हुन नदिई हुर्काउनुभएको, उहाँलाई चिन्तित बनाएर मलाई कसरी शान्ति मिल्छ? एकाएक आफू नितान्त एक्लो महसुस हुन्छ सानीलाई।

अनि त्यही नजिकै टेबलमा राखेको कापी र कलम निकालेर उ बाबालाई चिठी लेख्न थाल्छे।

आदरणीय बाबा, उ लेख्छे। खै कस्तो औपचारिक लाग्यो यो वाक्य, कतै जागिरको लागि निवेदन लेख्न लागेको जस्तो। बरू म प्रिय बाबा भनेर सुरूआत गरूँ? होइन, उ फेरि लेख्छे, म त ‘मेरो प्यारो बाबा’ भनेर लेख्छु। यो ठिक लाग्छ मलाई।‘प्यारो बाबा’ यो सरल सब्दले पवित्र सम्बन्धको अर्थ बोध गराउँछ।

यीनै शब्द त थिए मैले बाल्यकालदेखि प्रयोग गर्ने गरेको। कति खुसी हुनुहुन्थ्यो तपाईं जब म मेरो प्यारो बाबा भन्दै तपाईंसँगै लुटुपुटु गर्थेँ। हिजो जस्तो लाग्छ, त्यो पीडिमा बसेर तपाईंले मलाई हात समाउँदै कलम समाउन सिकाउनु भएको? छोरीले धेरै पढ्नुपर्छ, ठूली मान्छे बन्नुपर्छ भन्नु हुन्थ्यो तपाईं।

हात समाएर डोर्‍याउँदै स्कुल पुर्‍याउनुहुन्थ्यो। अनि स्कुलको गेटमा सधै मलाई लिन पर्खेर बस्नुहुन्थ्यो, नरिसाइकन। मेरा बदमासीहरू कति सजिलै माफी गरिदिनु हुन्थ्यो तपाईंले। साच्चै भन्ने हो भने त आजकाल मलाई फेरि त्यही बाल्यकालको दिनमा फर्कन मनलाग्छ।

अझै पनि तपाईंकै सम्रक्षणमा आफू सुरक्षित लाग्छ मलाई। अझै पनि तपाईंको थालमा मुसेको दालभात खाएको स्वाद बेलाबेलामा सम्झने गर्छु। आफ्नो हातले खुवाउनुहुन्थ्यो, आफ्नो थालमा मुसेको दालभात।

कान्छीआमा त भन्नु हुन्थ्यो ‘नमत्ताउ त्यसरी भोलि अर्काको छोराले कस्तो ब्यबहार गर्ने हो। म त सौतेनी आमा, राम्रै बोलेनी बिष हुन्छ। दुःख पाउली छोरीले।’

त्यति खेर त कान्छीआमासँग साह्रैं रिस उठ्थ्यो। उहाँको हरेक कुरालाई म अनर्थ नै लाउँथे। तर, अहिले उहाँले ठिकै भन्नुभएछ भने झैँ लाग्छ। तपाईंले त्यति धेरै माया र महत्व नदिएको भए सायद मलाई पनि मायाको महत्व नलाग्दो हो।

आजकाल त म, माया र साहानुभूतिको लागि तडप्ने गरेको छु। तपाईंको सम्रक्षणमा सधैं सानी भएर बसेकी मान्छे, बिहेको भोलिपल्ट नै एकै चोटी ठूलो हुनुपर्छ भन्ने कुरा तपाईंले कस्तो नसिकाउनु भएको मलाई?

आजकल त बाबा म त खालि तपाईंको आगनीमा बितेका मेरा दिनहरु सम्झेर समय काट्ने गरेकिछु। त्यो बालककालको सम्झना कति मीठो र प्यारो हुने है। हिजो जस्तो लाग्छ बाबाले मलाई खेलौना किनेर दिँदा भाइले डाहा गरेर रूवाबासी गरेको।

तपाईंले मेरो छोरा त यो हो भनेर मलाई अँगालो मारेर भाइलाई जिस्काउँदा भाइ कति दिनसम्म रिसाएर भात नखाएको, सम्झनुहुन्छ बाबा? अनि सधैझैं कान्छीआमाले फेरि भन्नुहुन्थ्यो ‘अर्काको घर जाने जातलाई मत्याएर बिगारेको छ। पछि देख्छौ तिमीले।’

त्यै पनि तपाईंले मलाई गर्नुपर्ने मायामा कहिले कमि आउन दिनुभएन। कसैले मलाई हेपेको होच्याएको सुन्नुभयो भने तपाईं बाघ भएर त्यसलाई आक्रमण गर्न जानुहुन्थ्यो। तर, यहाँ त म आफूलाई सधै असुरक्षित पाउँछु। सधै डर त्रास जस्तो लागिरहन्छ। मनभित्र कि कसले आफूलाई बाघ भएर झम्टने हो भनेर।

मेरो छोरीलाई त म कहिले कतै पठाउदिन भनेर कान्छीआमाको अगाडि मलाई अँगालो मारेर माया गर्दा, 'यत्रो तरूनी भैसकेकी छोरीलाई बच्चालाई जसरी पुल्पुलाएको! ओहो, नसकिने', भन्दै कान्छीआमा तपाईंलाई हेर्दै आँखा तरेर कोठा छोडेर हिड्नुभाको आजै जस्तो लाग्छ। तर, पठाउनुभयो त बाबा तपाईंले मलाई। त्यो पनि यति टाढा।

तपाईंबाट टाढिएपछि त आफ्नो पहिचान नै हराए झैँ भा’छ। आजकाल म आफ्नो अस्तित्व खोज्न थालेको छु बाबा। किनभने हिजोआज मैले आफ्नो पहिचान नै भुल्न थालेछु। बाबाले आफ्नो श्रम र पसिना खर्च गरेर मलाई खुट्टामा उभ्याएको के महत्व भयो र भनि म प्रश्न गर्न थालेको छु।

मलाई राम्रो शिक्षा दिक्षा दिन त्यत्रो समय बिताएको आज के अर्थ रह्यो? मेरो आधार हुनुहुन्थ्यो तपाईं, मेरो नायक, संरक्षक । कति आनन्ददेयी दिनहरु थिए ती- न शोक, न सूर्ता। न कोहि रिसाउँला भन्ने डर, न अपमानित हुनुपर्ला भन्ने भय।

कति छिटो बिते झैँ लाग्छ ती खुसीका पलहरू। आँखा झिम्कियो, दृश्य बदलियो भने झैं, आँखा झिमिक्क गर्दा बिते ती खुसीका दिनहरू। खुला आकास झैँ थियो तपाईंको आगनी, जहाँ म खुलेर सास फेर्थेँ, निर्धक्क हाँस्थे, खुलेर बाँच्थे। प्यारो लाग्थ्यो जीवन। मिठो लाग्थ्यो सपना। सबै आफ्नै लाग्थ्यो, सबै प्यारो लाग्थ्यो तर आजकाल त सबै बदलियो, तपाईं बदलिनु भो, म बदलिए। जब आफूमै बदली आउँछ अनि दुनियाँ नै बिरानो लाग्दोरै’छ।

आजकाल त सबै बिरानो लाग्छ बाबा। तपाईंको आगनी पनि बिरानो लाग्छ, आफ्नो बाल्यकाल बिरानो लाग्छ अनि तपाईंको माया बिरानो लाग्छ। त्यो गाउँ, त्यो बस्ति अनि त्यो साथी संगी सबै बिरानो लाग्छ।

पोहोर एक वर्षपछि तपाईंलाई भेट्न आउँदा, कान्छीआमाले मेरो कोठा भाडामा लाएको देख्दा मन कटक्क खायो। भाइले कति दिन बस्नुहुन्छ दिदी तपाईं? भनि सोद्दा मेरो बाल्यकाल बितेको घर मलाई होटेल झैँ लाग्यो, आफू त त्यो घरमा पाहुना भएछु भन्ने बोध हुँदा भित्रैदेखि छाति दुःखेर आयो। यो गुनाडी गाउँमा, तपाईंले ‘तिम्रो घर’ भनि पठाएको घरमा मलाई कहिलै कसैले आफ्नोपनको आत्मीयताबोध हुन नदिँदा, ढोकाबाट छिर्ने बित्तिकै आफूलाई दासत्वको हिनताबोध हुन्छ।

तपाईँले ‘तिम्रो’ भनि दिएको घरमा सधै निसस्सिएर सास फेर्न गाह्रो हुन्छ। तपाईंको घरमा प्रजातन्त्र भोगेर आएको, यहाँ प्रजातन्त्रको नाममा लड्ने तपाईंको आदर्श पात्रले जहानीयाँ सासन चलाउँदा, जिन्दगी अघि बढाउँन साह्रै कठिन भाछ, अरु त परै जाओस। तपाईं भन्नुहुन्थ्यो अधिकार मागेर होइन खोसेर लिन पर्छ तर मैले त न मागेर लिन सके अधिकार, न त खोसेर नै। यहाँ त कसैले मलाई केही कुरामा अधिकार जताउनै दिदैनन्।  जहाँ मुख खोलेर दोहोरो कुरा गर्न प्रतिबन्ध छ, त्यहाँ अधिकारको लागि आवाज उठाउन त ठूलै सहास हुनुपर्छ।

तपाईंले मलाई कमजोर त बनाउनु भएको थिएन नि, तर के गर्नु परिस्थितिले मलाई कमजोर बानायो।  आजकल त म घर के हो भनेर सोच्न थालेको छु, मेरो आफ्नो घर खोज्न थालेको छु। म आफ्नै आफ्नोको भीडमा पनि पराइ भएछु झैँ लाग्छ।

ती उता पल्लो घरकी सुरी हजुरआमाले भनेको बेला-बेलामा याद आउँछ आजकाल। उहाँ भन्नुहुन्थ्यो, ‘हेर नानी छोरीको त घर नै नहुने रै’छ। यता बाउको घरमा आयो, दाजुभाइले ‘मेरो घर’ भन्दै आफूलाई छिनभर मै पराय बनाई दिन्छ्न। उता श्रीमानले ‘मेरो घर’ भन्दै छिनभर मै आफूलाई बेघर बनाई दिन्छन्। बाल बच्चा भएपछि छोराले ‘मेरो घर’ भन्छ। आईमाई मान्छे त आफ्नो घर बनाउने सपना देख्दा देख्दै यी म जस्तो थोते बुढी हुन्छे।’

उहाँले थोतो दाँत देखाएर उदास आँखा लीई खिस्स हासेको आजकल म सपनामा पनि देख्ने भा’छु।

आजकाल मलाई राम्रसँग किन बिहे गराउनु भयो भन्ने प्रश्नले बारम्बार डस्न थालेको छ।

रामेस देशभक्त, इमान्दार, प्रगतिसिल युवा छ भनेर तपाईंले बयान गरेको हिजो जस्तो लाग्छ। सम्पन्न पनि छ, सुख दिन्छ, भन्नुहुन्थ्यो तपाईं। 

तपाईंले महत्व दिएका यी कुराहरुले मजबुत हुनुपर्ने मेरो घर त झन यीनै कुराहरुले धमिरोले खाएको काठ जस्तै भएको छ- खोक्रो। साना साना भूकम्पका धक्काले पनि धुजा धुजा भएर चर्किराखेको छ मेरो घर। यसै गरी चर्की रहने हो भने त अबको केही वर्षपछि भत्किन्छ यो घर, चुरचुर भएर। यो देशकै हालत हुन्छ मेरो घरको पनि, अनि मैले चाहेर पनि यसलाई बनाउन सक्दिनँ, बचाउन सक्दिनँ।

तपाईं जहिले पनि रामसको बयान गर्नुहुन्छ, भविश्यको एउटा महान नेता बन्छ रामस भनेर। तर, आफ्नै घर बनाउन नसक्नेले यत्रो देश कसरी बनाउन सक्छ, खै म त कहिले काहिँ सोच्ने बाध्य हुन्छु। ऊ रात दिन पार्टी कार्यालय भौतारिन्छ, दुनियाँ हाँकेर आउँछ, नारी स्वतन्त्रताको नारा हाक्छ, समानताको गाना गाउँछ। अनि घरमा? ओहो! कति गरूँ म गुनासो तपाईंलाई बाबा?

 मेरा गुनासाहरुले त यो सिङ्गै कापी भरिन सक्छ। आज यो तराईको गर्मीमा म एउटा नपढेको गाउले आमाईहरु जत्तिकै घरभित्र कुचो र चुलो गर्ने भएकिछु। बिहानै उठ्छु, अनि ब्रस र कलम समाउनु पर्ने यी हातले कुचो र लुडो समाउँछु।

तपाईंको काखमा बस्दा कैले नगरेको यी कामहरु गर्न त अहिले म पोख्त भएकिछु। दिनमा तीन पटक खाना बनाउँछु। मेरा कलेजका किताबहरु, पछाडिको गोठमा थुप्रिएका छन्। ती तपाईंले किनिदिनु भएको राम्रा राम्रा जामाहरू कन्तुरमा ढुसी लागेका छन्। मेरा ती हिल जुत्ताहरु मलाई हेरेर मेरो खिस्सी उडाउँछन्।

अस्ति रोटी पकाउँदा तेल उछिट्टिएर पोखिएर यत्रो ठूलो फोका उठ्ने गरि पोल्यो। तर, यहाँ कसैले कठै भन्दैनन्। केही भयो भन्यो भने यहाँ वास्ता गर्ने चलन छैन। बाबाले जस्तो घिउकुमारी दलेर लगाउ भनेर कसैले भन्दैनन् यहाँ। यहाँ आफूलाई कसैले महत्व नदिँदा नदिदै अब त आफैंलाई पनि आफ्नो महत्व लाग्न छोडिसक्यो। अनि अब त मलाई जे भए पनि गुनासो नगरीकन काम गर्ने बानी लाइसक्यो, तपाईं चिन्ता नगर्नुस नि फेरि, यहाँ यस्तै हो। घाउ आफैं बन्छ, केहि छिन अनि केहि दिन दुख्छ अनि आफैं सन्चो हुन्छ।

कस्तो अचम्म? कसरी बदलिदो रैछ जीवन? अब त बिहे भएको दुई वर्ष पुरै भएछ। बानी पनि लाग्न लागिसकेको थियो सम्झौता गर्न जीवनसँग तर ज्यात्ती बढ्दै गएपछि सहनसिलाताको हद टुट्दो रैछ। कहिलेकाँही त यो सबै जन्जाल छोडेर जोगीनी बनिदिउकि जस्तो पनि लाग्छ।

यो जीवन पनि जोगीनीको भन्दा कम कहाँ छ र? घरमा यी सामन्तीहरुको भक्ति गर्नुभन्दा त मन्दिरमा त्यो ढुंगालाई नै पुजेर त्यसमै तल्लीन हुदा बरु जीवनमा शान्ति मिल्छ होला। हेर्नुहोस् न, मन्दिरमा के हुँदैन र? पैसा, प्रसाद सबै हुन्छ तर त्यै मन्दिरको वरिपरी खाली पेट र खाली थालीमा भिकारीहरु रंगबंगी रहेका हुन्छन्।

सम्पन्न घर भित्र भिकारी हुनुभन्दा त बरु भगवानको घर बाहिरको भिकारी हुनु शान्तिप्रद हुन्छ होला जस्तो लाग्छ। तर, तपाईंको इज्जतको लागि मेरा पाईलाहरु रुकिन्छन। तपाईको झझल्काले छाति काटिएर आउँछ। भूर्रर उडेर त्यहाँ आई तपाईंको छातिमा टाउको राखी घन्टौ रोईदिउ जस्तो लाग्छ। तर, के गर्नु तपाईंको अनुहार देखे पछि फेरि मेरा मनका बिलौनाहरु आफू भित्रै थिचिएर बस्छन्।

तपाईंलाई म कसरि आफ्नो दुःख देखाएर चिन्तित पार्न सक्छु र? मेरो घर बसाई दिए भनेर ढुक्क परेर सन्तोषको सासलिइरहनु भएको तपाईंलाई म कसरि पीडा दिन सक्छु र बाबा?

यिनै बाक्यका अन्तसँगै उसका कलमहरु रूकिन्छन्। अनायासै आँखा रसाएर पानी बग्छ। प्रकृतिको धुप भन्दा पनि जीवनको धुपको गर्मि सहिनसक्नु छ उसलाई। पसिनाले सरिर ल्याफ ल्याफ भएर भिजेको छ तर आँखाका आँसुहरु भने बग्न नपाई फेरि बाफिएर उड़छन्। कति महत्वपूर्ण थिए यी आँसुका थोपाहरु मेरा बाबाका नजरमा?

आज खोला झैँ आँसुहरु आफैं बग्छ अनि आफैं बाफ बनि उडीदिन्छ। उसको मन भरंग हुन्छ। घरको चार दिवार हेर्छे, कतैबाट पनि आफ्नो जस्तो लाग्दैन उसलाई यो घर। अनि सोच्छे, घर त कैले थियो र आफ्नो? न हिजो न आज। तर सिर माथि छत छ। अरुले देख्दा मेर घर छ।

त्यसै बीच मुलढोका घंद्र्यांग खोल्दै रामेस भित्र छिर्छ। ऊ फोनमा कसैसँग चर्को स्वरमा भन्दै थियो, 'यसरी अन्याय र अत्याचार सहि रहने हो भने, हेरिरनुस यो देश अब देश रहदैन। हामी आफ्नै घरमा बन्दी हुन्छौं। हाम्रो घर हुँदैन, हाम्रो पहिचान हुँदैन।  केहि गर्नुपर्छ हामीले।

हामीले नारी आवाजलाई पनि आफ्नो आन्दोलनको मूल मन्त्रको रुपमा लिनुपर्छ। आज नारी समानताका लागि लडिरहेका ती ठूला आवाजमा कुर्लने नारीहरूलाई आफ्नो पक्ष्यमा ल्याउनु जरूरि छ जुन हाम्रो लागि महत्वपूर्ण शक्ति हुनेछ, हाम्रो सफलताको लागि यो जरूरि छ।'

उसको आवाज केही बेरको लागि अड्छ, सायद ऊ फोनमा कुरा सुनिरहेको थियो। अनि एकै छिनमा उ फेरि भन्छ, ‘यी सामंतिहरुलाई सधै यसै गरि शासन गर्न दिने हो भने एक दिन हामी आफै आफ्नो अस्तित्व खोज्दै हिँडिरहेका हुनेछौ, हामी आफ्नो घर खोजिरहेका हुने छौ अनि आफ्नो पहिचानको लागि रोइरहेका हुनेछौ। हामीले चाडै नै यस बिषयमा छलफल गर्नुपर्छ।'

आफ्नो लाचारीलाई आफ्नो भाग्यको नाम दिदै आफूले बाबालाई लेखेको चिठी एकछिन टोलाएर हेर्छे उ। अनि फेरि मनभित्र एक्कासी विद्रोहको आवाज जाग्छ र उ लेख्न थाल्छे- आज धेरै पछि रामेसको एउटा कुरा सही लाग्यो बाबा, र त्यस कुराले म भित्र पनि विद्रोहको आगॊलाई जगाएकोछ। हो यो अनन्य र अत्याचार सही रहने हो भने जसरि यो देशको सारा जनताहरु जीवनभर आफ्नो घर र पहिचानको खोजीमा भौंतारी रहेका हुनेछन, म पनि त्यसैगरी आफ्नो घर र पहिचानको खोजीमा जीवन बिताई रहेको हुनेछु।

यहाँ सबैको आफ्नो देश अनि भेष हुनुपर्छ, आफ्नो घर हुनुपर्छ, आफ्नो पहिचान हुनुपर्छ। बिद्रोहका आवाजहरु मेरो हृदयमा घंकिदैछ। अब मेरो पनि सहनसिलताको हद नागेको छ, अब म पनि अन्याय र शोषण सहने छैन। आफ्नै घरमा बन्दी भै आफ्नै पहिचानको खोजि गर्ने छैन।

म आज रामेसको घर छोडी जादैछु। म नारीहरुको आवाज बन्नेछु, म अन्याय विरूद्धभाईभाई लड्नेछु। यति लेख्दै उनको कलम रोकिन्छ। खुला कलमलाई त्यहीं कापी माथि यसै छोडी उनि घरको मूलढोका बाहिर निस्किन्छिन। उताबाट रामस ठूलो स्वरमा उसलाई कराउदै के के भनेर गाली गरिरहेको हुन्छ। उ सोच्छे, अघि भख्खर अन्याय र समानताको लागि फोनमा चिच्याउने उ, आफ्नो घर भित्र कसरि सामन्ती शोषक बनि चिच्याई रहेछ। अब म यी सब सहने छैन, रामेसका क्रोधका आवाजहरुलाई बेवास्ता गर्दै सानी निस्किन्छे । तातै भए पनि बाहिरको खुला हावा त्यो चार दिवार भित्रको हावा भन्दा धेरै मिठो लाग्छ उसलाई। थाहा छैन उनलाई यो कहाली लाग्दो अन्योलको यात्राले कता डोराउने हो उनलाई तर उ बिस्वस्त छे कि यो यात्राले चार दिवार भित्रको सामन्तबादबाट छुटकारा भने अबस्य दिनेछ, एक स्वतन्त्रताको यात्रामा जीवनको जिउनुको सन्तुष्टि मिल्नेछ।

Comments

राजेन्द्र पराजुली